भनिन्छ- अङ्क न स्त्री लिङ्ग हुन्छ न पुलिङ्ग हुन्छ,
यो सुनेर हरेक अङ्क बिचरो दिक्क हुन्छ
मन परे निराकार ईश्वरको पनि लिङ्ग भेद हुन्छ भन्ने !
यो देवी र त्यो देवता चिन्ने अनि अङ्कको लिङ्ग भेद नदेख्ने ?
समताको नाममा सबै अंकलाई समलिंगी भन्न हुन्छ ?
अङ्कहरूको लिङ्ग भेद हुन्छ कि हुन्न खोजे पो हुन्छ
सुन्ना मुन्ना उस्तै पुलिङ्ग हुन् योभन्दा कति प्रस्ट हुने?
प्रायः नामको पछाडि ‘आ’ ‘ए’ आए पुलिङ्ग नै हो किन नभन्ने?
सुन्नापछि एक पुलिङ्ग दुई स्त्री लिङ्ग हो चिन्ने
तीनमाथि अन्ठाउन्नसम्मका सबै पुलिङ्ग हुन्,
उनन्साठीमाथि सत्तरी–असीका सबै स्त्री लिङ्ग मान्ने
नत्र नामको पछि ई इ आउने स्त्री लिङ्ग किन भन्ने ?
काले पुलिंग र काली स्त्री लिङ्ग हुन्छ चैँ भन्ने
अन्ठाउन्न पुलिङ्ग र उनान्साठी स्त्री लिङ्ग चैँ नभन्ने?
साठो, सत्तरा, असे हुन्न भने एक्काईसी र अन्ठाउन्नी पनि हुन्न
कि एकाउन्नी, बाउन्नी, त्रिपन्नी, चउन्नी भन्दै गन्ने ?
नब्बेदेखि सयसम्मका अङ्कको नाम पछाडि ए हुन्छ
त्यसैले ती सबैलाई उभय या तेस्रो लिङ्गी भन्दा हुन्छ
अङ्कको नाममै यस्तो प्रस्ट लिङ्ग भेद हुँदा हुँदै पनि
अङ्कको लिङ्ग भेद हुँदैहुँदैन भन्न हुन्छ ?
अङ्कको लिङ्गभेद हुँदैन भन्दा अङ्कको लैङ्गिक अधिकार हनन् हुन्छ
सुन्नालाई सुन्नी र बयान्नब्बेलाई बयान्नब्बी भन्न थाले के हुन्छ ?
त्यस्तै दुईलाई दुए र एकलाई एक्ली भने कुन किन शुद्ध या अशुद्ध हुन्छ ?
यसरी हेर्दा अङ्कहरूको लैङ्गिक विविधता हेर्नुपर्छ र हुन्छ
गहिरिएर हेर्नुपर्छ हरेक अङ्कमा मनोविज्ञान पनि देखिन्छ
बालख यति बर्ष लाग्यो र बुढाबुढी यति बर्ष पुग्यो किन भनिन्छ?
कति बर्षसम्मकालाई लाग्यो भन्ने र कतिपछि पुग्यो भन्ने हुन्छ ?
हरेक अङ्कको आफ्नै लैङ्गिक पहिचानको साथै विशेषता पनि हुन्छ
नामको लिङ्ग भेद व्याख्या गर्नमै जीवन बिताउने पनि हुन्छन्
व्याकरणमा तिनका लागि “अपवाद” राख्नै पर्छ त्यसैले ती हुन्छन् !