विपद्मा नेपाली मिडियाको भूमिकाबारेमा अहिले विभिन्न बहस तथा अध्ययनहरू समेत प्रारम्भ भएका छन् । विपद् र आमसञ्चारलाई जोडेर अहिलेसम्म खासै अध्ययन अनुसन्धान हुन नसकेको अवस्थामा २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले पु¥याएको मानवीय र भौतिक क्षतिपछि विपद् र मिडियाको भूमिका त्यसमा पनि सामुदायिक रेडियोको भूमिकाको बारेमा सामुदायिक रेडियोहरूको विश्व संगठन अमार्क लगतयत सामुदायिक रेडियो सम्बन्धी संघसंस्थाहरूले बहस नै प्रारम्भ गरेका छन् । बेलाबेलामा हुने बाढी पहिरो, आगलागी, खडेरी, हिमताल विस्फोटन, महामारी, शीतलहर, चट्याङ्ग आदि प्रकोपका रुपमा देखिएका छन् । यसका अतिरिक्त कोरोना, बर्ड फ्लु, स्वाइन फ्लु जस्ता नयाँ महामारी, औद्योगिक दुर्घट्ना, विस्फोटन, विषालु पदार्थसँग सम्बन्धित विपद्का घट्नाहरूसमेत हुने गरेका छन् ।
विपद्कै कारण वार्षिक रुपमा हुने क्षतिले राज्यको विकासको गतिलाई समेत अवरोध गरेको छ । एकातिर दलीय झगडा र अर्कोतिर प्राकृतिक विपद्, जसको कारणले मुलुक झन्–झन् गरीब हुनु परेको छ । दशवर्षे माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरणपछि पनि लामो राजनीतिक संक्रमण जारी रहनु र यसैबिचमा ठूलाठूला बाढीपहिरो, भूकम्प, महामारी जस्ता विपद् आइपर्दा नेपालको समग्र विकासलाई पछाडि धकेल्ने काम गरेको छ भने अहिलेको यो कोरोना महामारीले हाम्रो जस्तो मुलुकको आर्थिक अवस्था कहाँ पुर्याउने हो अहिले नै भन्न सकिने अवस्था छैन ।
नेपालले विपद्कै कारण धेरै मानवीय क्षति बेहोर्नु परेको छ । सन् १९७१ देखि २०१३ सम्म विपद्का कारण नेपालमा २७ हजार ४ सय ७४ जनाको मृत्यु भएको थियो, जसमध्ये १० हजार ८ सय १४ ले बाढी पहिरो, भूकम्पजस्ता विपद्का कारण मृत्युवरण गरेका थिए र १६ हजार ६ सय ६० व्यक्तिको महामारीका कारण मृत्यु भएको विभिन्न अध्ययनहरूमा उल्लेख गरेको पाइन्छ । सन् २०१५ (सम्बत् २०७२) मा मात्रै भुकम्पले नौ हजारभन्दाको बढी नेपालीको ज्यान लिएको थियो । त्यतिमात्र होइन बाढी, पहिरो, आगलागी, खडेरी र भूकम्पले नेपाललाई सन् २०१६ मा विश्व जोखिम सूचकाङ्कमा १ सय ७३ मध्ये ६४औँ स्थानमा उभ्याएको छ । नेपालमा विपद्बाट हुने मानवीय क्षति विश्वमै उल्लेखनीय छ र दक्षिण एसियाका मुलुकहरूमध्येमा त सबैभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ ।
यही क्रममा गत डिसेम्बरको अन्तिमदेखि छिमेकी मुलुक चीनको बुहानलाई आक्रान्त परेको कोरोना भाइरसको प्रकोपले नेपाललाई मात्र होइन विश्वलाई चिन्तित बनाइरहेको छ । हाम्रो जस्तो बहुप्रकोपयुक्त मुलुकमा सामुदायिक रेडियोको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक छ । मिडियाले विपद् भोगेका मानिसको ज्यान बचाउनका लागि मात्र होइन बिस्तारै सामान्य अवस्थामा फर्कनका लागि आत्मविश्वास दिलाउन महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।
