”सोचे जस्तो हुन्न जीवन,
सम्झे जस्तो हुन्न जीवन,
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन ।”
कोरोना भाइरसका कारण लक डाउनमा परेको छ जिन्दगी । आफ्नै घरमा बन्दी छ जिन्दगी । पट्यारलाग्दा यी दिनहरूमा तारादेवीको स्वरको यो गीत जस्तै भएको छ जिन्दगी । सोचेको के थियो, भएको के छ? यी पट्यारलाग्दा र उराठलाग्दा दिन अझै कति जाने हुन्, कसलाई थाहा छ र ? घर–कोठामा कुँज्जिँदा कुज्जिँदा तपाईं–हाम्रो शरीर त बोधो बनेको छँदैछ, मानसिक रूपले पनि थकान महसुस हुन थालेको छ ।
धेरैको दिनचर्या मोवाइल र टिभीबाट सुरु भएर त्यहीँबाट सकिन्छ । तर कतिले भने यो लक डाउनको समयलाई आफ्नो रुचिका कुरा गर्ने अवसरका रूपमा लिएका छन् । कसैले अनलाइन कक्षा सञ्चालन गरेका छन् त कसैले सामाजिक मिडियामार्फत् आफ्ना प्रस्तुति जनसमक्ष पु¥याउने गरेका छन् । कोही चाहिँ सामाजिक मिडियालाई राजनीति गर्ने थलो बनाएर विपत्का बेला पनि राजनीतिक दाउ साँध्ने तर्खरमा लागेका देखिन्छन् । कोही भने सामाजिक मिडियामा कुण्ठा पोखेर बसेका छन् । कोही कोही असामाजिक मान्छे त सामाजिक मिडियामा भ्रम छरेर मजा मानिरहेका पनि छन् । आफू अनुसारको काम गर्ने न हो मान्छेले । कोही चाहिँ घर करेसामा मौसमी तरकारी र फूल उमार्न/ स्याहार गर्न लागेका छन् भने सर्जकहरू आआफ्ना सिर्जनामा तल्लीन छन्।
लक डाउन सुरु भएपछि हल्लाखल्ला केही नगरी नेपाली शास्त्रीय सङ्गीतको सम्मानित रेग्मी घरानाले सितारवादनको स्वाद चखाउन थाल्यो फेसबुक लाइभ मार्फत् । लकडाउनको दोस्रो दिन फेसबुक लाइभमा अचानक सितार बजाउँदै गरेका प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीलाई देखेर धेरै सङ्गीत प्रेमी छक्क र मक्ख परे । छक्क यसकारण परे, यति ठूलो शास्त्रीय सङ्गीतका पण्डितले निःशुल्क सितार बादन गरेर घरै बसेका सङगीतप्रेमीहरूलाई स्तरीय शास्त्रीय सङ्गीतको आस्वादन गराउलान् भन्ने अनुमान गर्ने कुरै थिएन । मक्ख यस कारण परे— शास्त्रीय सङ्गीतका मधुर-मधुर धुनको स्वाद फेसबुकमार्फत् लिन पाइयो । जुन फेसबुक यस्तो विपत्का बेला कुण्ठा, निहीत राजनीतिक दाउ र भ्रामक जानकारी फैलाउने माध्यम समेत बनेको आलोचना खेपिरहेको थियो, त्यही फेसबुक शास्त्रीय सङ्गीतको प्रसिद्ध रेग्मी घरानाका प्रा. डा. ध्रुवेशचन्द्र रेग्मीको सितार बादन पस्किरहेको थियो ।
सुकर्म सङ्गीत ब्याण्डका संस्थापक प्रा.डा. रेग्मीले लक डाउनको दोस्रो दिनदेखि सितार वादन सुरु गर्नुभयो । हरेक आइतबार र बुधबार दिनको १ देखि १ः३० सम्म । आधा घण्टा । छोटा मीठा चार/पाँच वटा टुक्रा पस्किने । यो निधो भयो ।
किन यो रोजाइ? मैले फोनमा प्रश्न गरेँ । प्रा. डा. ध्रुवेशचन्द्र रेग्मीको उत्तर थियो — ‘यतिखेर शारीरिक र मानसिक दुबै खाले स्वास्थ्यलाई ख्याल गर्नु आवश्यक छ । सबैजना घरमा बस्नुभएको छ । शास्त्रीय सङ्गीतले ऊर्जा देओस्, पीडा भुल्न मद्दत पुसोस् भनेर सितार बजाएको हुँ ।’
