के यही हो उखरमाउलो !

कोरोना डायरी– ११ 

आज पनि उस्तै छ । हिजोको जस्तै । अब भन्नुहोला, हिजो चाहिँ के त्यस्तो विशेष थियो र ! हो उस्तै छ भनेकै हिजो पनि केही थिएन र आज पनि केही छैन भनकै हो । हेर्नुहोस् कस्तो रित्तो छ परिवेश । कस्तो खोक्रो ! छानो नभएको घंर जस्तो उधाङ्गो । तपार्इंलाई कतै चिमोट्दैन यो मुर्दा शान्तिले ! मेरो मन एकरति थीर छैन ।

उखरमाउलो भएको छ । साँची ‘उखरमाउलो’ भनेको के हो । उहिले गाउँ घरतिर यो शब्द सुनेको थियो । अर्थ चाहिँ के हो कुन्नि ! सायद उच्छृङखलता वा हृदयको छटपटी यस्तै केही होला । हुन त अहिले त्यो शब्दको अर्थ थाहा भए पनि के काम । शब्दकोषमा त्यस शब्दको अर्थ ‘अति उत्तम दिन, मनोरञ्जनपूर्ण समय, खुशीको क्षण’ भनेर अथ्र्याएको रहेछ भने मेरो हातल के होला ! हाम्रा त शब्दकोशहरु पनि दैनिक राशिफल जस्ता छन् ।

भयो ! यो खालका कुरा नगरौं । यो लकडाउनले लेख्न पढ्न जाँगर चलाउनेहरुलाई निकै राम्रो सहयोग पु¥यायो होला । आफूलाई त फुर्सदको समय कागलाई बेल भयो । नढाँटी भनौं अस्तिको दिन त म पनि केही लेख्नु प¥यो भनेर कलम लिएर बसी सकेको थिएँ । हातमा कलम समाए पछि यसो सम्झें हैट कहाँ तिते करेलाको लहरामा अँगुर फल्छ ! वाइयात् कुरो । मैले लेख लेख्नु भनेको तिते करेलाको लहरामा अंगुर फल्नु जस्तै हो । त्यो दिन हुत्याएको कलम उ… पर लडी रहेको छ ।

यो कोरोना पनि पौराणिक कथाका पर्शुरामको बञ्चरो नै भयो । बाउ—बाजे भन्थे बञ्चरो हातमा लिएर पर्शुराम मान्छे मार्दै विश्व घुमेका थिए अरे । यो कोरोना भन्ने पनि त्यही बञ्चरो हो कि क्या हो । सायद पर्शुरामले आफ्नो काम समाप्त भए पछि त्यो पापी बञ्चराको सद्गत राम्रोसँग गरेनन् क्यारे ।

मेरा मित्र दमन बस्नेतले हिजो फोन गरेर भन्दै हुनुहुन्थ्यो— समय जस्तोसुकै निष्ठूरी भए पनि मानिसले भोग्नै पर्दोरहेछ । हो त दमनजीको कुरा ठिक हो । अहिले विश्वकै लागि समय प्रतिकूल बन्न पुगेको छ । अस्ति पनि मैले भनेको थिएँ— शायद अब कोरोना भाइरसलाई मानिसले पराजित गरी सकेपछि विश्वका शक्तिपिठहरु पनि परिवर्तन हुनेछन् । दमन बस्नेतको कुरा पनि यस्तै थियो । उहाँले पूर्वीय दर्शन र धर्मलाई बुझ्न नसक्दा पनि यस्ता महामारी आई लागेका हुन भनेर ब्याख्या गर्नुभयो ।

हुन चाहिँ खानपान र रहन सहनमा हाम्रा पूर्वजहरुले अपनाएको पद्धति नै ठीक रहेछ भन्न थालिएको छ । अहिले त हामी नालायकहरुको वस्ती निर्माण गरेर त्यहींको बासिन्दा बनेर रमाइरहेको छौं ।

