मान्छे बाँच्न परास्त गर्नु जरुरी कोभिड नाइन्टिन

कविता (छन्दः शार्दूल विक्रीडित)

आयो यो विकराल कोभिड हरे उन्नाइसौँ सालको ।

‘कोरोना’ तिन अक्षरी प्रलय हो, औतार हो कालको ।।

मान्छे सङ्कटमा छ, बन्द घरमा खप्दो छ लक्डाउन ।

बाँकी जीव स्वच्छन्द, मानव भने त्रस्तै छ रातोदिन ।।१

 

जोडे झैँ ‘रन’ मृत्यु–अङ्क छिनमै जोडिन्छ मानिसको ।

विद्या, अस्त्र र शस्त्र, औषधमूलो, बेकार, निष्कामको ।।

पृथ्वी मात्र नभै खगोलभरिको दादा थियो मानव ।

ढोकाबाट चुनौति दिन्छ अहिले अदृश्य यो दानव ।।२

 

कोही जानु हुँदैन बाहिर, गए होइन्छ ‘पोजेटिभ’ ।

बस्दा बेस अरे लुकेर घरमा बन्नुछ ‘नेगेटिभ’ !!

पानी–साबुनले मिची धुनु कर— सल्लाह दिन्छन् विद ।

मान्छेदेखि परै रहेर नबसे सल्किन्छ रे कोभिड ।।३

 

सौन्दर्यै अनुहारका क्रिमहरू पर्दैन दल्नै अब !

लाए पुग्छ टमक्क नाक-मुखमा यौटा मुखौटो जब !!

गोजीमा नगदी र अन्न घरमा साँच्नेहरू बाँच्दछन् ।

केही आय र अन्नपात नहुने के खाई धान्दा हुनन् ।।४

 

थुप्रो लाउन कोही उद्यत यहाँ खाद्यान्न औ ग्याँसको ।

छाड्यो बल्न चुल्हो गरिबहरूको, निभ्ला दियो आशको !!

नाफाखोर, दलाल, भ्रष्ट  जति छन् कालाबजारीहरू ।

यस्तोमा पनि लुट्दछन् नरपशु, ती दुष्ट आत्माहरू !! ५

 

सेवा मानवको गरे विपतमा सक्छौ त खोली दिल ।

सक्दैनौ नलुटेर बस्न किन हो हे सभ्यताका खिल ?

मर्दा साथ हुँदैन दौलत कुनै, जानुछ रित्तो जब ।

कात्रोमा कहीँ हुन्न पाकिट बुझे, बानी सुधारे अब ।।६

 

यस्तोमा पनि राजनीति किन हो दम्भीहरू गर्दछन्?

शक्तिशाली तिनै मुलुकहरूमा मर्ने झनै धेर छन् ।।

मिल्नैपर्दछ पूर्व–पश्चिम अनि बायाँ तथा दक्षिण ।

मान्छे बाँच्न परास्त गर्नु जरुरी कोभिड नाइन्टिन ।।७

Facebook Comments
Luitel
Comments (0)
Add Comment