कोरोना भाइरस कोभिड १९ महामारीको सङ्क्रमण विश्वव्यापी रूपमा फैलिसकेको छ । विश्वका विकसित, सम्पन्न र महाशक्ति राष्ट्रमा यो भाइरसको सङ्क्रमणले झन् विकराल रूप लिएको छ । क्रिकेटको रन जोडिए जस्तै सङ्क्रमित हुने र मर्नेको सङ्ख्या पलपल थपिइरहेको कहालीलाग्दो विश्व चित्र हाम्रा सामु छ । अहिलेसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या नौ मा सीमित छ भने सौभाग्यवस कसैको ज्यान गएको अवस्था छैन । तर परीक्षणमा सुस्तता, थोरै सङ्ख्यामा गरिएको परीक्षण र विदेशबाट आएर नखुलेका व्यक्तिहरूका कारण यो महामारी वास्तवमा कतिमा फैलेको छ भनेर यकिन हुनसक्ने अवस्था अहिले छैन ।
नेपालमा भने अहिले सबै एक भएर एकै ध्याउन्नमा कोरोना विरूद्ध लड्नुपर्नेमा एकातिर स्वास्थ्य उपकरणको आयातमै अनियमितताका खबर सार्वजनिक हुनु र अर्कातिर राजनीतिक दाऊ साध्न राजनीतिक नेताहरू दलीय मात्रै नभएर गुटगत घृणित राजनीतिक मैदानमा उत्रिनुले आम नागरिकलाई लज्जा अनुभव भएको छ । यस्तो विश्वव्यापी विपत्का बेलामा समेत गुटगत राजनीतिक घाटा नाफाका आधारमा चल्ने नेतालाई के संज्ञा दिनु ? हाम्रो दुर्भाग्य, यहाँ त्यस उँचो कदका नेता अहिले देखिएनन्, जसको आह्वानमा पूरै देश एकजुट होस्, जसलाई पत्याओस् र ऊप्रति विश्वस्त बनोस् ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अझै दुई साता नेपाल र नेपालीका लागि चुनौतीपूर्ण रहेको अवस्था आँकलन गर्नुभएको प्रसङ्गलाई पनि यहाँ अर्थपूर्ण ढङ्गले हेर्नु आवश्यक छ । नेपाल सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले तेस्रो चरणमा पुग्न नदिई नै यसलाई सीमित घेरामा राख्न सक्नु राष्ट्रका हितमा हुनेछ । आजैबाट अर्को आठ दिन लक डाउन थपिएको छ । अब नयाँ वर्ष २०७७ लाई हामी नेपालीहरूले घरमै सुरक्षित रही स्वागत गर्नुपर्ने भएको छ ।
प्रधानमन्त्री ओलीले आजको आफ्नो सम्बोधनमा लक डाउन सुरक्षित रहन एक मात्र बाध्यता भएको बताउँदै यो अरु दुई हप्तासम्म लम्बिन सक्ने सङ्केत गर्नुभएको छ । छिमेकी चीनले वुहान सहरमा फैलेको कोरोना सङ्क्रमणलाई कडा लक डाउनका कारण अन्य सहरमा फैलिनबाट रोक्न सक्यो र अहिले यस महामारीबाट उक्सिएको अवस्थामा आफूलाइृ विश्वसामु उभ्याउन सफल भएको छ । छिमेकी भारत पनि तीन हप्ते लक डाउनमा छ ।
विश्वका शक्तिशाली र विकसित देशहरू अमेरिका, इटली, स्पेन, बेलायतका जनताले लक डाउन वा शारीरिक दूरीे अनुशासनको पालना कडाइका साथ गर्न नसक्दा स्वास्थ्य विज्ञानका सबै सुविधा भएर पनि अकल्पनीय क्षति ब्यहोर्नु परिरहेको तथ्यलाई यहाँ बिर्सन मिल्दैन । नेपालमा पनि राज्यका सम्पूर्ण संयन्त्र, राजनीतिक शक्तिहरू र नागरिक एक भएर कोरोनाका विरूद्ध लड्नु परेको छ । केही दिनअघि कोरोना विरूद्धको लडाईंमा बत्ती बालेर राष्ट्रिय ऐक्यबद्धता प्रदर्शन गर्न आह्वान गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्पूर्ण भारतीय जनताले साथ दिएर बलियो एकताको सन्देश दिए ।
नेपालमा भने अहिले सबै एक भएर एकै ध्याउन्नमा कोरोना विरूद्ध लड्नुपर्नेमा एकातिर स्वास्थ्य उपकरणको आयातमै अनियमितताका खबर सार्वजनिक हुनु र अर्कातिर राजनीतिक दाऊ साध्न राजनीतिक नेताहरू दलीय मात्रै नभएर गुटगत घृणित राजनीतिक मैदानमा उत्रिनुले आम नागरिकलाई लज्जा अनुभव भएको छ । यस्तो विश्वव्यापी विपत्का बेलामा समेत गुटगत राजनीतिक घाटा नाफाका आधारमा चल्ने नेतालाई के संज्ञा दिनु ? हाम्रो दुर्भाग्य, यहाँ त्यस उँचो कदका नेता अहिले देखिएनन्, जसको आह्वानमा पूरै देश एकजुट होस्, जसलाई पत्याओस् र