अधिल्लैदिन भोलिका लागि लाउने कपडा र डुल्ने कार्यसूचि बनाइसकेको हुन्थें । मलाई घरमा बस्ने फुर्सत नै थिएन । भनिन्छ नि छोरी बढेको तथ्य उचाई हेरेर होईन, खाटमा सुतेको वेलाको लम्वाई हेरेर महसुस गर्छन् अरे कतिपय बाउहरुले । म त्यति सारो त व्यस्त हुने होईन थिएँ । तर झन्नै झन्नै मेरो हालत त्यस्तै थियो ।
शनिबार पनि छुट्टि लिन पाईँदैन थियो । कहिले पेशागत काम त कहिले सामाजिक काम । कहिले कहिले त घर वाहिर नै ।
छरछिमेकीसंग पनि राम्रो हिमचिम छैन । हिमचिम त परको कुरो भो, छिमेकी र टोलबस्तिका मानिसहरुसंग चिनजान पनि राम्रो छैन । फेरि त्यो आप्mनो दोषको कारण पनि त होइन । छिमेकीको त झन् होइन । त्यो दोष त मेरो दैनिकीको नै हो, मेरो जीवनचर्याको हो । म त मेरो जीवनचर्या र कार्यसूचिको दास भइसकेको रहेछु । नागरिक स्वतन्त्रताको माग र उपभोग गर्दा गर्दा म कतिबेलादेखि कार्यसूचि र जीवनचर्याको गुलामीमा रमाउन थालिसकेछु, थाहै भएन ।
मेरो मात्र पनि के भन्नु ! छरछिमेकी, टोलबासीहरुको पनि त मेरो जस्तै हालत छ नि । जो कोही पनि दौडिरहेको छ । अनवरत दौडका थकित खेलाडी ! पैदल हिँड्दा होस् वा गाडिमा, वा अन्य वाहन र साधनमा किन नहोस्, टप स्पीडमा हुन्छ । स्पीडमा सानो अवरोध भयो भने झर्कन्छ, झोक्किन्छ, सराप्छ । मानौं उसको आकास नै खस्ने भो वा पृथ्वीनै डुव्ने भयो ।
त्यो दोष त शहरीकरणको हो । उपभोक्तावादको हो । जहाँ मानिस सुखको अनुभव गर्नकोलागि दुःख गरिरहेको हुन्छ । दौडमा कसैलाई पछाडि पार्ने होडमा अरु कसैको पछिपछि लत्रिरहेको हुन्छ । चिन्तामुक्त कसरी जिउने भनेर चिन्ता गरिरहेको हुन्छ । घरपरिवारसंग गुणात्मक समय कसरी व्यतित गर्ने भनेर अरुलाई सिकाउने क्रममा घरमा आउनै भ्याउँदैन । सामाजिक कार्यमा यति व्यस्त हुन्छ कि छरछिमेकी, टोलवासीहरुसंग परिचय गर्ने समय पाउँदैन । मानिस एउटा टोलबस्तिमा जीवन जिएर बाँच्न सक्तिन भन्छ, अनि सफलताका लागि थरिथरिका पेशागत संस्थाहरुमा आवद्ध हुन्छ । कहीँ व्यवसायी, कहीँ कलाकार । बुद्धिजीवी, सल्लाहकार अनि टिप्पणीकार, आलोचक । अन्यत्र कतै समाजसेवी, नीतिकार र राजनीतिकर्मी । जति बढी पगरी उति बढी सफल । शहरी मानिसलाई एउटा दुईटा मात्र पगरीले त दौडमा नाम लेखाउन योग्यतासम्म पनि पुग्दैन ।
शहरी मानिस यस्तै यस्तै विडम्वनाहरु बिच बाँचिरहेको हुन्छ । अनि यसैगरि विकसित ठाउँका मानिसहरु आफुलाई सफल, सभ्य, सुसंस्कृत र आधुनिक ठानिरहेको हुन्छन् । आफुलाई फ्रन्टलाईनमा राखीराख्न अनेक पगरी गुथ्नै पर्छ ।
म पनि त सानो भएपनि शहरकै मानिस हुँ । मसंग पनि केही पगरीहरु छन् ।
कोरोना विषाणुले मलाई एकाएक जिल्याएको छ । सोचेकै थिएन, मलाई यति फुर्सत् होला भनेर । मेरोपनि दौड भ्याई नभ्याई थियो, जारी थियो । मेरा जीवनचर्या पनि, विडम्वनायुक्त नै भए पनि, छँदैथिए । मलाई तिनले नै साथ दिएका थिए, म तिनकै पछिपछि दौडिरहेको थिएँ ! जतिसुकै अडबाङ्गे भएपनि, ओखरपाङ्ग्रे भएपनि, मलाई ती नै प्यारा थिए, म तिनीहरुसँगै निर्वाह गरिरहेको थिएँ । मैले पनि केही पगरीहरु गुथेको थिएँ, आधुनिक शहरीया भई टोपल्ने गरेको थिएँ ।