रेग्मी घराना शास्त्रीय सङ्गीतमा चार पुस्तादेखि समर्पित छ । ध्रुवेशचन्द्र रेग्मी भने सबैभन्दा पछिल्लो पुस्ता । उहाँका पिताजी प्रा. सतीसचन्द्र रेग्मी प्रसिद्ध सितारवादक हुनुहुन्थ्यो । सतीसचन्द्रका पिताजी कृष्णचन्द्र र हजुरबा देबचन्द्र रेग्मी पनि विख्यात् सितारवादक हुनुहुन्थ्यो । यसरी यो परिवारको चार पुस्ताले शास्त्रीय सङ्गीतमै जीवन समर्पित गर्दै आएबाट शास्त्रीय सङ्गीतप्रतिको लगाव बुझ्न सकिन्छ ।
‘शास्त्रीय सङ्गीतले शरीरका कुनै न कुनै अङ्गलाई छुन्छ, आत्मा र मानसिक स्वास्थ्यलाई कुनै न कुनै हिसाबले स्पर्स गर्छ र जोड्ने काम गर्छ’, आजको प्रस्तुति सके लगत्तै ध्रुवेशचन्द्र रेग्मीले मसँग भन्नुभयो, ‘चित्त शुद्धि, आत्माको शान्ति, काममा ध्यान केन्द्रित गर्न मद्दत पु¥याउँछ ।’
सामाजिक मिडियामा नचाहिने समाचार र त्राश फैलाइरहेको देखेपछि ध्रुवेशचन्द्रको मनले मानेनछ । अनि सोचाइ बनाउनुभएछ, पट्यारलाग्दा क्षण बिताइरहेका सङ्गीतप्रेमीहरूलाई त्यही सामाजिक मिडियाको उपयोग गरेर सकारात्मक ऊर्जा र ताजगी प्रदान गर्ने । भन्नुहुन्छ, ‘सामाजिक मिडिया त माध्यम मात्रै हो, त्यसमा हामीले जे दिन्छौँ, त्यही जाने हो । राम्रा कुरा दिए समाजमा राम्रै प्रभाव पर्छ ।’
सहरी क्षेत्रका नेपालीहरूले विगतमा केही समय कफ्र्यूको अनुभव गरेका भए पनि यस्तो लक डाउनको अनुभव पहिलो हो । ध्रुवेशचन्द्र भन्नुहुन्छ, ‘हाम्रो बानी यस्तोमा बस्ने छैन, पहिलेको अनुभव थिएन । अलिकति भए पनि शास्त्रीय सङ्गीतले हामीलाई सहज बनाउँछ भने मैले किन नगर्ने?’
सुकर्म व्याण्ड मार्फत् देशभित्र र विदेशका प्रमुख शहरहरूमा लामालामा प्रस्तुति दिएका ध्रुवेशचन्द्र रेग्मीलाई आधा घण्टाको वादनमा रचना र रागका बन्दिस छनौट गर्न भने त्यति सजिलो छैन । किनभने, शास्त्रीय सङ्गीत सुरुवातबाट उत्कर्षसम्म पुगेर विस्तारै ओर्लिन निकै समय लाग्छ । सितारलाई साथ चाहिन्छ । ध्रुवेशलाई सितारमा साथ दिन तानपुरा, तबला, बाँसुरी वा अरु आवश्यक वाद्य अहिले उपलब्ध छैनन् किनिकि लक डाउनका कारण ती बाजाका वादक साथीहरू घरमै थुनिएका छन् । ‘एक्लो सितार वादनमा कतै बन्दिस छोड्ने हुँ कि तर सकभर कोशिस गर्नेछु’ भन्दै ध्रुवेशले सितार बजाउनुभयो ।
ध्रुवेशको यो प्रस्तुति हेर्दै गर्दा घरमा बसेर फेसबुकमा हेरेको नभई कुनै प्रेक्षालयमा टिकट लिएर हेरिरहेको भान हुन्छ । पहिले अभिवादन गर्ने, लक डाउनका बेलामा आफ्ना शुभेच्छुकहरूको जीवन सहज र मधुर होस् भन्ने कामना गर्ने अनि आफूले दिने प्रस्तुतिको परिचय दिएर बजाउने । त्यो सकिएपछि फेरि दर्शकलाई सम्बोधन गर्ने । कस्तो लाग्दैछ भनेर सोध्दै पनि गर्ने र अन्त्यमा सुस्वास्थ्यको कामना गर्दै बिदा हुने ।
ध्रुवेशले लक डाउनयता आजसम्म गरी पाँचवटा प्रस्तुति दिइसक्नुभयो । पाँचवटै प्रस्तुतिमा उहाँले प्रसिद्ध गायक बच्चुकैलाशका गीतहरू- तिमीले त हैन तिम्रा भाखाहरूले, टाढाटाढा जानुछ साथी, हृदयभरिको शुभकामना र महाकवि देवकोटाको सुन्दर रचना रविन शर्माको स्वरको कुन मन्दिरमा जान्छौ यात्री, रेग्मी घरानाका रागका बन्दिसहरू र सुकर्मका रचना बजाउनुभएको छ ।
