प्रकृति पुकार

कविता (छन्दः शार्दूल विक्रीडित)

रक्षा गर्छु म जीवजन्तु, जलको, दिन्छु नयाॅ जीवन
मेरा जङ्गल, खोच, भीर, पहरा, पाखा–पखेरा वन।
पानीमा मसिना मुना कमलमा आभा उमार्छु अब
खोला शुध्द–विशुध्द वायु वहँदा धर्ती हुने सुन्दर।१

 

मेरो गोठ समुद्रमा छ, रहमा माछाहरू खेल्दछन्
मेरो देश वतासमा छ, नभमा पन्छीहरू उड्दछन्।
मेरै छन् पशुका बथान वनमा चर्छन् नतर्सीकन
चेतेनन् कहिल्यै पनि मनुजले डण्डा नबर्षीकन।।२

पानीका मूलधार दू:षित गर्यौ, गर्दैछु आफैँ सफा
धर्ती धूमिल भो, म भर्दछु अझै मेरो कलाकारिता।
मेरो सुन्दर सृष्टिभित्र सुनको ए मृग खोज्ने नर
हल्लायौ चिचिला टुसा वन–बुटा मान्छे भयौ वानर !!३

 

मेरो निर्मल छातीमा रगतका टाटा नपारे अब
मेरो रम्य बसुन्धरा छ सुकिलो मैलो नफाले अब।
पन्छीका बचरा, पशु र घरका प्राणी नखाने गर
खाने छन् फल, कन्दमूल अथवा रोटो, पिठो, फापर।।४

Facebook Comments
bannerKaushik
Comments (0)
Add Comment