ऊप्रति विश्वस्त बनोस् । क्षणक्षणमा शंका गरिरहनुपर्ने, जब पत्याउन लाग्यो, एउटा काण्डमा परिहाल्ने । दूरदर्शिता र राष्ट्र हित शिरमा राख्ने नेता नभएकै कारण निर्वाचनबाट जनताको म्याण्डेट पाएको बहुमतको सरकार हुँदाहुँदै कोही राष्ट्रिय सहमतिको सरकार निर्माणको राग अलाप्छन् त कोही मध्यावधि चुनावको माग गर्छन् । सत्तारूढ दलकै पूर्व माओवादी र एमाले खेमाका नेताहरूले पनि गुटगत राजनीति गर्ने र एक अर्कामा हिलो छ्याप्ने यही समयलाई उपयुक्त मौका ठानेको देखिन्छ । विनाशकाले विपरीत बुद्धि भने जस्तै किन गर्छन् यी नेताहरू? कपाल फुलिसकेको छ, कहिले चेत्छन् यी नेताहरू? किन यति साँघुरो दायरामा रमाउँछन् यी नेताहरू? घरैमा काल आइपुग्दा पनि कालको सामना गर्नुभन्दा आफूआफू कुकुरले हड्डीका लागि लडेजस्तै किन लर्छन् यी नेताहरू? आम नागरिक अहिले यो प्रश्न गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने कुरा आजको सम्बोधनमा उठाएर आफूले अनियमितिता विरूद्धका विरोधका स्वर सुनेको सङ्केत दिँदै कोरोना विरूद्ध एकजुट हुन राष्ट्रिय एकताका लागि आह्वान गर्नुभएको छ । उहाँले सबै राजनीतिक दललाई यस अभियानमा एक भएर सरकारलाई साथ दिन समेत आग्रह गर्नुभएको छ । यस सन्दर्भमा सरकारले पनि ओठे जवाफका हिसाबले हैन, यस विपत्तिमा सबैलाई विश्वासमा लिएर पारदर्शी ढङ्गले काम गर्ने क्षमता प्रदर्शन गर्नुपर्छ । सत्तारुढ दलका नेताहरू, विपक्षी दल र आम नागरिकले पनि यस बेलामा सरकारलाई पूर्ण रूपमा साथ र सहयोग दिएर नैतिक बल प्रदान गर्नुपर्छ । किनभने हामी सबैको साझा शत्रु कोरोना भाइरस हाम्रा घर आँगनमा आइसकेको कुरालाई हामीले भुल्नुहुन्न । नागरिकले पालना गर्ने कर्तव्य पालना गर्न अप्ठ्यारो मान्नुहुन्न । यो हाम्रो आफ्नो ज्यान जोगाउने र समाज तथा राष्ट्रलाई बचाउने बेला हो । यो सामान्य अवस्था हैन भन्ने हेक्का राख्नुपर्छ ।
स्थानीय सरकारहरूले यो महामारीलाई सङ्घीयता, गाउँगाउँमा सिंहदरबारको सार्थकता र आफ्नो अपरिहार्यतालाई पुष्टि गर्ने अनि जनताको मन जित्ने अवसरका रूपमा लिएर काम गर्नुपर्ने हुन्छ । सानो राहतको पोको दिएर दर्जन बढी मानिस जम्मा भई गौदान गरेजस्तो गरीका तमासे तस्बिर हाल्नमै स्थानीय सरकार रमाउने हो भने भोलि यो महामारी सकिएपछि यिनको पनि हिसाबकिताब जनताले खोज्ने नै छन् । स्थानीय तहका काँधमा ठूलो जिम्मेवारी आएको छ । कोरोनाका सम्भावित सङ्क्रमितको तथ्याङ्क सङ्कलन गर्ने, विपन्न र अभावग्रस्त व्यक्तिहरू पहिचान गरी राहत वितरण गर्ने, स्थानीय तहमा खाद्यान्न र औषधिको आपूर्ति सहज बनाउने, कालाबजारी, कृत्रिम अभाव र अस्वाभाविक महङ्गीमा अङ्कूश लगाउने काम स्थानीय पालिका र यिनका वडाले गर्न सक्नु पर्दछ ।
सङ्क्रमणको उच्च जोखिम हुँदाहुँदै पनि पहिलो पङ्क्तिमा रहेर खट्ने स्वास्थ्यकर्मीहरूलाई उपलब्ध गराइएका पीपीईको उसै कमी छ, जो भएका पनि च्यातिएर भ्वाङ परेका तस्बिर सार्वजनिक भइरहेकाले के कसरी त्यस्तो हुन गएको हो, साइज नमिलेको लगाएर हो कि कमसल हो, छानबिन गरी निराकरण गर्न जरुरी छ ।
नागरिक तहमा यो भन्नैपर्ने हुन्छ —छिमेकी देशका प्रधानमन्त्रीले आह्वान गर्दा यहाँ बत्ती बालेर साथ दिन जान्नेले आफ्नो सरकारलाई पनि पत्याउनुहोस् । लक डाउनमा घरमै बस्नुहोस् । काम विशेषले निस्कन परे पनि कम्तीमा ६ फिटको दूरी कायम गर्नुहोस् । मुख ढाक्नुहोस् । सुरक्षित रहनुहोस् । कोरोना सङ्क्रमणको बाहक नबन्नुहोस् । अहिले बचौँ र बचाऔँ अनि केही पछि उज्याला दिन आउँछन् भनी भविष्यप्रति आशावादी बनौँ ।
Facebook Comments