अब लक डाउन कायमै रहे अर्को प्रस्तुतिको पालो छ— आउँदो बुधबार दिउँसो १–१ः३० सम्मको । ‘त्यो प्रस्तुतिमा पनि एउटा त बच्चु कैलाशको गीत रहन्छ रहन्छ, ध्रुवेश भन्दै हुनुहुन्थ्यो– मलाई बच्चुकैलाश असाध्यै मन पर्नुहुन्छ ।’
मैले ध्रुवेश र सुकर्म ब्याण्डका कैयन प्रस्तुति हेरेको सम्झना आयो । अनि सम्झना आयो, रेडियो सगरमाथामा हामीले ध्रुवेशजीसँगै मिलेर शास्त्रीय सङ्गीतको कार्यक्रम सञ्चालन गरेको । रेडियो कार्यक्रमका कैयन परिचय धुन र सेतु धुन उहाँकै रचनाबाट बनाएको ।
दिन र बार बिर्सेँ । लकडाउनपछि ध्रुवेशको एउटा फेसबुक प्रसारण हेरेपछि स्टाटस नलेखी रहन सकिनँ – ध्रुवेशको स्तरीय सितारवादन प्रस्तुतिपछि अरु कलाकारलाई पनि यस्तो गर्ने प्रेरणा मिल्नेछ । तर मैले त्यति धेरै त्यस्तो प्रस्तुति याद गरेको छैन । केही कलाकारहरू टीका भण्डारी, नारायण ओली, सागर न्यौपाने, सजल न्याौपानेले अघिपछि पनि आफ्ना रचना र अभ्यास सामाजिक मिडियामा राख्ने गरेका छन् । श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशालाका संस्थापक तिलक पेलाले पनि अहिले आफना सिर्जना सामाजिक मिडियामा राखेको पाएको छु । सङ्गीतकार/गायक बालन्द राई त फेसबुकमा सबैभन्दा धेरै गीत लिएर आइरहेको देख्छु । तर यसरी लकडाउनको बेला मानसिक शान्तिका लागि मिडियामार्फत् आधा घण्टाको नियमित र व्यवस्थित साङ्गीतिक प्रदर्शनी प्रसारण गर्ने जश चाहिँ कलाकारहरूमध्ये ध्रुवेशलाई नै जान्छ ।
आजको प्रस्तुति सकिएलगत्तै ध्रुवेशलाई फोन गरेँ र भनेँ — मलाई परिसंवाद् डट कममा लेख्न केही जानकारी चाहियो । ध्रुवेशले फिस्स हाँस्दै प्रश्न गर्नुभयो– चलेका, बलेका अतिरिक्त गीत सङ्गीतले बजार पिटिरहेका बेला हाम्रो यस्तो प्रस्तुतिको पनि मिडियामा सामग्री बन्छ र ?
तर ध्रुवेशलाई थाहा नहुन सक्छ कसरी भनौँ ?— नेपालमा शास्त्रीय सङ्गीतलाई ठूलो जमातले मन पराउँछ र माया गर्छ अनि उहाँलाई चाहने धेरै शुभचिन्तक नेपाल र विदेशमा छन् । यसको सानो उदाहरण— जब ध्रुवेशले फेसबुकबाट सितारबादन प्रत्यक्ष प्रसारण गर्ने योजना बनाउनुभयो, उहाँलाई सोसल क्याफे र हेल्थी नेपाल नामका संस्थाले पनि एक÷एक दिनको प्रस्तुतिमा साथ र सहयोग दिन आइपुगे ।
लक डाउनका बेला पनि ध्रुवेशचन्द्रको दैनिकी पहिले जस्तै छ — बिहान ८ देखि ११ बजेसम्म साधना गर्ने । दिउँसो अध्ययन र अनुसन्धान । फरक यत्ति हो, पहिले मान्छेको घुइँचो हुन्थ्यो । अहिले एकान्तवास छ ।
‘यो लक डाउनभरि उराठिला र पट्यारिला दिनहरूमा थोरै भए पनि साथ दिन र विपत्मा हामी सँगै छौँ भन्ने भरोसा दिन पनि हप्ताको दुई दिन फेसबुकमार्फत् प्रसारणमा आइरहन्छु’, ध्रुवेशले भन्नुभयो ।
प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी विद्यावारिधि गर्ने पहिलो नेपाली सङ्गीतज्ञ हुनुहुन्छ । केही समयअघि अमेरिकाको सिटी युनिभर्सिटीबाट पोष्ट डक्टरेट समेत गरेका प्रा.डा. रेग्मी दर्जन बढी विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुन्छ ।
लक डाउन कायमै रहे आउने बुधबार दिउँसो १ बजे दर्जनौँ मीठा रचनाका धनी प्रा.डा. ध्रुवेशलाई फेसबुकमार्फत् सितारमा सुन्ने हैन त?