हामी किन यति धेरै कमजोर भयौँ ?

जब राष्ट्र कमजोर हुन्छ, त्यसले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ । तर एउटा समस्या भने सबैभन्दा डरलाग्दो हुन्छ– त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव । यो सन् १९१२ मा पेकिङ्ग विश्वविद्यालयका एक जना प्राध्यापककले भनेको भनाइ हो । त्यसबेलाको चीन अहिलेको नेपाल जस्तै थियो, झन्डै झन्डै । अनेक खालका विदेशी एजेन्टहरू चीनमा अनेक किसिमका खेलहरू खेलिरहेका थिए । जापानले चीनको सान्डोङ्ग प्रान्त आफ्नो हातमा पारेको थियो । क्रिस्चियन मिसनरीहरू गरिब चिनियाँलाई पैसा दिएर धर्म परिवर्तन गराइरहेका थिए । प्रथम विश्वयुद्ध सकिएको थियो र पेरिसमा शान्ति सम्मेलन हुँदा चिनियाँ प्रतिनिधीहरूले अपमानजनक सन्धिमा हस्ताक्षर गरे । जसले चीनमा आन्दोलनको आँधीहुरी निर्माण गर्यो । त्यसले चीनमा देशवादको चेतना निर्माण ग¥यो ।

अमेरिकाले चीनलाई सहयोगको आश्वासन दियो, तर गरेन । उसको आफ्नै स्वार्थ थियो । त्यसबेला एकजना प्राध्यापकले भनेका थिए, सङ्कटबाट राष्ट्रलाई बाहिर निकाल्न परम्परावादी सोचले सक्तैन, नयाँ विचारको आवश्यकता पर्छ । तर त्यस बेला चीनमा नयाँ विचार थिएन । देश युद्ध सरदारहरूको अराजकतकामा थियो । र, अधिकांश बुद्धिजीबी पनि अवसरवादी थिए, अहिलेको नेपालमा जस्तै । नेपालको अवस्था अहिले त्यसबेलाको चीनको अवस्था जस्तै छ ।

