अक्क न बक्क स्थानीय तह

कोरोना डायरी– ७

लकडाउन सुरु भएको कति दिन भयो कुन्नि ! मैले त बिर्सी पनि सकेंछु । हुन त नेपालीले चाँडै बिर्सिन्छ । शरीर भित्र रहेको मन भने चार चौरस बरालिएर हिड्छ । हैन ! सोच्न पनि के के सोच्न र पुग्न पनि कहाँ कहाँ पुगेको यो मन । एकैछिन ठेगानमा बस्तैन । छुकछुक गरेर कति भौतारिन सकेको !

म अहिले काठमाण्डौं महानगरपालिकाको जनप्रतिनिधि विहिन ठाउँमा बस्छु । यो वडा नं. ६ पर्छ अरे । स्थानीय सरकारको अनुभूति अथवा अनुभव यो वागमती नगरका बासिन्दाले गर्न पाएको मलाई थाहा छैन । कतिपयले भन्छन् यो बौद्धको उपनिवेश हो । अथवा यो कसैको अधिनस्त छ भन्ने कुरा । यो त्रासदीपूर्ण अवस्थामा पनि स्थानीय सरकार नदेखिए पछि प्रष्ट भएको छ । आपत् विपत्मा काम लाग्नु पर्ने स्थानीय सरकार अहिले गायब छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगार र विपन्नलाई स्थानीय सरकारले राहत उपलब्ध गराउने भने पनि यताका बेरोजगार र विपन्न त्यसबाट बञ्चित छन् । हुन त काठमाडौंमा बेरोजगार, विपन्न, मागेर खाने र मध्यम वर्ग छुट्याउन पनि निकै गाह्रो छ । देख्नु भएन अस्ति झापाको सुरुङ्गामा । गाउँले मिलेर राहातको सिफारिस गरेका ब्यक्तिले २४।२५ लाख रुपैयाँ त पोको पारेर घरमै राखेको रहेछ । दशाले त्यही दिन ती गरिबको घरमा आगलागि भएपछि पो गाउँलेहरुले पैसा देखे ।

हो, काठमाण्डौमा पनि त्यस्ता व्यक्तिहरु छ्र्रैनन् भन्न सकिदैन ।

हिजोको कुरा गरौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले विपन्न र बेरोजगारलाई राहत बितरण गर्ने निर्णय ग¥यो । पाँचवटा टोली बनाएर विपन्न र बेरोजगारको पहिचान गर्ने र कार्ड बाड्ने जिम्मेवारी टोलीलाई सुम्पिएको थियो । टोली लिएर जानु भएका स्थानीय समाजसेवी कुमार श्रेष्ठ भन्नुहुन्छ — भर्खर ब्यूटीपार्लरबाट राम्रो मेकप गराएर, सुनका गहना पहिरिएका विपन्न, दुई तीन तोलाको सिक्री र दुई तीन तोलकै सुनको औंठी लगाएका हातमा स्मार्ट फोन बोकेका बेरोजगार आएर घेरेपछि आहत भएर हामी राहत नबाडी फर्कियौं ।

कुमार श्रेष्ठ आफ्नो अनुभव सुनाउदै भन्नुहुन्छ — जो राहातको वास्तविक हकदार हुन उनीहरुलाई पन्छाएर अरु नै राहातको कार्ड खोस्न आइपुग्छन् । हाम्रो यो गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले मानवीय संवेदनालाई बुझेर राहातको ब्यवस्था गरेको थियो । तर, राहत बितरणमा पनि हुने खाने नै आइदिए पछि बडो गाह्रो भयो ।

हो कुमारजीले ठिकै भन्नु भयो । जो दैनिक ज्यालादारीमा बाँचेका छन्, जो विपन्न भएकै कारण घरमा चुल्हो बाल्न सकिरहेका छैनन् उनीहरु नै लक्षित वर्ग हुन । र, राहातका हकदार उनीहरु नै हुन । राहत लिन शरीर भरी सुनको गहना लगाएर आउने त मानसिक रुपले दरिद्र मात्र हुन ।

