१.
मरिसकेकेको सहरको आवाज
विधवा सडकको खाली सिउँदो
रोइरहेको रात
अपफाहले घायल
भएका चेतनाहरू
शङ्काहरूको
भीँड भरिएका उत्सुकताहरू
झ्यालबाट हामफाली
आत्महत्या गरिरहेका
अनुमानहरू
घरको कैदमा
अन्तिम स्वास लिइरहेको
जीवन आशा
कोठाबाहिर
चिहाइरहेको कौतूहलता
सडकमा नियालिरहेका
हजारौँ आँखा
परस्पर घरहरूको कुराकानी
एक्लोपनाको एक्लोपना
भीँडको पनि भीँड ।
२.
ऐनालाई हेरी आफूलाई छलिरहन्छौ कहिलेसम्म ?
चिनजान आफ्नै आफैँसँग गरिरहन्छौ कहिलेसम्म ?
बनी जुलुस उसको उसकै उठाई झण्डा पनि
अन्धकारमय यात्रामा हिँडिरहन्छौ कहिलेसम्म ?
यो विश्वास मेरो यी सपना जिन्दगीका
कोल्टे त फेरिरहन्छ, ब्यूँझिन्छ कहिलेसम्म ?
सत्य फाल हान्यो, डुब्यो झूटको समुद्रमा
सत्य मरेको कथा सुनाइरहन्छौ कहिलेसम्म ?
३.
उज्यालोको नियमबाट डराएको छु
म अँध्यारोको यति नजिक आएको छु
त्यो लक्ष्यको सपना, त्यो बाटोको निम्ति
हराएको छु यात्रामा, लक्ष्य पनि गुमाएको छु ।
लौ अचम्म पो भयो, जहाँबाट हिँड्थ्यौ
साँझपख त म पनि त्यहीँ आएको छु
हातमा लिई खुकुरी रगत लत्पतिएको शरीर
नजिकै उभिएका छौ, म त्यसै डराएको छु ।
४.
कसले यो दिन–रात बनायो ?
बहुरङ्गी मौसम मकहायो
रात परेपछि आकाशमा दियो चन्द्रमाको कसले जलायो
को हौ तिमी जो रूप बद्लिएर-
धर्म, संस्कृति अनि रीति बनायौ ?