आज मानव समुदाय नै जोखिममा छ । सारा ब्रह्माण्ड नै घुमेर आफ्नो स्वामित्व स्थापित गर्ने ध्याउन्नमा रहेको मानव आज घरमा थच्चिन वाध्य छ । कोरोना भाइरसले उसको सातो लिएको छ । समूल विनाश हुने डरले थरहरीमा छ । त्यही समुदायको मेरो अवस्था पनि किन पो फरक हुन्थ्यो र !
फुर्सद हुँदा नै हो मान्छेका मनमा अनेक कुरा आउने । तिनमा कतिपय राम्रा कुरा आउँछन् । नराम्रा विचार वा सोच पनि नआउने होइनन् । राम्रा सोचले सिर्जनाको उपहार दिन्छन् । अपराधको कालो खाडल (ब्ल्याकहोल वा कृष्णगर्त) मा जाक्ने भनेकै नराम्रा विचार वा सोचका परिणामले हो ।
काम नपाएका वेला समय कसरी कटाउने भन्ने प्रश्न उठ्ने गर्छ । त्यसका लागि नेपाली समाजमा उखानहरू छन्– ‘पोख्दै उठाउँदै’, र ‘बाछाबाछी वा पाडापाडीको जिउ कन्याउनु’ ।
म त्यही अवस्थामा छु अहिले । जाउँ कतै गइसक्नु छैन । बसेको छ । खाएको छ । सुतेको छ । धन्न सामाजिक सञ्जालले केही राहत दिएका छन् । समय कट्दै छ । यसरी कति पो काट्नु र समय ? कति पो कट्छ र ?
घरमै थुनिनुको अतिले खति हुने उहाँको सुझाव मान्नका लागि योग्य ठाने । त्यसो भए के गर्ने होला त ? सोच्न थालेँ । एउटा सञ्चारकर्मीका नाताले सबैभन्दा पहिला सञ्चार क्षेत्रमै ध्यान गयो । समाचारहरू हेर्न थालेँ । खोजेको पाइन्छ भने जस्तै भयो । त्यहीँ पाएँ– वैदेशिक रोजगारीमा गएकाहरूसँग सम्बन्धित समाचार । अनि तिनमा लेखिएको ‘कामदार’ शब्द ।
कोरोना भाइरसका कारण अहिले विश्वभरि नै बन्दाबन्दी छ । मान्छेले मान्छेको नजिक हुन नहुने अवस्था बनेको छ । भौतिक दूरी कायम गर्नु पर्ने वाध्यता छ । पसल खुलेका छैनन् । यातायातका साधन ठप्प छन् । उद्योग चल्ने कुरै भएन । कतिपय होटल अस्पतालमा परिणत भएका छन् । उपभोक्ता (ग्राहक वा पाहुना) को अभावमा धेरैमा त ताला झुण्डिएका छन् ।
वैदेशिक रोजगारी केही दसकदेखि नेपाल र नेपालीको एउटा मुख्य आयस्रोत हो । आम सञ्चार विषयका अध्यापक यमबहादुर दुराका अनुसार, विश्वका करिब १ सय २८ देशमा नेपालीको उपस्थिति छ । यसरी विदेशमा रहनेको सङ्ख्या ६० लाखको हाराहारीमा छ । बन्दाबन्दीभन्दा अगाडिको केही वर्ष दैनिक दुई हजार जति नेपाली विदेशिने गरेको तथ्याङ्क पाइन्छ ।
नेपालीले विदेश जानुका धेरै कारण छन् । त्यसमा रोजगारी चाहिँ पहिलो स्थानमा रहेको छ । नेपालबाट बाहिरिनेमध्ये अधिकांशको लक्ष्य रोजगारी नै रहँदै आएको छ । कोरोनाबाट त्रस्त विश्वका सबै मुलुकको अर्थतन्त्र यतिबेला ढप्प छ । त्यसका कारण पनि विदेशिएका धेरै नेपालीको रोजगारीमा केही न केही अङ्कुश लागेको छ ।