आज तीनहप्ता नाध्न थाल्यो, चोवीसै घण्टा घरबस्न पाएको छु । कोरोनाले यो मौका मलाई प्रदान गरेको छ । खै मेरा पगरीहरु ? कहाँ छन् तिनीहरु ? पहिले त मलाई हुटहुटी लगाई रहन्थे । भ्याई नभ्याई दौडन बाध्य गर्थे । आज मलाई प्रश्न गर्न मन लाग्यो पगरीलाई मैले गुथेको थिएँ वा पगरीहरु ममा गुथिएका थिए । ती सबै झर्यामझुरुम भएको छ ।
आफुलाई सृष्टिको सर्वोत्कृष्ट सिर्जना भनी सोच्ने मानव । र, अन्य सबै सिर्जनाहरु मानव सेवाका लागि हुन् भन्ने ठान्ने मानवको घमण्डलाई अदृष्य विषाणुको एक झोँकाले चकनाचुर पारिदिएको छ । सोच्न बाध्य हुन्छु यही नै हो त मानवले चाहेको ? आधुनिक समाजको उपलव्धिले मानवको सहनशक्ति घटाएको पो हो कि । मानवलाई झन् जोखिम स्थितिमा पुर्याएको पो हो कि ।
लाग्छ, अब पहिलेको दिनचर्या यथारुपमा दोहोरिन्न । बन्दाबन्दी खुल्ला अनि पुरानै ढर्रामा जिउँला भन्ने कामना सिर्पm कामना नै रहन्छ होला । त्यसै पनि वितेका दिन फर्किन्नन्, कोरोनाले मच्चाएको तहल्का पछि त त्यो झन् आकासको तारा रहन्छ ।
के हुन्छ, भनिहाल्ने अवस्था आज छैन । भोलि जे होला, भोलिका दिनहरुमै हेरौंला । जे होस्, आज म भने फेरिएको छु । केही कुरामा नयाँपन थपेर बसेको छु । यौटा उल्लेख्य नयाँ त के भने, पुरा समय घरमै बिताउँछु । हिजोअस्ति विहान खान खाएपछि दिउँसो कतै जानु छैन भने पनि, थाहै नपाई लुगा फेरेर चिटिक्क हुने म, आज चौवीसै घण्टा घरमा छु । हिजोका दिनहरुमा, दुई तीन दिन लगातार विदा पर्दा वा एकदिन बन्द हुँदा उकुसमुकुस हुने म । आज झन्नै तीन हप्तादेखि घरको एउटा कोठामा बसेको छु ।
सम्झेर ल्याउँदा, अचम्म लाग्छ । यसरी पनि दिन बित्दो रहेछ त ! आकास खस्तो रहेनछ त ! पहाड ढल्दो रहेनछ त ! ओहो, त्यतिवेला त लाग्थ्यो यसरी थुनिएर बस्नु पर्यो भने त बर्बादै हुन्छ । तर, होइन रहेछ ।
मानिस जलवायु र परिस्थिति अनुकुल आफुलाई ढाल्न सक्छ, त्यसैले लामो समयसम्म पृथ्वीमा छ । मैले पनि निरन्तर आफुलाई समय, परिस्थिति, र वातावरण अनुसार परिवर्तन गर्दै आएको छु । यस्तो परिवर्तन भने अलि पहिले देखिनै गर्न थालेको हुँ । र, जीवनचर्याका धेरै पक्षहरुमा यस्ता परिवर्तन गर्दै आएको छु, गरिरहेको छु ।
यो बन्दाबन्दीमा पनि परिवर्तनको यो क्रम जारी छ । अहिले यौटा उदाहरण दिन्छु, म कसरी परिस्थिति अनुकुल हुँदै गै रहेको छु भनेर ।
पहिले म समाचार पढ्थेँ, सुन्थेँ, बुझ्थें; पछि गएर समाचार बन्ने भएँ । अहिले कोरोना बन्दाबन्दी पछि भने समाचार उत्पादन तर्पm लागेको छु । यही कुरा यहाँ वयान गर्छु ।
सानो छँदा जिज्ञासु थिएँ विभिन्न माध्यमबाट समाचार वा नयाँकुरा जान्ने, सुन्ने रहर थियो । रेडियो सुन्थेँ, पत्रपत्रिका पढ्थेँ, पुस्तक पढ्थेँ; पुस्तकालय धाउँथेँ, पत्रपत्रिका पसलको चक्कर लाउँथेँ, अनि ठुठुला मान्छेहरुका नजिकै बसेर उनीहरुका कुरा सुन्थेँ । भेला र भाषण पनि छाड्दिनथेँ । यिनै त थिए जानकारी पाउने माध्यमहरु ! म सबै माध्यमहरु उपयोग गर्थेँ ।
अनि साथीभाइलाई सुनाउथेँ । जानेपछि पोख्नु पनि त प¥यो !
