आजबाट डायरी लेख्दिन भन्ने लागेको थियो तर मनले मानेन अनि लेखें । लेख्ने बानी पनि होइन । यसलाई काम नभएपछिको काम भन्दा हुन्छ ।
नीति शास्त्रले पनि भन्छ –
‘स्वभाव अन्यथा गर्न सकिन्न उपदेशले
जल फेरि चिसै हुन्छ पकाए पनि अग्नीले ।’
अनायसै मैले पनि नलेख्न सकिन । किनभने यो स्वभावकै कारणले होला । एक त एकान्त बास दोस्रो मनभरीको त्रास । यस्तो बेलामा के गर्ने ? कोरोनाले कहीं कतै बाँकी राखेन । उपत्यका पेप्सीकोलामा रहेको सनसिटीबाट लगिएकाहरुमा कोरोना पुष्टि भएपछि नेपालको राजधानीमा त्रासमा वृद्धि भएको छ ।
सनसिटीको कोरोना भाइरसले अहिलेसम्मको कोरोना अध्यायन अपूर्ण थियो भनेर प्रमाणित गर्न सक्ने सम्भावना छ । जसलाई अहिले पोजेटिभ देखिएको छ उनीहरु एक महिना अगावै विदेशबाट फर्किएका हुन । १४ दिनमै थाहा हुन्छ भन्ने कुरा मान्ने हो भने १०÷१२ दिन अघिसम्म सनसिटीमा विदेशीहरु आउ जाउ गरेका थिए भन्नु पर्ने हुन्छ । होइन भने कोरोनाले लामो समय पछि पनि आफ्नो प्रभाव देखाउँछ भनेर विश्व स्वास्थ्य संगठनले प्रमाणित गर्नु पर्ने हुन्छ ।
अहिले मानिसका मनमा विभिन्न खाले तर्कना खेल्न थालेको छ । धेरै व्यक्ति कोरोना भाइरस विशेषज्ञ बनिरहेको बेला म पनि त्यही भीडको तथाकथित विशेषज्ञ बन्न पुगेछु । मान्छेलाई समय परिस्थितिले सबै विषयको ज्ञाता बनाउँछ कि क्या हो ! म त पत्तै पाउन छाडें ।
कोरोना भाइरसले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्दै जाने, विज्ञहरु बढ्दै जाने र लकडाउनको समय पनि थपिदै जाने हो भने मान्छे चाहिँ के खाएर बाँच्छ ? अबको जटिल प्रश्न यही होइन र ! एकातिर कोरोनाले डरलाग्दो फणा उठाएको छ अर्कातिर भान्सा कोठाले भोलिदेखि चुल्हो नबल्ने सन्देश दिई सकेको छ । कस्तो अस्वभाविक र अत्यास लाग्दो अवस्था !
‘डायरी लेखेर चुल्हो बल्दैन है’ भनेर श्रीमतीजीले हिजै आवाज बुलन्द गरी सक्नुभएको छ । हिजै गुन्द्रुक टकटक्याएर छाक टारेको देखेको थिएँ, आज विहानदेखि गुलियो नहालेको चिया खान सुरु भएको छ । समुहले अहिलेसम्मकै विद्रोहको सबैभन्दा ठूलो स्वरुप अब भन्सा कोठाबाट ब्यहोर्ने छ । जब भोको पेट हुन्छ तब के कोरोना के लकडाउन ! यसो भनी रहँदा महाभारतको श्लोकको याद आउँछ –
‘गिद्धैकै सरी दृष्टिमा हुन गए, होसमा कुकुरकै सरी,
सिंहकै सरी निर्भय हुन गए आपत परेका घरी ।’
भारत अथवा महाभारत जेमा लेखिए पनि आखिरमा ‘मायाले संसार थेग्दैन है’ भन्ने भनाइनै उपयुक्त हो ।
मित्र तपार्इंंलाई के गरौं कसो गरौं भई रहेको छैन र ! हो मलाई पनि यस्तै भएको छ र नै यो गनथन लेखेर बसेको । अहिले भर्खरै झापा सुरुङ्गाका मेरा मित्र त्रिलोचन मैनालीलाई फोन गरेको थिएँ । उहाँले लेख्ने नै हो भने ‘हैकमवादी, साम्राज्यवादी, विश्व नै आफ्नो मुठ्ठीमा भएको घमण्ड गर्नेहरुको बारेमा लेख्नु’ भन्नु भयो । उहाँको आसय कोरोना भाइरसले पूँजीवादी राष्ट्रहरु युरोप अमेरीकाको धोती खुस्काई दिएको तर्फ थियो । वास्तवमा सम्पत्ति र घमण्ड बाहेक अमेरीका, बेलायत, जर्मनी लगायतका मुलुकमा केही पनि थिएन भन्ने प्रमाणित भएको छ ।
सायद अब शक्तिपिठहरु फेरिने छन् । कतिपय राष्ट्रको ब्यवस्था परिवर्तनको जग बस्ने छ । र, थुप्रै मुलुकका नेताहरु तिरस्कृत हुने छन् । तर, नेपालीले भने यो महामारीको अन्त्य भएकै भोलिपल्ट यी सबै कुरा बिर्सने छन् । हामी बिर्सने माम्लामा सारै छिटो छौं । अथवा हतारमा बिर्सन्छौं । अहिले पनि नेपाली जनता गोरु होइन बोकाबाटै दाँईं हुन्छ भन्ने सोचमा बाँचेका छन् ।
विश्वको अर्थतन्त्र नराम्रोसंग थलिएको छ । विश्व अर्थतन्त्रको बजारमा छिरेका ‘डन’ हरु सोत्र्याम हुदैछन् । तर फेरि पनि भन्नै पर्छ खुच्चिङ गरेर बस्ने बेला छैन । सोच्नु पर्छ नेपाल जस्ता राष्ट्रको हालत के होला । मानव समुदायका लागि दुःखका दिन आउँदै छन् । प्रत्येक देशका सरकारले जनताको तत्कालीन समस्या समाधान गर्न सकेन भने भिडले ब्यवस्था परिवर्तन गर्ने दिन आउँछ ।
अहिले नै भोलिका लागि सोचेर काम गर्नु पर्छ । अन्यथा समयले पर्खने छैन ।
आsss भयो है ! दिमागलाई बोझिलो बनाउनु पनि बेकार हो । यस्तो बेला अधिकांश पाठकलाई हल्काफुल्का मनोरञ्जनका सामग्री रुचीकर लाग्दो रहेछ भन्ने पनि बुझ्न पाइयो । त्यसैले भरसक परिसंवाद डटकमले साहित्य, भावनात्मक लेख, फुटानी र संपादकीयहरु लेखेर आफ्ना पाठकलाई उपलब्ध गराएको हो ।
हामी सबैलाई थाहा भयो कि कोरोना भाइरस जो सदृष्य छैन, त्यसैले सबैको चुरिफुरि समाप्त पारी दिएको छ । यो विश्वको मानव समुदाय एउटै हो, समान छ र धनी–गरिबको भेद पनि छैन । बराबर हो भन्ने बनाई दियो । हेर्नुहोस् त हिजोसम्म फुलेल भएर परक्क बटारिने ट्रमको गति । हुत्ति भने एउटा भाइरससंग जुध्न सक्ने पनि रै’नछ । थाहा भयो नि ! यसैले आफ्नो सुरक्षा आफैं गरौं । सबै सुरक्षित बनौं ।