  • मानव सभ्यताको इतिहासको बिश्लेषणले के देखाउँछ भने कृषि क्रान्तिको चरणमा प्रवेश गरेको मानिसले आफ्ना ठूल्ठूला समुहलाई एकीकृत राख्न ‘अनेक कल्पित अवधारणा’ निर्माण गर्दै गयो र त्यसै क्रममा राज्य र राजाको अवधारणाको पनि निर्माण ग¥यो । लाखौं लाख मानिस आवद्ध गर्न साम्राज्यको अवधारणा करिब चार हजार वर्ष पहिला ग¥यो । साम्राज्यलाई धन र शक्तिको आवश्यकता हुन्थ्यो । तब युद्धको प्रचलन आयो । अनि धर्मलाई साम्राज्यको औचित्यता पुष्टि गर्ने साधनको रूपमा विकास गरियो । साम्राज्य र सम्राट नै धर्मका संरक्षक बने । रोमन क्याथोलिक चर्चले पोर्चुगलका राजा अल्फान्सोलाई रोमनास पोन्टिन्फ्याक्स जारी गर्दै भने ‘असभ्यहरूलाई समाप्त पार र उनीहरुको धन लूट’ । तब १६ औं शताब्दीबाट आयो संसारमा उपनिवेशवादको लुट, आमहत्या, र अत्याचार । साम्राज्यवादले उपनिवेशवादद्वारा भ्रष्ट पुँजीवादलाई जन्म दियो । पुँजीवादले उपभोक्तावादलाई जन्म दियो । इतिहासविद् हरारी भन्छन्, मानव सभ्यतामा पछिल्लो दश हजार वर्ष आफैँमा एउटा ‘सफेद ठगी’ थियो ।
  • सन् १९४५ मा अमेरिकाको न्यू मेक्सिकोको मरुभूमिमा जब एटम बम परीक्षणका लागि पहिलो डिटोनेट (विस्फोट) गरियो, त्यसका वैज्ञानिक ओपेनहाइमरले भागवत गीताको श्लोक सम्झे र उच्चारण गरे – ‘म मृत्यु हुँ । अब म संसार ध्वस्त गर्छु’ । यही बम जापानमा खसाल्ने कुरा भयो । वैज्ञानिकहरूले त्यसो नगर्न अनुरोध गरे । वासिङ्गटनका रणनीतिकारहरूले भने ‘हामी लाखौं अमेरिकी सेनाको बली चढाउन सक्तैनौं । तब हिरोसिमा र नागाशाकीमा एटम बम फुट्यो । लाखौं निर्दोष मानिसको ज्यान लियो, त्यसले । आज २१ औं शताब्दीमा पनि ‘इम्पेरियल मिसन’ जिउँदै छ । यसलाई पनि धन र गौरव चाहिएकै छ ।
  • औद्योगिक क्रान्तिले मेसिनको प्रयोगबाट वस्तुहरू उत्पादन गर्न शुरु ग¥यो । यसका लागि धन चाहिन्थ्यो तब ब्रिटेन, फ्रान्स लगायतका साम्राज्यवादीहरू धन लुट्ने अभिष्ट बोकेर एसिया, अफ्रिका लगायतका देशमा पसे । असीमित धन लुटे । उता उनीहरुका गाउँबाट मानिस शहर पसे । उद्योगका मालिकले उनीहरूका आफनै गरिब मानिसको पनि चरम शोषण गरे । कामदार पुगेनन् त्यसैले दास ब्यापार शुरु गरे । लाखौं मानिसको हत्या गरे । अफ्रिकालाई दास उत्पादन गर्ने भूमिमा परिणत गरे । नेपाल जस्तो सानो देशलाई ब्रिटिश साम्राज्यवादको रक्षा गर्ने सिपाही उत्पादन गर्ने देशमा परिणत गरे । हाम्रो इतिहास र गौरव नष्ट गरिदिए । हामी अरुमाथि अत्याचार गर्ने साम्राज्यवादको रक्षा गर्ने खेताला बन्यौं । गोर्खा रेजिमेन्टको नाममा ‘लाहुरे’ संस्कृति निर्माण गरिदिए । नेपालमा कृषि उत्पादन गर्ने युवा ब्रिटिसका भाडाका सेना बनाइए । नेपालमा उपनिवेशको भौतिक अस्तित्व थिएन तर नेपालको जनसंख्या उपनिवेशमा यसरी परिणत भयो । तर यो कलङ्क समाप्त गर्ने शासक नेपालले अहिलेसम्म पाएन ।
  • नेपालका शासकलाई कहिल्यै पनि के हेक्का भएन भने, नेपालको कृषि आधुनिकीकरण नगरी देशमा समृद्धि निर्माण गर्न सकिन्न । त्यति मात्र होइन नेपालको कृषि समाप्त पार्न, नेपाली युवालाई डाइभर्सिटी भिसा, वैदेशिक रोजगार र स्थायी बसोबास भिसा दिएर विदेश लगिन्छ । इराकमा आक्रमणपछि अरब पश्चिमको पूर्ण अधीनमा आयो । युरोप र अमेरिकालाई सस्तो जनशक्ति चाहियो, त्यसैले वैदेशिक रोजगारको विष निर्माण गरियो । त्यसकै लागि नेपालमा नवउदारवाद लागू गरी देशमै रोजगारी दिने सबै उद्योग लिलाम गर्ने षड्यन्त्र विदेशीले गराइदिए । दुईचार वर्षमै सबै उद्योग समाप्त पारिदिए । अहिले देश ज्ञान र जनशक्तिको खडेरीको सामना गर्न बाध्य छ । राजनीतिक नेतृत्व आज पनि अन्धकारमा छ । गाउँ रित्ता छन् । जमिन बाँझा छन । माफियाहरू गाउँका भित्रसम्म पनि डोजर लगाएर प्लटिङ्ग गर्दै छन् । कृषि मन्त्री किसानका हातमा पैसा पुग्ने नीति निर्माण गर्दै हुनुहुन्छ तर पार्टी दोहेर खानेहरु नक्कली संस्था बनाएर राज्यले दिएको अनुदान पच गरिरहेका छन् । अहिले कोरोनाको कहर छ, तब पो थाहा भयो—  हामी त क्षमताको शुन्यमा रहेछौँ । हाम्रा विश्वविद्यालयहरूको भूमिका देखियो । १०/१२ वटा मेडिकल कलेजमा के अनुसन्धान भैरहेको छ ? मेडिकल शिक्षा पनि शुन्य रहेछ । हाम्रा ठूला ब्यापारी त मानिसको जीवनमा पो ब्यापार गर्दा रहेछन् ।
  • कृषिको आधुनिकीकरण नभै औद्योगिक क्रान्ति हुँदैन भनेर सामान्य मानिसको माया गर्ने विज्ञहरू भन्छन् । तर हाम्रो त विकासको जग कृषि नै ध्वस्त भएछ । हामीसँग एनआरएन छन् । हामीसँग एनजिओ छन् । हामीसँग पार्टी छन् । तर हामीसँग अनुशासन रहेनछ । हामीसँग कुन्ठित मनोवृत्तिका विज्ञहरू रहेछन्, हामीसँग भ्रष्टाचार गर्ने अनेक उपाय रहेछन्, हामीसँग नैतिकता रहेनछ । त्यसैले हामीसँग गरिवी रमाउँदो रहेछ ।
  • सन् १९१२ मा चिनियाँ एक प्राध्यापकले भनेका थिए, ‘चीनको निर्माण गर्न एक बलियो दिमाग र बलियो दिमाग भएका बुद्धिजीवीको आवश्यकता छ । हामी इम्परियल मिसन र समृद्धि दुई धारमा छौँ । हामीले विदेशीको हस्तक्षेप र लम्पट प्रवृत्ति समाप्त गर्नुपर्छ । माहात्मा गान्धीले देशमा उत्पादन र उद्यम बढाउन चर्खा आन्दोलन गरे । भारत पनि धनी भयो, उसले कोरोना जाँच गर्ने आफ्नो मेसिन आफैं बनायो । हामीसँग न विज्ञान छ न उन्नत संस्कृति । हामीसँग त केबल गफ, ढाँट्नेकला, बेइमानी र देशलाई सराप्तै विदेशिने मति मात्रै रहेछ । हामी विदेशीले लादेका रणनीतिक जोखिम बोक्न बाध्य छौं । हाम्रा शासकहरूमा साम्राज्यवादीका चाल बुझ्ने पारख छैन । हाम्रो देश भक्ति ओइलाएको छ । हामी भ्रमबाट ग्रसित छौँ । हामी आधा मृत्यु जस्तो तन्द्रामा छौँ । अब जागौँ र केही गरौँ । अझै पनि केही गर्न सकिन्छ ।
Facebook Comments
Yubaraj
Comments (0)
Add Comment