गर्दैभन्दै जाँदा साथीभाइका दायरा पनि बढ्न थाल्यो, संख्या पनि बढ्न थाल्यो । म पनि जमातमा लोकप्रिय मध्ये नै पर्न थालेँ । आकांक्षाहरु पनि बढ्न थाले । विद्यार्थीको चुनावमा जितेँ, राज गरेँ । समुदायको चुनाव पनि जितेँ, राजकाज गरेँ । अब म समाचार पढ्ने र जान्ने अनि सुनाउने रहिन । म परिवर्तित भएँ । म आपैंm समाचार बन्न थालेँ । मैले गरेका काम समाचार बन्न थाले, मैले गरेका कुरा समाचार बन्न थाले । अनि म जानेका कुरा सुनाउने मात्र नभई अर्तिदिने हैसियतको भएँ । म विदेश गएँ, म जङ्गल गएँ, मेची महाकाली यात्रा गरेँ, आन्दोलन गरेँ, सभा सम्मेलन आयोजन गरेँ, भाषण गरेँ । हरेक चोटी समाचार बनेँ । समाचार सुन्नु र जान्नु भन्दा, समाचार बन्नुको मजा नै वेग्लै । महत्वाकांक्षा पनि बढ्दै गए । नेतृत्वको चाह हुनथाल्यो, हैकम जमाउने चाह कुतकुतिन थाल्यो ।
तर समाचार बन्ने हैसियत भएपछि, जीवन चर्को हुँदो रहेछ । नजानेको कुरा पनि छ भन्न नसकिने, जानेको जतिमात्रले पनि काम नचल्ने । पहिले त सबै कुरा सोच्न नसकिने । सोचेको कुरा बोल्न नसकिने । बोलेको कुरा आफैंले निर्वाह गर्न नसकिने । अनि आफैंले निर्वाह गर्न नसक्ने अर्ति किन गरेको भनेर बेला बेला खप्की खानुपर्ने । होइन, मैले भन्न खोजेको त्यसो होइन यसो हो कतिचोटि भन्नु ! यो पनि भन्दाभन्दा थाकिसक्न लागियो । सानोतिनो उध्रेको त तैपनि रफ्फु गरिँदै थियो । भ्वाङ भ्वाङै देखिन थालिसक्यो । यताहे¥यो खाली, उताहे¥यो गाली !! हरे मेरो नियति, समाचारी हैसियत टिकाउनै गाह्रो महसुस गरेको अवस्था !
कथालाई छोट्याउँ । अप्ठेरोबाट नै अवसर आउँछ । पढेको थिएँ । माथि बयान गरिएका अप्ठेराहरुको समाधान पनि आयो, कोरोना लकडाउन को रुपमा ! म फेरि परिवर्तन भएँ ।
अब म जानकारी पाउनका लागि सुटुक्क गुगल विश्वविद्यालय जान्छु । खवर थाहा पाउनका लागि सोसल मिडिया भ्रमण गर्छु । अनि दस विस पछौटेहरुको जमात कायम राखेको छु – पछौटे जमातका लागि पनि धेरै दुःख पर्दैन, आफुले पनि पछ्याइदिए पुग्छ ! म व्यस्त छु, दौडधुप धेरै नपर्ने । सोच, बोली र व्यवहारमा सामन्जस्यता कायम गर्न पनि नपर्ने ।
कोरोना प्रकोप फैलन थाल्यो, मैले सरकारको आलोचना गरेँ, यत्रो महामारीको संघारमा सरकार निरो भएर वसेको छ, जनताप्रतिको उत्तरदायित्व यै हो त, भनेर प्रश्न गरेँ । लक डाउन सरकारले गर्यो मैले तुरुन्त प्रतिकृया गरेँ – अर्को केही आउँदैन, जनतालाई दुख दिने बाहेक ? भनेँ । पछि गुगल विश्वविद्यालयवाट थाहा भो यही नै सबभन्दा कारगर उपाय रहेछ । अनि म पनि परिर्वन हुँदै भनेँ, खै पूर्व तयारी, जनतालाई सास्ती पर्दा सरकार के हेरेर बसेको भनेँ । अस्ति भर्खर लौ न वर्वाद भैसक्यो, टेस्टिङको दायरा बढाउनु पर्यो, नत्र कोरोना अनियन्त्रित हुने भो, भनेँ । स्वास्थ परीक्षण सामग्री चाँडोभन्दा चाँडो आयात गर्ने पहल गर्यो सरकारले, मैले नै भ्रष्टाचारको आशंका रह्यो भनेर भनेँ । साँच्चिकै छानवीनले भ्रष्टाचार देखाएपछि, आपैंmले विषय उठान गरेकोमा स्यावासी लिएँ । अहिले आरडिटिको गुणस्तरको प्रश्न उठाउँदै छु । राम्रो देखिए अर्को विषय खोजौंला, गुणस्तरहीन देखिए सरकारको नालायकी लेखौंला । चिट पनि मेरै पट पनि मेरै ।
म आजकल ट्वीटे भएको छु । र, मलाई यो मौका कोरोनाले दिएको छ । कोरोनालाई जित्न म कोरोनाले नै दिएको अवसर प्रयोग गर्दैछु । यसरी मेरो मङ्ंगल भयो । सबैको मङ्गल होस !