जस्तो वि.सं. २०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पमा नेपालका सामुदायिक रेडियोहरूले खेलेको भूमिकालाई हेर्ने हो भने अत्यन्तै सकारात्मक देखिन्छ । भूकम्पका बेला सूचना प्रवाहमा सबैभन्दा प्रभावकारी माध्यमको रुपमा रेडियो नै देखिएको थियो । भूकम्पबाट विस्थापित भएर खुला आकाशमुनि बस्न बाध्य मानिसहरूको उद्धारमा खटिएका उद्धारकर्मी सबैका लागि रेडियो नै सूचनाको प्रमुख स्रोत थिए । जुन बेला भुइँचालोको भय सबैमा थियो त्यसमा नेपाली रेडियो र त्यसमा संलग्नहरूले आफ्नो ज्यानको बाजी लगाएर जनतालाई सूचना प्रवाह गर्ने काम गरेका थिए । त्यस्तो अवस्थामा सामुदायिक रेडियोहरूले त्रिपालमा बसेर विपद्बाट जनतालाई नडराउन र सुरक्षित हुने उपायको जानकारी दिने प्रयास जारी राखेका थिए ।
आम रुपमा भन्ने गरिन्छ, पत्रकारले विपद् भोगेका मानिसमा ज्यान बचाउने र बिस्तारै सामान्य अवस्थामा फर्कने आत्मबल दिलाउने मात्र होइन सामुदायिक रेडियोले विपद्को पूर्वतयारी, न्यूनीकरण तथा रोकथाम, उद्धार, राहत, र पुनस्र्थापनासम्बन्धमा महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।
विभिन्न संस्थाहरुले निकालेका विपद् रिपोर्टिङ सम्बन्धी गाइडबुकहरुमा स्थानीय सञ्चारमाध्यमले मानवीय विपत्तिलाई ठूलो मात्रामा प्रभाव पार्न सक्ने र निम्न भूमिकाहरू खेल्न सक्ने उल्लेख गरेको पाइन्छ ः
- विपत्ति आइलाग्नु भन्दा पहिले अथवा विपत्ति आइसकेपछि, सञ्चारमाध्यमले मानिसलाई कस्तो विपत्ति आउँदैंछ, यसबाट बच्न के कुरा थाहा पाउनुपर्छ र यस्ता बेलामा कसले सहायता गर्न सक्छ भन्ने बारेमा बताइदिन सक्छन् ।
- स्थानीय सञ्चार माध्यमले विश्वसनीय सूचना दिँदा उद्धार गर्ने सरकारी संस्था र मानवीय सहायता प्रदान गर्ने संस्थाले धेरै मानिसलाई चाँडै उद्धार गर्न र सहायता पु¥याउन सक्छन् ।
- स्थानीय सञ्चार माध्यमले स्थानीय समुदायलाई विपद्सम्बन्धी आफूसँग भएका जानकारी, अनुभव र आफ्ना चासोका कुरा बताउने अवसर दिन्छन् ।
पूर्व तयारी
विपद् सम्बन्धमा पूर्वानुमान रोकथाम र त्यसको असरको न्यूनीकरणका साथै प्रकोप परिरहँदा र परिसकेपछि यसबाट उत्पन्न परिस्थितिको सामाना गर्नका लागि पहिले नै तयार भएर बस्नु भन्ने बुझिन्छ । प्रकोप परिरहेको समयमा र परिसकेपछि तत्काल प्रभावित मानिसको जीवन रक्षाका लागि आवश्यक पर्ने उद्धार तथा राहत कार्यका लागि पहिले नै पूर्ण तयार भएर बस्न आवश्यक छ । यदि विपद्लाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पूर्वतयारी नपुगेमा मुलुकको विकास प्रक्रियालाई नै आफठ्यारो हुने गरी क्षति पुर्याउन बेर छैन । अहिलेको विपद्सँग जुध्नका लागि त्यसको व्यवस्थित तयारी गर्न सकेमा कम क्षति गराउन सकिन्छ ।