नेपालमा सञ्चालित सञ्चारमाध्यमका लागि नेपालीसँग सम्बन्धित समाचारले महत्व पाउनु स्वाभाविकै हो । रोजगारीका लागि विदेशिएका नेपाली, विदेशिने क्रममा तिनले पूरा गर्नुपर्ने प्रक्रिया, गन्तव्यमा पुगेर पनि भनेको जस्तो काम र दाम नपाएका, विभिन्न किसिमका दुःख खप्नुपरेका जस्ता विषय समाचार बन्छन् नै । बनिरहेका पनि छन् । यतिवेलाका केही समाचार शीर्षक यस्ता छन्–
- वैदेशिक रोजगारी र अर्थतन्त्रमा यसको प्रभाव
- बैदेशिक रोजगारको सम्भावना, चुनौती र…
- कोरोनाभाइरस प्रभाव : वैदेशिक रोजगारी अनुमति
- वैदेशिक रोजगारी : चीनको ठूलो निर्माण कम्पनी
- वैदेशिक रोजगारी : कसैमा रहर कसैमा बाध्यता
- वैदेशिक रोजगारीको प्रभाव र थप प्रभावकारी
- वैदेशिक रोजगारीका नाममा ’मानव बेचबिखन’
यी समाचारमध्ये अधिकांशमा वैदेशिक रोजगारीमा गएकाहरूका लागि प्रायः ‘कामदार’ शब्दको प्रयोग भएको छ । गर्दा गर्दा वैदेशिक रोजगार बोर्डको सचिवालयले पनि आफ्नो सूचनामा ‘कामदार’ शब्द प्रयोग गरेको पाइयो । अनि यस शब्दले मेरो मथिङ्गल रिङायो ।
के हो त कामदारको अर्थ ? यस प्रश्नको जवाफका लागि गुरुको खोजी गरेँ । त्यसका लागि मैले नेपालको सबैभन्दा आधिकारिक निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले छापेको ‘नेपाली बृहत् शब्दकोश’ को शरण–पर्ने निश्चय गरेँ । त्यसमा यस्तो पाइन्छ–
कामदार ना० [काम+दार]
१. काम गर्ने व्यक्ति, कर्मचारी।
२. पारिश्रमिक, ज्याला वा मजुरी लिएर काम सघाइदिने व्यक्ति, खेताला, कुल्ली, श्रमिक।
३. वि० पारिश्रमिक नलिईकन सघाउपघाउमा लाग्ने व्यक्ति, सहयोगी।
शब्दकोशको यो अर्थ अनुसार रोगजारी गर्ने व्यक्तिलाई कामदार भन्न नमिल्ने नै भन्ने चाहिँ देखिँदैन । यस्ता धेरै शब्द छन्, जसको अर्थ केही हदसम्म मिल्ने हुँदाहुँदै पनि त्यसको प्रयोगलाई भरसक टार्ने गरिन्छ । तहविहीन कर्मचारीको पदका नाम यसरी नै परिवर्तन गरिएका उदाहरण छन् । उदाहरणका रूपमा केही अघिसम्म प्रयोग हुँदै आएको ‘पियन’ शब्दलाई अप्रयोजनीय बनाएर ‘कार्यालय सहयोगी’ प्रचलनमा ल्याइएको छ ।
श्रम ऐन, २०७४ को दफा २ परिभाषा खण्डको (भ) मा भनिएको छ– “श्रमिक” भन्नाले पारिश्रमिक लिई रोजगारदाताको लागि शारीरिक वा बौद्घिक कार्य गर्ने कामदार वा कर्मचारी वा जुनसुकै पदनाम दिई काममा लगाइएको व्यक्ति सम्झनुपर्छ ।
यो ऐनको व्यवस्था अनुसार ‘कामदार’ नभई ‘श्रमिक’ भन्नुपर्ने देखिन्छ । त्यसै भएर नै यो ऐनमा यही एक ठाउँमा मात्र ‘कामदार’ शब्द प्रयोग भएको छ । जवकि ‘श्रमिक’ शब्दको प्रयोग ५०५ पल्ट भएको छ । श्रम नियमावली, २०७५ मा त ‘कामदार’ शब्दको उल्लेखै छैन ।
रोजगार, रोजगारी र श्रमिक यससँग मिल्दाजुल्दा शब्द हुन् । शब्दकोशमा विशेषणको रूपमा रहेको फारसी शब्द ‘रोजगार’ को अर्थ ‘रोजगारी गर्ने, व्यवसायी, इलमी’ भनिएको छ ।
