प्रिय लकडाउन, दुनियाँले के भन्लान भन्ने मलाई अब कुनै फिक्री छैन । ठाडै कुरा शुरु गर्छु । खुसी लाग्यो, केही हप्तालाई नै सही, मेरो जीवनमा तिमी फेरि आयौ । त्यो अदृश्य शक्ति कोरोना भाइरसलाई मुरीमुरी धन्यवाद !
यो तिमीप्रतिको आशक्ति मात्र हो कि प्रगाढ प्रेम हो मलाई थाहा छैन । म तिमीप्रति आसाध्यै लहसिएको छु । तिम्रो लीला पनि अपरम्पार छ । अहिले जलमा, थलमा, नभमा सबैतिर तिमी नै तिमी छ्यौ । तिम्रो आगमनले अहिले समुन्द्रमा जहाज चल्दैनन्, आकाशमा विमान उड्दैनन्, धर्तीमा गाडी गुड्दैनन्, घुमन्ते प्राणी भनेर चिनिएको मानिस घरभित्रै थन्किएको छ । म पनि तिमीसंगै रमाउन थालेको छु । तिम्रो यो पछिल्लो अबतारले मलाई मायाजालमा फसाएको छ । बाध्यतावस् या अनायास् जे भएपनि म तिमीसंगका यी सहबासलाई अलौकिक आनन्द भन्न मन पराउँन थालेको छु ।
तिमी र म यसरी नभेटकै भए जाति हुन्थ्यो होला तर भेट भैगयो । तिम्रा लागि मेरो ढोका सधैं खुल्ला छ । तिमीसंगको यो पछिल्लो भेटघाटदेखि त हिजोका सबकुरा थोत्रा भइसकेका छन् । जीवन जगतको परिभाषा नै बदलिएको छ, बानी व्यवहार बदलिएका छन्, चलन र संस्कारहरु उल्टिएका छन् ।
हिजोआज एक्लाएक्लै रहनु सामुहिक शक्ति प्रदर्शन हो । एकान्तमा बस्नु एक्यवद्धता हो । कसैलाई नभेट्नु नै गाढा मित्रता हो । तिरस्कृत भएर बुढेसकालमा बिताउन बाध्य पारिने एक्लो जीवन नै अहिले जीवन जीउनुको सौभाग्य हो । अरुको पीडामा परै बसेर टुलुटुलु हेर्नु ढाडस र आत्मबल थप्ने उपकारी कार्य हुन । अनि कसैलाई आपत पर्दैछ भन्ने थाहा पाएर पनि परैबाट तर्केर हिड्नु मानवता । यसका लागि कोभिड भनिने कोरोना भाइरसको उत्पातलाई कोटीकोटी सलाम !
पहिला मलाई तिम्रो नाम नै अलच्छिना लाग्थ्यो । सुन्दै घोर उकुसमुकुस हुने खालको, आतंकको पर्यायवाची जस्तो । यातना, कालकोठरी, अत्याचार, पीडाहरु तिम्रै उपनाम होलान भनेजस्तो लाग्थ्यो ।
प्रिय लकडाउन, विगतमा पनि तिमी कहिलेकाहीं आउँथ्यौ – रौद्र, विभत्स र अदभूत रुप लिएर । म सकेजति तिमीलाई घृणा गर्दथेँ, मानौं तिमीसंग मेरो भयानक दुस्मनी थियो । पहिला लाग्थ्यो, समाजलाई पीडा दिन चाहिने पर्याप्त दुर्गुणहरु तिमीमा भरपूर छन् । अस्ति अचानक तिमी फेरि आउने कुरा थाहा पाएँ । यो खबरले मलाई भिजेको कागज जस्तो पत्याकपुतुक गलाएको थियो । शरीर खङ्ग्रङ र मन चिसो भयो । मुटु नराम्ररी निचो¥यो । जीवन अविश्वासनीय गतिमा बग्न थाले जस्तो लाग्यो ।