कुनै विपत् आइहालेको खण्डमा त्यससंँग जुध्नका निम्ति दरिलो तयारी गर्ने, असुरक्षित अवस्था आइपरेमा त्यसका नकारात्मक असरहरू घटाउने उपाय अपनाउने र विकास आयोजनाहरूलाई सुरक्षित गर्ने जस्ता विपद्का जोखिम कम गर्ने उपायहरू अपनाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा एक सेकेन्ड छिटो वा विलम्बले पनि कसैको ज्यान जोगिने वा जाने हुनसक्छ । त्यसैले यो चरणमा गरिने प्रभावकारी कामले मानिसका ज्यान तथा सम्पत्तिको रक्षा हुन जान्छ । अहिले पनि हाम्रो समाज चेतनाको हिसाबले निकै पछाडि नै रहेकोले महामारीको प्रकोपको जोखिम कम गर्ने, क्षति घटाउने लगायतका पूर्वतयारीका उपायमा ध्यान दिनुपर्दछ । त्यसैले पूर्वतयारीकै कारण मानवीय क्षति हुनबाट जोगाई जनजीवनलाई सामान्यतर्फ लान यसले ठूलो भूमिका खेल्न सक्दछ । विपद्को पूर्व तयारीका लागि सामुदायिक रेडियोहरूले निम्न कार्यहरू गर्न सक्छन् ।
- महामारीका बेला संक्रमण फैलिन नदिन अपनाउनु पर्ने सावधानीह”
- कोष व्यवस्थापन तथा अन्न सङ्कलनमा सहयोग पुग्ने सूचना प्रसारण
- उद्धार तथा राहत सामग्री सङ्कलनका लागि समुदायमा सचेतनामूलक कार्यक्रम उत्पादन
- पूर्वसूचना प्रणालीको स्थापनामा सहकार्य
- दक्ष जनशक्ति उत्पादन तथा व्यवस्थापनका लागि सहयोग पुग्ने खालका कार्यक्रम उत्पादन
- विपद् सम्बन्धी सावधानीमूलक कार्यक्रम उत्पादन तथा प्रसारण
- स्थानीयस्तरमा कार्यरत संघसंस्थाहरूसँग कार्यक्रम निर्माणमा समन्वय र सहकार्य
- सुरक्षित बासस्थानको पहिचान र आवश्यक सामग्री व्यवस्था गर्ने सम्बन्धी कार्यक्रम प्रसारण
न्यूनीकरण
जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पर्याप्त लगानी र चासो नदिनु र जनतामा पनि जनचेतना नहुँदा विभिन्न खालका विपद्का कारण आर्थिक तथा मानवीय क्षति बढिरहेको छ । विपद् व्यवस्थापनका विज्ञहरू पूर्वतयारी र जोखिम न्यूनीकरणमा लगानी गरिएमा त्यसको प्रतिफल उच्च हुने बताउँछन् । त्यतिमात्र होइन विभिन्न अध्ययनले के पनि देखाएका छन् भने विपद् पूर्वतयारी तथा प्रकोप सजगतामा जोड दिने हो भने विपद्बाट हुने मानवीय क्षति ९०% ले घटाउन सकिन्छ । विपद्को घटनापछि उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा लाग्ने खर्च पूर्वतयारीमा गर्नुपर्ने खर्चभन्दा निकै धेरै हुन्छ अर्थात् पूर्वतयारी तथा जोखिम न्यूनीकरणमा लगानी गरियो भने विपद्बाट हुने ठूलो क्षति रोक्न सकिन्छ ।