रोजगारसँग व्युत्पन्न भएर बनेको ‘रोजगारी’ लाई नाम पद र त्यसको अर्थमा ‘जीविका वा इलमउद्योगका निम्ति गरिने कुनै काम, कामधन्दा, व्यवसाय, पेसा’ उल्लेख छ ।
‘श्रमिक’ संस्कृतको नाम शब्द हो । शब्दकोशमा यसको अर्थ ‘श्रम गर्ने व्यक्ति, मजदुर, ज्यामी’ छ ।
वैदेशिक रोजगारीसँग सबैभन्दा नजिकको प्रचलित कानुन भनेको ‘वैदेशिक रोजगार ऐन, २०६४’ हो । यसको प्रस्तावनामा पनि ‘वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्दै सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक … तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हक हितको संरक्षण गर्नको लागि …’ भनिएको छ ।
यसैको दफा २ को परिभाषा खण्डको (क) मा भनिएको छ– ‘वैदेशिक रोजगार’ भन्नाले कामदारले विदेशमा पाउने रोजगार सम्झनु पर्छ ।’ त्यसकै (ख) मा भनिएको छ– ‘कामदार’ भन्नाले वैदेशिक रोजगार पाउने नेपाली नागरिक सम्झनु पर्छ ।’
यस ऐनमा १५१ पल्ट ‘कामदार’ शब्द प्रयोग भएको छ । यसैका आधारमा बनेको ‘वैदेशिक रोजगार नियमावली, २०६४’ मा पनि ‘कामदार’ शब्दको प्रयोग १२४ ठाउँमा भएको छ ।
एउटै संसद्बाट बनेका दुई वटा ऐन र तिनका आधारमा बनेका नियमावलीमा ‘कामदार’ शब्दको प्रयोगका अलग अलग मापदण्ड पाइन्छन् । एउटाले यो शब्द भरसक प्रयोग गर्न नचाहेको देखिन्छ भने अर्कोमा योबाहेक अर्को शब्द नै छैन कि जस्तो गरेको पाइन्छ । (तालिका हेर्नुहोला)
यति धेरै प्रक्रिया पूरा गर्ने क्रममा निश्चय नै भाषा पनि हेरिन्छ होला । हेरिने गरेको छैन भने त्यसलाई अनिवार्य गरिनुपर्छ । अनि संविधानलगायत त्यससँग मिल्दाजुल्दा सबै ऐन नियमका व्यवस्था रुजु गरिनुपर्छ । सम्भवतः यसो गरिन्छ नै होला ? त्यसो हो भने यसरी शब्दमा एकरूपता कायम गर्न किन सकिएन ? यो प्रश्नको उत्तर खोज्नु अनिवार्य छ ।
कतिपय विषय वा वस्तु बुझाउने एकभन्दा बढी शब्द हुनसक्छन् । त्यस्ता शब्द प्रयोग गर्दा अवस्था, वाक्यको आशय, समाजमा त्यसको प्रयोग आदिमा ध्यान दिनुपर्ने हुन्छ । कुनै एउटा व्यक्ति सबै कुरामा पारङ्गत हुनसक्दैन । हुँदैन पनि । तर ऐन नियम व्यक्तिले नभई राज्यका संयन्त्रले बनाउने हो । ती संयन्त्रमा सम्बन्धित विषयका जानकारहरू रहने गरेका हुन्छन् । उनीहरूले आफूले नजानेका विषयमा त्यसका जानकारहरूबाट सहयोग लिएका हुन्छन् । यसरी सहयोग लिँदा भाषाका जानकारको पनि सहयोग लिइएकै हुुनुपर्छ । त्यति हुँदा हुँदै पनि भाषाको यस्तो खिचडी राज्यलाई सुहाउने कुरा हुँदै होइन । यसले न्याय प्रदान गर्ने कुरामा समेत गम्भीर अन्यौल वा असर पार्दछ । यसतर्फ अवका दिनमा पक्कै पनि गम्भीर ध्यान जाने आशा गरौँ ।