पहिला मलाई तिम्रो नाम नै अलच्छिना लाग्थ्यो । सुन्दै घोर उकुसमुकुस हुने खालको, आतंकको पर्यायवाची जस्तो । यातना, कालकोठरी, अत्याचार, पीडाहरु तिम्रै उपनाम होलान भनेजस्तो लाग्थ्यो ।
यसपटक आउँदा पनि तिमी के चाहान्थौ मलाई थाहा थिएन । तिम्रो आगमनले मलाई रिसले साच्चै चुर बनाएको थियो । म पूर्ण खराव मुद्रामा थिएँ । तर धेरै लामो कुर्नु परेन, तिमी किन आएकी रहिछ्यौ । तिमी कति दयालु र ममतामयी रहिछ्यौ । मैले केही दिनमै राम्ररी बुझेँ– आवश्यकता लहडी मान्छेको इच्छामा होइन वस्तु र परिस्थितिहरुमा हुँदो रहेछ । सङ्गतले तिमीलाई चिन्दै गएपछि तिम्रो पनि आफ्नै खाले बडो गज्जबको उपयोगिता रहेछ भन्ने थाहा पाएँ ।
अहिले तिम्रो परिभाषा पनि बदलिएको छ । विरोधीलाई सिद्याउन प्रयोग गरिने क्रूर उन्मादी हुङ्कार तिमी ‘लकडाउन’ अहिले आत्मीयजनलाई जोगाउने सञ्जीवनीबुटी भइरहेकी छ्यौ । आज तिमी धर्तीमा प्रसन्नता लिएर आएकी छ्यौ । यातना र सकसलाई कर्तव्यमा परिणत गरिदिन सक्ने विचित्रको क्षमता तिमीमा रहेछ । अहिले तिमीलाई अवलम्बन गर्नु मेरो कर्तव्य बनेको छ । विगतमा मैले मानिआएका कुरा आभाष मात्र रहेछन् ।
म थाहा पाउँदै छु– शक्ति पाखुरामा होइन, हृदयमा हुँदो रहेछ । इच्छा हृदयको शक्ति रहेछ । अब मेरो बसमा केही छैन, सबै कुरा हृदयले कब्जा गरिसकेको छ । बाच्ने इच्छा र आकाक्षांले मलाई चलाइरहेछन् । त्यसैले म यस्ता चालढाल देखाउन बाध्य छु जसले लकडाउनसंग साच्चै प्रेम बसेको देखाओस् । यस्तो माया देखाओस्, जुन आजसम्म मैले कसैलाई गरेकै थिँइन । तपाई जे भन्नुहोस्– म त लकडाउनलाई औधी माया गर्न थालेको छु है ।
तिमी आएको एकदुई दिन त म अरट्ठ परेर तिमीभन्दा केही परै बसिरहेँ । बुझ्दै गएँ– बाँच्न सहयोग गर्ने कुनै अथाह स्रोत छ भने त्यो प्रेम नै हो । त्यसैले अनन्त मायाकासाथ म तिमीलाई हिजोआज आलिङ्गन गर्न मनपराउँछु । किनभने मलाई धेरै बाँच्न मन छ ।
***
म थाहा पाउँदै छु– शक्ति पाखुरामा होइन, हृदयमा हुँदो रहेछ । इच्छा हृदयको शक्ति रहेछ । अब मेरो वशमा केही छैन, सबै कुरा हृदयले कब्जा गरिसकेको छ । बाँच्ने इच्छा र आकाक्षांले मलाई चलाइरहेछन् । त्यसैले म यस्ता चालढाल देखाउन बाध्य छु जसले लकडाउनसंग साच्चै प्रेम बसेको देखाओस् । यस्तो माया देखाओस्, जुन आजसम्म मैले कसैलाई गरेकै थिँइन । तपाई जे भन्नुहोस्– म त लकडाउनलाई औधी माया गर्न थालेको छु ।
