थुप्रै दिन भएछ डायरी लेख्न थालेको । कोरोना भाइरसका कारण लकडाउनको साङ्लोमा बाँधिए पछि डायरी सुरु भएको रहेछ । आज २०७७ सालको पहिलो दिन । अर्थात् नववर्षको पहिलो दिन । यही दिन डायरी बन्द गर्छु भन्ने थियो । तर, यो मनले तपाईंलाई सम्झियो । यतिका दिन डायरीका माध्यमबाट सँगसंगै भयौं भने तपाईलाई नववर्षको शुभकामना पनि नदिई कसरी छुट्टिने । त्यसैकारणले मित्र मनमा पीडा बोकेरै भए पनि तपाईलाई मेरो र यो परिसंवाद संचार गृहको तर्फबाट नववर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ।
कोरोना भाइरसका कारण विश्व नै त्रसित र त्राहिमाम भएको बेला आएको नयाँ वर्षले सुरुमै कोरोना भाइरसको कहरबाट विश्व मानव समुदायलाई मुक्त गरोस् भन्ने कामना गरौं । मनमा भारी अविश्वास, हलचल, इष्र्या, डाहा, कुण्ठा र शरीर भरी कष्ट बोकेर पनि मान्छे – भोलि यी सबै खाले समस्या समाधान हुने मिठो लोभले बाँचेको हुन्छ । अर्थात् जिजीबिषा (बाँच्ने इच्छा, बाँचिरहने चाहना) ले मान्छेलाई लतार्दै र समयसँगै घिसार्दै साथै भोलितिर फर्किन लोभको कोर्राले हान्दै हिडाउँदै हुन्छ । त्यसै कारणले मित्र तपाईलाई नववर्षको शुभकामना भनेको हुँ ।
मानव सभ्यताको पद्धतिलाई क्रम भंग गर्ने हिम्मत मान्छेमा हुदैन । यदि कुनै दिन मान्छेले त्यो मानव सभ्यताको विकास पद्धतिलाई नष्ट गर्न खोज्यो भने मानव समुदाय पनि लोप हुन्छ । समयको गतिसंगै धेरै कुराहरु हुन्छन् । तर, मान्छे आफ्नो समाप्ती चाहदैन । किन कि जीवन पद्धतिलाई निरन्तरता दिने नै उही हो ।
लौ म त तपाईलाई नव वर्षको शुभकामना दिनका लागि डायरी लेख्न बसेको, कहाँको अर्कै गनथन पो गर्न थाले छु । आउनु होस्, विराटनगर टंक खतिवडालाई फोन गरेर जोगवनी नाकामा मानिसको आवत जावत छ कि छैन सोधौं ।
‘हल्लो टंक जी बोल्नु भ’को !’
‘हो बोल्दै छु ।’
‘के छ जोगवनी तिरको खवर ?’
आवत जावत बन्द छ । विराटनगर महानगरपालिकाका जनताले लकडाउनको पूर्ण पालना गरेका छन् । तर, आधिकारिक होइन र अपुष्ट समाचारका अनुसार राति राति केही व्यक्ति आएको भन्ने हल्ला छ । यसका साथै केही दिन अघिदेखि सरकारले सुरक्षा दह्रो र विश्वासिलो बनाएको छ ।
‘टंक जी ! कोरोना भाइरसबाट जोगिनु पर्छ भन्ने जनता के कारणले त्रसित छन् ?’
यहाँका जनता दिल्ली, भारतको एउटा धार्मिक सभामा जो ब्यक्ति भागलिएर फर्किएका थिए अथवा भारतबाट यहाँको सभामा भाग लिन आएका थिए उनीहरुबाट त्रसित छन् । वीरगञ्जमा तीनजना संक्रमित भेटिएपछि खुला सिमानाको कारण स्वभाविक रुपले सम्पूर्ण तराई त्रसित छ ।
वास्तवमा टंक खतिवडाको भनाईले नै तराईको अवस्था उजागर गर्छ । वीरगञ्जमा भेटिएका तीन जना मुस्लिम धर्म गुरु हुन र उहाँहरु भारतीय नागरिक भएको बताइएको छ । संसर्गबाट सर्ने यो भाइरसले धर्म, सम्प्रदाय, धनी, गरिब, ठूलो–सानो कोही छुट्याउदैन । त्यसकारण जोगिनका लागि सरकारले गरेको निर्देशनको पालना गर्न बाहेक अरु उपाय छैन ।
काठमाडौं शान्त र सुनसान छ । जब आफैं माथि बज्र प्रहार हुदैन तबसम्म काठमाडौं व्यूँझिदैन । काठमाडौंले उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा केही वर्षदेखिमात्र बुझ्दै छ । सुदुर पश्चिम अथवा तराईलाई समाउने भाइरसले काठमाडौंलाई पनि समाउन सक्छ भन्ने चेत काठमाडौंलाई भर्खर खुल्दै छ ।
मित्रहरु अझै एक दुई हप्ता हामी क्वारेन्टिनमा बस्नै पर्छ । त्यसपछि भने विश्वले नै सोचेर निर्णय गर्ने छ कति दिन बस्ने अथवा कसरी बाँच्ने भनेर । हामी जे कुरामा पनि भारतमै निर्भर रहेछौं । रोग, व्याधी, औषधी, उपचार, खाद्यान्न, तरकारी, भुटुन, मरमसला, फलफुल, पेट्रोलियम पदार्थ र अन्य सामानका लागि भारत बाहेक अन्य विकल्प छैन । खुला सिमानाका कारण अहिले हामी डराई रहेका छौं । कतिपय स्थानमा आवत जावत रोकेर रोकिने अवस्थामै नहुन सक्छ । जबसम्म आवत जावत पूर्ण रुपमा रोकिदैन तबसम्म हामी सुरक्षित भएको ठान्न सक्दैनौ ।
आज नयाँ वर्षको पहिलो दिन । बसेर वर्ष दिनको योजना बनाउन पनि पाइएन । कहिले कोरोनाको त्रासदी समाप्त हुन्छ अनि योजना बनाउला । हुन त राष्ट्रको योजनाले त कुनै लछरपाटो लगाएन हाम्रो योजनाले के नै गथ्र्यो र । तथापि मान्छेका आ–आफ्नै सोच र योजना हुन्छन् । योजना अनुसार काम हुनु नहुनु अर्कै कुरा हो ।
सायद भोलिदेखि कोरोना डायरी नलेखिन सक्छ । तपार्इंलाई सम्भावनाको कुरा मात्र खुसुक्क भनेको । हाम्रो सम्पर्क त कुनै न कुनै माध्यमद्वारा भइनै हाल्छ । यो गनथन भने अब रोकौं कि भनेको । तपाईलाई पनि यो गनथन, विलौना, त्रासदी र कुण्ठित भावना सुन्दा सुन्दा दिक्क लाग्यो होला । लौ त आजलाई यो डायरीको यही विट मार्छु । नमस्कार !