कोरना जसले विश्लाई नै आफ्नो बसमा राखेर बन्धक बनाउन सक्ने एउटा भाइरस । कहाँ गए ती वैज्ञानिकहरु जसले विज्ञानको क्षेत्रमा भयंकर ठूलाठूला उपलब्धी हासिल गरेर विश्वलाई चकित तुल्याएका छन् । जाबो एउटा अहिलेसम्म मानवजातिमा मात्रै देखिएको भाइरसलाई रोक्न सक्ने औषधि वा भ्याक्सिन बनाउन नसक्ने । आफूलाई विश्वको शक्तिशाली देश भन्ने जसले चाहेको बेला पूरै संसारलाई तहस–नहस गर्न सक्छ भन्दै कुर्ली–कुर्ली हिडिरहेको थियो । त्यो देशमा समेत आजको स्थिति के छ भनेर विश्वले देखिरहेका छन् ।
अब लागौं आफ्नै तिर, देश लकडाउन भएको आज १५औं दिनसम्म आइपुग्दा यी दिनमा हामीले भोगेका देखेका कुरा के हो भने म मात्र बाँचेर केही हुँदैन भन्ने बुझिसकेका छौं । संसारमा यस्तो बेला पनि आयो कि आफू बाँच्नलाई पनि सम्पूर्ण समाज र परिवारलाई पहिला बचाउनु पर्दो रहेछ भन्ने एउटा सन्देश दिन्छ, भने अर्कोतर्फ सम्पत्ति र पैसा मात्र पनि सबै थोक होइन भन्ने सन्देश विश्वमा जान्छ जसको उदाहरण हो इटाली । इटालिका सडकमा छरपस्ट छरिएका पैसाले यो तथ्यलाई देखाइसकेको छ भने अर्कोतिर आर्थिक रुपले शक्तिसम्पन्न देशहरु आज पैसा मात्र खर्च गरेर सबै थोक हुँदो रहेनछ भन्ने चेतिसकेका छन् । पैसाले मात्र हुने भए त अमेरिका, चीन, इटाली, फ्रान्स, स्पेन, बेलायतजस्ता देशमा आज जति तिव्रगतिका कोरना भाइरस फैलिएर यति धेरै मानिसहरुको मृत्युभएको छ । उनीहरुको तुलनामा बरु अन्य साना र आर्थिक रुपले पनि कमजोर मुलुकमा प्रभाव कम देखिएको छ ।
शक्तिसम्पन्न देशहरुले यसको सही पहिचान गर्न सकेनन् कि ? कि त आफूलाई सुपर पावरको रुपमा मात्र हेरे । या त यस्ता गम्भीर पक्षतर्फे कुनै वास्ता नै गरेनन् तर आर्थिक रुपले कमजोर देशहरुले भने बेलैमा सचेत भए । किनभने शक्तिशाली भनिने देशहरुमा यति ठूलो महामारी फैलिरहेको अवस्थामा हामी आफ्नो देश र जनतालाई बचाउन सक्दैन भन्ने सोचका साथ बेलामा नै सुरक्षित उपायको खोजिमा लागे ।
त्यो सुरक्षित उपाय भनेको एउटै थियो सम्पूर्ण देशमा लकडाउनको घोषणा । उक्त उपायबाट सामाजिक दुरी बढाउनु र यो महामारीबाट बाच्नु हो । अहिलेसम्म यो उपायले रोग फैलिन कम देखिएको छ तर सधै यसरी नै देश र जनताको आवश्यकता पूर्ति हुन सक्दैन तर पनि फेरि यसलाई सबैले पालना गर्नुपर्छ र गरेको पनि दखिन्छ । आवश्यक परे यो लकडाउन अझै केही सयमसम्म लम्ब्याउनुपर्ने हुनसक्छ । चिनमा पनि करिब ३ महिना (१२ हप्ता) लकडाउन पछि मात्र अहिले केही खुकुलो बनाएको हामीले देखिरहेका छौं ।
पहिलो दिनको लकडाउनदेखि आज १५औं दिनसम्मको लकडाउनमा आइपुग्दा ती दिनभरिका बसाईमा विभिन्न सञ्चार माध्यमहरुबाट देखाइएका समाचार र सामाजिक सञ्जालबाट आएका सन्देशबाट के देखिन्छ भने सुरुका दिनमा केही सञ्चारमाध्यमहरुले कसरी पहिलो ब्रेकिङ्ग न्यूज दिन सकिन्छ भनेर होडबाजी नै चलेको देखिन्थ्यो । केही सञ्चारमाध्यमले त आतङ्कित नै बनाएको पनि पाइयो तर विस्तारै विस्तारै आजका दिनसम्म आइपुग्दा त केही सञ्चारमाध्यमहरुले नेपाली जनतालाई एउटा सहयोगी हातको रुपमा अगाडि बढेको पनि पाइएको छ जसको प्रशंसा गर्नु नै पर्दछ । जसले गर्दा सञ्चारमाध्यमहरुप्रति आम मानिसमा विश्वास जागेको देखिन्छ ।
विश्वमा देखापरेको यो महामारी दक्षिण एसियाको सानो मुलुक नेपालमा पनि देखापरेको छ । आर्थिक रुपले कमजोर अवस्थामा रहेको यो देशमा आजसम्म ९ जनामा मात्रै कोरोनाको लक्षण देखिएको छ र कुनै व्यक्तिले पनि ज्यान गुमाउनु परेको छैन । ज्यान गुमाउनु नपरोस् यो नै हामी देसबासीहरुको चाहना हो ।
अर्कोतिर भने यस्तो महामारीको अवस्थामा पनि केही व्यक्तिहरु धमिलो पानीमा माछा मार्ने दाऊमा लागेको देखिन्छ । यस बेला ती व्यक्तिहरुको पहिचान हुन जरुरी छ । यो काम सरकार वा सम्बन्धित निकायको हो । तर बिडम्बना भनौं वा सतिले सरापेको देश । जसले यो काम गर्नुपर्ने हो त्यसकै उच्च तहमा रहेर गैह्र जिम्मवार तरिकाले काम भइरहेको देखिन्छ । यदि यो साँच्चै हो भने यो भन्दा मानवता विरोधीहरु कार्य केही हुन सक्दैन । यो देशका तीन करोड नेपाली जनताले त्यस्ता तत्वलाई खोजीखोजी नाङ्गेझार बनाउनुपर्दछ । यसबेला सकेसम्म मानवताको नाताले एकले अर्कोलाई सहयोग गर्नुपर्ने बेला हो ।
अन्त्यमा भौतिक दुरी बढाऔं देशबाट कोरोनालाई भगाऔं ।
धन्यवाद !