***
मानिसले भन्थे प्रेममा कुनै शर्त हुँदैन तर आज म आशा गरेर तिमीसंग प्रेम गर्दैछु लकडाउन, दिलले मानिरहेको छैन तर पनि । किनभने इच्छा टुटेपछि नै त बुद्धि पलाउँदो रहेछ ।
अब तिम्रो स्थान केही समयलाई मेरो हृदयमा छ । तिम्रो आगमनले मेरा जीवनका रुपरेखा नै सरल बनेका छन् । जसले जे भन्छ लुरुक्क मान्ने, जे भेटियो त्यही खाने, चुपचाप घरमा बस्ने । आफ्नै घर मलाई अज्ञात स्थल झै लागिरहेको छ । मेरा यी मलिन अनुहार र हाउभाउहरु मृत्यूसंग डराएका चिनो हुन । तिम्रो आगमनले तरकारी लगायत खानेकुरा मेरा भान्छाकोठामा छैनन् तर पनि मलाई त्यसको पर्वाह रहेन किनभने तिमी मसंगै छ्यौ । तिम्रो मौनता नै मलाई स्वादिलो लाग्न थालेको छ । सबैतिर चकमन्न बनाएकी छौं । शास्त्रको परिभाषा र शस्त्रको उन्मादमा पनि नपाइने यो अढाइ अक्षरको शव्द ‘प्रेम’को अलौकिक तागत आज तिमीले मलाई दिलाएकी छ्यौ ।
विकास भनेको आधुनिक उत्तेजना होइन रहेछ । आफ्नै कर्मबाट प्राप्त अनिश्चय र असुरक्षा नै आज हामी मानिसको दिनचर्या भएको छ । धरोधर्म ! तिमीसंग बाचा भो लकडाउन, आफैं भागिरहेको भविश्यलाई अब म लघार्नेवाला छैन । त्यसैले अबका दिनमा म भविश्यको निर्माण गर्ने होइन चरित्रको निर्माण गर्नपट्टि लाग्नेछु । मृत्यूलाई छलेर जीवन निर्वाह गर्नपट्टि नलागी मृत्यूको सामना गर्न सिक्नेछु । त्यसैले त म तिमीसंग प्रेम गर्छु ।
प्रिय लकडाउन, साथीहरुले तिम्रो विरुद्धमा मलाई डरलाग्दा उपदेशहरु दिइरहेका छन् । तिमीसंग प्यार त के संगत समेत नगर्नु भनेर । तर मलाई ती अर्ति–उपदेश सुन्न पनि मन लाग्दैन । मेरो यो चाला दुनियाँका लागि उटपट्याङ लाग्न सक्छ, पागलपन हुनसक्छ । तिम्रो र मेरो लसपस देखेर अरुले मजाक पनि उडाउन सक्छन् । दुनियाँ भाँडमा जाओस् । आऊ, तिमी र म अझै केही दिन बेस्मारी रमाऊँ । मन मिलुञ्जेल प्यार गरौं । प्रणय आनन्दमा आफैंलाई हराऔं । आदत न हो, कहिलेकाहीं त तिमीलाई छकाएर पहिलेकै दुनियाँमा बाहिर कतै फुत्त निस्किन पाए अर्कै रमाइलो हुन्थ्यो होला जस्तो पनि लाग्छ । तर यो मेरा लागि अहिले धान्नै नसक्ने विलासिता हो र यसो गर्न अहिले मान्छेलाई बर्जित पनि छ । त्यसैले तिमी ढुक्क होऊ– यहाँ बसिञ्जेल म तिमीलाई एक्लै छाड्ने छैन ।
थाहै थिएन, विगतका केही दिनमै तिमीसंग मेरो गहिरो पिरती गाँसिएछ । मित्रताको जग बलियो भएछ । तिमी एकडेढ हप्तालाई आएकी थियौ । हिजोअस्ति तिम्रो जाने दिन नजिकिँदै गर्दा कता कता मलाई नरमाइलो लाग्न थालेको थियो । धन्य हौ, अझै केही हप्ता मसंगै बस्ने निधो गरिछ्यौ ।