तपाईं आफैं भन्नुहोस् चन्द्रमामा मान्छे पठाउने विज्ञान, विश्व नै ध्वस्त बनाउन सक्ने बंम बनाउने विज्ञान, विश्वको जुनसुकै कुनामा के छ र के हुँदैछ भनेर थाहा पाउने यन्त्र बनाउने विज्ञानलाई कोरोनाको भाइरसले कस्तरी लोप्पा खुवायो । साँच्चै महत्वहिन बनाइदियो । हिजोसम्म विश्व ब्रह्माण्ड आफ्नो कब्जामा भएको ठान्ने विज्ञान अहिले कोरोना भाइरसको थप्पड खाएर झोक्राएको छ ।

ल हेर ! एउटा कुरो गर्छु भनेको अर्कै प्रसंग पो निकालेछु । यस्तो बेला हल्काफुल्का कुरा गर्ने, मनोरञ्जनात्मक वातावरण बनाएर त्यसमै रमाउने, लेख्ने, पढ्ने  करेसाबारीतिर काम गर्ने भनेर एकजना मनरोग सम्बन्धीको डाक्टर रेडियोमा फलाक्तै थिए । मलाई भने डाक्टर साप नै मनोरोगी जस्तो लाग्यो । अहिलेसम्म ती डाक्टरले नेपालीलाई सिकाउँनै पर्दैन, जन्मदै जानेर आएको हुन्छ भन्ने बुझेकै रहेन छ ।

गनथन छोडौं । आउनु होस् छतमा जाऊँ । ओल्लोघर, पल्लोघरमा कोही छतमा रहेछन् भने चर्को आवाज निकालेर गफ गर्न पाइन्छ । तर, सोध्ने कुरो केही पनि हुदैन । के छ ? भन्यो भने पल्लो छतबाट ‘उस्तै छ’ भन्ने जवाफ आउँछ । कस्तो ‘उस्तै’ भन्यो भने ‘हिजोकै जस्तो’ भन्छन् । हुन पनि हो । हिजो अस्ती जस्तो थियो अवस्था उस्तै छ । गते–वारहरु परिवर्तन हुदैछन् । सायद पर्सिदेखि वर्ष पनि परिवर्तन हुदैछ– २०७७ । तर, मेरो वरिपरिको परिवेश १७ दिनदेखि उस्तै छ ।

सञ्चो, विसञ्चो सोध्यो भने पनि ‘कोरोना लाग्यो भन्ठानिस् कि क्या हो’ भन्लान भन्ने डर, ‘खाना खानु भयो’ भनौ भने पनि ‘के मेरो घरमा चामलको गेडो छैन जस्तो लाग्यो कि क्या हो’ भनेर सोच्लान् भन्ने पीर । बडो ननिको छ हजुर अहिलेको काल परिस्थिति ।

आज यो छतबाट हेर्दा मौसम अलि धाम्मधुम्म भएको छ । पानी नपरेको पनि थुप्रै भयो । खेती किसानी गर्नेलाई पानीको आवश्यकता हुँदो हो । हामी काठमाडौंकालाई खल्तीमा पैसा र बोरामा चामल फलुनजेल खेती न किसानी । जब खल्ती टकनटाक हुन्छ र बोराको चामलले पत्याउन छोड्छ तब काठमाडौं असान्दर्भिक लाग्छ । पेटमा अन्नको दाना खोज्दै काँचो वायु घुम्न थाले पछि काठमाडौं आएकाहरुले झलझली आफ्नो गाउँ सम्झिन्छन् ।

कति गनथन गर्नु ! यसो नेट खोलेर एकछिन बसौं जस्तो लाग्यो । तपार्इंसँग भोलि भेट्ने बाचा र नव वर्ष २०७७ को हार्दिक कामना गर्दै विदा मागे है । नमस्कार  !

चैत्र २९ शनिवार
Facebook Comments
Comments (0)
Add Comment