कुमार श्रेष्ठजीको कुराको पूर्ण समर्थन गर्दै म मेरै टोलको कुरा गर्छु । यहाँ त्यस्तो टोली अथवा कुनै जनप्रतिनिधि आएका छैनन् । अलिकति ब्याङ्ग्य गरेर भन्नु पर्दा यस भेगका बासिन्दा र यस वडाका जनप्रतिनिधि सन्नाटापूर्ण वातावरणमै ढुक्क छौं, निको आनन्दै छौं । यहाँ पनि बेरोजगार र विपन्न वर्गको आश्रय छ, यहाँ पनि मानव समुदाय छ भन्ने नै बिर्सिए पछि कसको के लाग्छ ।

हामीले बिपन्न, गरिब र अशक्त भनेर बर्गिकरण गर्नै सकेका छैनौं । सरकारले, त्यो पनि स्थानीय सरकारले बर्गिकरण गर्नु पर्ने हो । तर गरिबीको रेखामुनी रहेकालाई परिचय पत्र दिन सक्ने वातावरण पनि नेपालमा छैन । ती परिचय पत्र पनि हैकमवालाले आफन्तहरुलाई बाँडेको कुरा समाचारहरुमा आई सकेका छन् । अब यस विषयमा सम्बन्धित निकायले गम्भीरतापूर्वक काम गर्नु पर्ने खाँचो छ ।

भयो है कति गनथन गर्नु । अब यसरी हप्तौ कोठामा थुनिएर रहनु परेपछि आगामी दिनमा मान्छे के खाएर बाँच्छ ? हो, यस्तो सोच्न थाल्दा मन भरङ्ग हुन्छ । तर, आत्तिहाल्नु पर्ने अवस्था भने छैन । किनभने हिमाली, पहाडी र तराईका जिल्लाका किसानहरु खेती किसानीमा ब्यस्त छन् । परिवारका सदस्य मिलेर आफ्नो खेतबारीमा काम गर्दैछन् । पक्कै पनि मल खादको अभाव छ । तथापि उनीहरु मौसम अनुसारको अन्नबाली भित्र्याउने र लगाउने चटारोमै छन् ।
यसपालिको यो कोरोना भाइरस र लकडाउनले राम्रो पाठ पढाएको छ । शक्तिशाली राष्ट्रहरुलाई पनि समयले फतक्क गलाउँदो र’छ । फुईं नहाँके हुन्छ । धनको अथवा पैसाको थुप्रोले पनि आपत् परेका बेला काम दिने रैनछ । राज्य सक्षम र जनताको पक्षमा काम गर्ने हुनु पर्ने रहेछ । स्वतन्त्रता चाहिन्छ तर नाफाखोरहरुका लागि छाडा स्वतन्त्रताको कुनै काम छैन भन्ने प्रमाणित भयो । र विश्वका प्रत्येक राष्ट्र स्वावलम्बी र आत्मानिर्भर बन्नु पर्छ भन्ने पाठ पनि कोरोनाले पढायो ।

लु भयो अब । कति छेउन पुच्छरको कुरा सोचेर बस्नु ! हरे ! यो कोरोनाले मान्छेको दिमाग पङ्चर बनाउने भयो काम नभए पछिको मान्छे कति फजुल र वाइयात तर्कनाहरु गरेर बस्तो रहेछ ! पर चौर छेउबाट शालिकराम दाहालजी फोन गर्दै हुनुहुन्छ । एक जमर्को भेटौं कि जस्तो लागेको छ । आज कौसी वार्ता गर्ने हो कि जस्तो गर्दै हुनुहुन्थ्यो । खै हेरांै अब उहाँले के भन्नु हुन्छ !

लौ सारै पट्यार लाग्यो मलाई त ! तपाईलाई पनि यो गनथनबाट मुक्त गरौं कि कसो ! हुन त कुराकानी भनेको बसिबियाँलो भन्छन् । चटक्क छोड्न पनि सकिदैन । गफ गरेन भने पनि ओल्लो घर पल्लो घरले आज त फुलेल भएर बसेको छ भन्ने आरोप लगाउँछन् । जे गरेपनि धर छैन । विदा हुन्छु । हवस् नमस्कार है ।

Facebook Comments
Comments (0)
Add Comment