शायद अझैपनि तिमीसंग धेरै लामो हिमचिम गर्न मेरो भाग्यमा छैन । मैले सुनेको छु– तिम्रो बानी अलि वेसारे छ अरे । कुनवेला मलाई छोडेर तिमी फुत्त हिड्छ्यौ, थाहा छैन । त्यसैले अहिल्यै भनिराख्छु– गइहाले पनि माया नमार्नू ! मलाई विश्वास छ पिरतीले कुनै न कुनै बाटो निकाल्छ, पछिपछि पनि भेट्दै गर्नुपर्छ ल ।
प्रिय लकडाउन, साथीहरुले तिम्रो विरुद्धमा मलाई डरलाग्दा उपदेशहरु दिइरहेका छन् । तिमीसंग प्यार त के संगत समेत नगर्नु भनेर । तर मलाई ती अर्ति–उपदेश सुन्न पनि मन लाग्दैन । मेरो यो चाला दुनियाँका लागि उटपट्याङ लाग्न सक्छ, पागलपन हुनसक्छ । तिम्रो र मेरो लसपस देखेर अरुले मजाक पनि उडाउन सक्छन् । दुनियाँ भाँडमा जाओस् । आऊ, तिमी र म अझै केही दिन बेस्मारी रमाऊँ । मन मिलुञ्जेल प्यार गरौं । प्रणय आनन्दमा आफैंलाई हराऔं। आदत न हो, कहिलेकाहीं त तिमीलाई छकाएर पहिलेकै दुनियाँमा बाहिर कतै फुत्त निस्किन पाए अर्कै रमाइलो हुन्थ्यो होला जस्तो पनि लाग्छ । तर यो मेरा लागि अहिले धान्नै नसक्ने विलासिता हो र यसो गर्न हिजोआज मान्छेलाई बर्जित पनि छ । त्यसैले तिमी ढुक्क होऊ– यहाँ बसिञ्जेल म तिमीलाई एक्लै छाड्ने छैन ।
***
भावनात्मक आनन्दबाटै प्रेमको शुरुवात हुँदो रहेछ । तपाईलाई खुसुक्क भनौ लकडाउन र मेरो प्यारको एउटै रहस्य हो हामी दुवै एकअर्कालाई जसरी हुन्छ हैरान बनाउन असाध्य खप्पिस छौं । अहिले उनले जितेकी छिन, मलाई हैरान बनाइरहेकी छिन । तपाईहरु मलाई हेरेर भन्नुहुँदो हो खुस्किस् कि क्या हो ! तपाईहरु जे ठान्नुहोस् आत्माले आशक्तिलाई बदल्दो रहेनछ । म आफ्ना वरिपरिको सन्त्राससंग लड्दैछु । झकिझकाउ अस्तित्वको खोजी गर्दागर्दै चिजहरु अचानक परिवर्तन भएका छन् । आजको यो निरस, फिक्का जीवनबाट मुक्त हुनलाई मैले प्रेमको सहारा लिएको छु । मनलाई काबूमा राख्न म हिजोआज लकडाउनसंग परिती गाँस्दैछु ।
***
प्रिय लकडाउन, भौतिक जगतका सबै कुरा विस्मरणीय छन् तर तिमी मेरा लागि अविश्मरणीय रहने छ्यौ । अहिलेलाई चाहिँ भित्री मनदेखि सुन्दर प्रार्थना गर्छु – तिमीलाई मेरो व्रम्हाण्डमा, मेरो देशमा, मेरो शहरमा, मेरो गाउँमा र मेरो घरमा केही हप्ताका लागि फेरि पनि हार्दिक स्वागत र न्यानो अभिवादन ! आऊ, अझैं केही समय शानदार जीवन बिताऊँ । मेरा लागि तिमीसंगका यादहरु धेरै मुल्यवान हुनेछन् ।