महामारीपछि प्राय: दुर्भिक्ष हुनेगर्छ । इतिहासका घटनाहरुमा यो प्रष्ट छ कि महामारीले विश्वबजार तहसनहस गरिसकेपछि पुरानै हालतमा फर्किन अथक काल गुज्रीनुपर्ने हुन्छ । भोक, सन्नाटा, दुर्गन्ध अनि मृत्युका कहालीलाग्दा सित्कारहरु यत्रतत्र तरंग झैँ बगिरहन्छन् । विश्व कैयन वर्षलाई पछाडि धकेलिन्छ ।
कोविड १९ ले साठी हजार बढी ज्यान लिइसकेको छ ।
१२ लाख बढी मानिसहरु यसको चपेटामा आइसकेका छन् । पुरै विश्व प्राय: ठप्प छ । विश्व बजार व्यवस्थाको नराम्रोसँग धज्जी उडिसकेको छ । शक्तिशाली राष्ट्रहरुले घुँडा टेकेको अवस्था छ ।
जब कृषिलाई उछिनेर दुनियाँमा व्यापार हाबी भयो दुनियाँको चमकदमक पनि ह्यात्तै बढ्न थाल्यो । अब मानिसहरु कपास बेचेर ब्राण्डेड लुगा किन्न थाले । अब मान्छेहरु आफ्नो खेतको अनाज र अन्य उत्पादन बेचेर फास्टफुड खान थाले । मान्छेहरु कैयन वर्ष गधाले झैँ काम गरेर सवारी साधनहरु किन्न थाले ।
रोडाढुंगा थुपारेर अग्लाअग्ला आलिशान महल बनाउन थाले । व्यापारको बढोत्तरीसँगै मानिसहरु बिलाशिताको दहमा भासिन थाले । कृषि सभ्यताको समृद्धि र सादगी क्रमश: पदार्थको पराकाष्ठामा तब्दिल हुन थाल्यो । स्वस्थत हरायो । स्वच्छता गायव हुन पुग्यो । प्रांगारीक जिन्दगीहरु हेर्दाहेर्दै जहरिलो रसायनले डढ्न पुगे । एन्टिबायोटिकहरुले जिन्दगी कलिलैमा ध्वस्त हुन थाले ।
पूँजीको सिद्धान्तले हरेक वस्तुको मूल्य तोक्छ । मान्छेका टाउकाको भाउ लगाउँछ । होड, प्रतिस्पर्धा र एककिसिमको तँछाडमछाडको स्थिती उत्पन्न गरेर मानिसहरुलाई उक्साउने काम हो व्यापार । जहाँ पैसा गन्ने बाहेक अर्थोक शनै:शनै: कम महत्वपूर्ण हुँदै जान्छ ।
व्यापारमा मात्रै भर परेका मानिसहरु अब क्रमशः भोकमारीको सिकार हुनेछन् । किनभने स्टकको एउटा हद हुन्छ । उत्पादन र आपूर्ति न्यून वा नगण्य भएपछि बजार स्वत: रित्तो हुन जान्छ । रित्तिनु भन्दा अगाडि बजारमा ठूलो चलखेल हुन्छ । कलोबजारीहरु हुन्छन् ।
उपरोक्त अवस्थामा कुनै उपाय नगरे लुटपाट र हिंसा नै पनि निम्तिन सक्छ । आन्द्रा कराएपछि जब मान्छेले खान पाउँदैन तब उसको सभ्यताको ग्राफ पनि मलिन हुँदै जान्छ र मान्छे अब मान्छे रहँदैन । दन्किएको आगो र भोको मानिस उस्तै हुन् । पानी वा भोजन नभेटेसम्म दुवै खतरनाक हुन्छन् ।
त्यसैले सर्भाइभलको द्विगो समाधान कृषि नै हो । अब पुन: यसको शरणमा फर्किनुको कुनै बिकल्प छैन । अहिले यो लकडाउनको समयमा आफ्नो छेउछाउ खेतिपाती शुरु गरिहालौँ । जग्गा छैन भने छतमा वा गमला वा मिल्काइएका भाँडावर्तन इत्यादिमा तत्त्काल उमारेर खान मिल्ने अनाज वा तरकारीहरु लगाइहालौँ । रोपेको केही दिनमै खान मिल्ने कैयन बालीहरु छन् । तिनको पहिचान र सदुपयोगमा लागौँ ।
अहिले सरकार भ्रष्टाचार गर्न र मजाक गर्न उद्दत छ । गाउँगाउँका खाली जमिनमा उसले अनेक खेती शुरु गर्नु गराउनु पर्ने हो । सावधानी अपनाएर यो बेला पनि खेतीपाती गर्न सकिन्छ ।
भोलिको पनि सोचौँ । लकडाउन लम्बिँदै जाँदा अहिले अनेक अत्यावश्यक कुराहरुको अभाव शुरु भैसकेको छ । पुरै विश्वमा उत्पादन ठप्प छ । यस्तो अझै लामो जाने संभावना पनि छ । तसर्थ यो हाम्रो कृषिप्रधान देशको इज्जत जोगाऔँ ।
किशानहरु जागौँ । अरुहरुले किशानलाई साथ दिन थालौँ । अभियानकै रुपमा जताततै हरितक्रान्ति शुरु गरौँ ।
अब कृषि युगको पुनरावृत्ति हुनेछ । बजारको एउटै सम्बृद्ध बिकल्प भनेको कृषि हो । अरु सबै गरेर हेरियो । तर फिकाफिका भयो जिन्दगी । त्यसैले प्रकृति शरणं गच्छामी!
महामारीमा जीउ जोगाउनू
अनिकालमा बीउ जोगाउनू
अनि समयमै बीउ रोपिहाल्नू!