साह्रै दिव्य भविष्य प्रज्ज्वलित होस्, यस्तै गरौँ कामना!

नयाँ वर्ष विशेष कविता (छन्दः शार्दूल विक्रीडित)

आयो वर्ष नयाँ सुस्वागत गरौँ, थोत्रो बिदा भै गयो ।

सम्झी पीर नमान्नु सज्जनहरू, त्यो वर्ष त्यस्तै भयो ।।

के के छन् सपना, घरै बसिबसी के बुन्नु भो योजना ?

यात्रा के तय गर्नु भो— छत कि ता कौशी कि ता आँगन ?! १

 

ढुङ्गामा पनि चोट लाग्छ तर त्यो दुख्ने त मान्छे न हो ।

ढल्छन् रूख पनि उठी गतिसँगै हिँड्ने त मान्छे न हो ।।

पन्छाई जति बिघ्न छन् शिखरमा चढ्ने त मान्छे न हो

बस्ती, ठाउँ र गाउँ, यी सहरको सिल्पी त मान्छे न हो ।।२

 

कालो रात ढली प्रभात हँसिलो पूर्वै खुल्यो सुन्दर ।

आलोकित बनोस पश्चिम जगत् फर्केर पूर्वैतिर ।।

त्यस्तो विश्व जहाँ स्वतन्त्र मनले बाँचून् धराका जीव ।

लालीयुक्त मुहार–कान्ति हँसिलो, मुस्कान होस् सञ्चित ।।३

 

कष्टैका बीचमा त यो पृथिवीमा फक्र्यो मनु सभ्यता ।

कालो बादलभित्र छर्छ रविले आलोकको भव्यता ।।

जस्तै आपतको पनि दृढ भई आऊ गरौँ सामना ।

बाँच्ने आश जगाउने दिन बनून् यस्तै गरौँ कामना ।।४

 

जेजस्ता दुःख, पीर ती विगतका विर्सेर हाँसौँ न त ।

लेकै दिव्य सुगन्ध फुल्दछ बुकी, गुराँस लाऔँ न त ।

हाँसेका हिम–श्रृङ्खला लहरले छर्छन् मिठो भावना ।

व्याधी, रोग जितेर हर्ष थपियोस्, यस्तै गरौँ कामना ।।५

 

पुर्खाको बलिदान, प्राण–प्रिय हाम्रो सार्वभौमिकता ।

लामो त्याग, लडाइँको फल मीठो— प्यारो छ स्वतन्त्रता ।।

नेपाली खुस हुन्, पूरा हुन सकोस् यो राष्ट्रको चाहना ।

साह्रै दिव्य भविष्य प्रज्ज्वलित होस्, यस्तै गरौँ कामना ।।६

 

 

Facebook Comments
Luitel
Comments (0)
Add Comment