खूब चुसे मेरा पाकेका रसिला आँपहरू सबले
त्यही चुसिएको आँपको मेरो यो छाला बाँकी छ,
कस्तो मीठो मानेर खाए कलिला काँक्राहरू सबैले,
त्यही काँक्राको अब यो रित्तो झाल बाँकी छ !
अझै गहिरिएर हेर यी चाउरी मेरा,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !
फुलेकै हो कपाल, झरेकै हो दाँत
तर कसका लागि फुले र कसका निम्ति झरे ?
सोध्न अझै तिमीले यो सवाल बाँकी छ,
गहिरिएर हेर यो कुप्रो शरीर,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !
मैले मेरो फूर्ती त सुर्ती थुके झैँ थुकिसकेँ,
बेहोसी पार गरी होशमा आइसकेँ
आँसु त जिन्दगीमा कति बगे बगे,
आँसु पुछ्न अझै मेरै रुमाल बाँकी छ,
गहिरिएर हेर यो दुर्बल शरीरलाई ,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !
अझै कसैका छोरा, छोरी, नाति र नातिना छौ तिमी
हजुरबुबा र हजुरआमा बन्नै बाँकी छ ।
“कस्तो देखिन्छ हँ संसार बूढो भएपछि ?”
सोध्न अझै तिमीले मलाई यो सवाल बाँकी छ ।
गहिरिएर हेर मेरा धमिला आँखा,
मैले देखाउन तिमीलाई धेरै संसार बाँकी छ !
म त घरबारमा नअँटाएर संसारभरि छरिएको मान्छे,
तिमीले त समेट्न अझै तिम्रै घरबार बाँकी छ ।
यो हाल छ मेरो, त्यो चाल छ तिम्रो,
हालचालपछि आउने कति बेहाल बाँकी छ ।
हेर्दै जाऊ गहिरिएर मलाई,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ ।
तिमी मेरो कपाल देख्छौ, म तिम्रो गिदी देख्छु,
तिमी तरुना–तरुनी देख्छौ , म स्त्री–पुरुष देख्छु,
थिए बोसो र मासुका थुप्रा मेरा पनि,
तर अझै पनि यो कङ्काल बाँकी छ ।
हेर्दै जाऊ गहिरिएर मलाई,
यो कङ्कालले पनि देखाउन धेरै कमाल बाँकी छ ।
जिन्दगीको लामो लाइनमा अघि पुगें म त,
तिमी अझै लाइनमा बस्नै बाँकी छ,
“कति बेर लाग्ला बा मेरो पालो आउन ?”
तिमीले सोध्न अझै यो सवाल बाँकी छ,
हेर्दै जाऊ गहिरिएर मलाई,
मैले देखाउन धेरै कमाल बाँकी छ ।
रित्तिएको जीउमा भरिएको बुद्धि,
मधुरो आखाँमा गहिरिएको दृष्टि
कौवाले चाख्न अझै यो बेल बाँकी छ,
मेरा त सकिए सबै सवाल–जवाफहरू
तिम्रो त अझै धेरै सवाल बाँकी छ ।
हेर्दै जाऊ गहिरिएर यो वृद्धलाई
यसले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !
Facebook Comments