नेपालमा अहिले प्रसारणमा रहेको सामुदायिक रेडियोहरूमार्फत पनि यस खालको सूचना प्रवाहका लागि लगानी गर्न आवश्यक छ । त्यसरी लगानी गर्न सकेमा विपद्मा रेडियोको भूमिका थप प्रभावकारी हुन सक्दछ । प्रकोपका विषयमा जानकारी, विपद्को जोखिम न्यूनीकरणकोे उपाय, विपद् आइहालेमा त्यसबाट कमभन्दा कम क्षति पुग्ने अवस्थाको सिर्जना गर्ने तथा विपद्पछिको अवस्थामा हुने राहत र उद्धारका कामलाई प्रभावकारी बनाउने विषयमा वस्तुगत ज्ञान तथा सीप प्रदान गर्ने खालका सूचना प्रवाह गर्न सकेमा विपद्लाई न्यूनीकरण गर्न टेवा पुग्ने देखिन्छ ।
उद्धार
नेपालमा विभिन्न प्रकारका प्रकोप वा विपद्का कारण बर्षेनी एक अर्ब रुपयाँभन्दा बढी क्षति भइरहेको छ र राहत, उद्धार, पुनस्र्थापनाजस्ता क्रियाकलापमा त्योभन्दा पनि ठूलो धनराशी खर्च भइरहेको छ । त्यसैले विपद्पछिको अवस्थामा हुने राहत र उद्धारका कामलाई प्रभावकारी बनाउने विषयमा वस्तुगत ज्ञान तथा सीप प्रदान आवश्यक छ । किनभने समुदायमा आधारित प्रकोप व्यवस्थापनले मात्र प्राकृतिक तथा मानवजन्य विपत्तिको परिमाण तथा क्षति घटाउन सम्भव हुन्छ । त्यसमा पनि प्रकोप व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि सामुदायिक रेडियोहरूलाई धेरैभन्दा धेरै प्रयोग गर्ने कुरामा ध्यान दिन पनि जरुरी छ ।
राहत
विपद्को कारणले अकस्मात् जनजीवन अस्तव्यस्त भई मानिसहरूले धेरै दुःख पाउँछन् । त्यसको फलस्वरुप प्रभावित मानिसहरूलाई सुरक्षा, औषधी उपचार, खाना, लुगाफाटो, आवाज तथा सामाजिक सेवा उपलब्ध गराउनु पर्दछ । राहतको क्रममा आपतकालीन बासस्थानको व्यवस्था, आकस्मिक स्वास्थ्यसेवा, खाना, खानेपानी तथा सरसफाइ तथा परिवारको पुनर्मिलन जस्ता कुरा आवश्यक हुन्छन् । मानिस गाँस, बास, पानी र जीवन धान्ने अन्य सामग्रीको अभावमा छट्पटाइरहेको अवस्थामा विपद्को शीघ्र सम्बोधन वा तत्काल राहतको ठूलो महत्व हुन्छ । जसले थप क्षति हुनबाट जोगाई जनजीवनलाई सामान्यीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ । विपद्बाट क्षति र थप पीडा हुनबाट जोगाउने उद्देश्यले यस किसिमको कार्य गर्न आवश्यक छ । जनतासम्म सूचनाको पहुँच पु¥याउने कार्यमा रेडियोलाई व्यापक किसिमले प्रयोग गर्न सक्नुपर्दछ ।
पुरनस्थापना
विपद्बाट प्रभावित व्यक्ति, समुदाय वा क्षेत्रलाई विपद् आउनु अघिको झै सामान्य अवस्थामा ल्याउनका लागि गरिने गतिविधिहरूलाई विपद् पश्चातको राहत तथा पुनःस्थापना पनि भन्न सकिन्छ । यस चरणको प्रभावकारिताका निम्ति समाजको बृहत्तर राजनीतिक, सामाजिक र आर्थिक विश्लेषणको आवश्यकता पनि पर्छ । समाजको राजनीतिक, सामाजिक र आर्थिक पक्षको विश्लेषणबिना गरिने काम प्रभावकारी नहुँदा यसले थप संकट पनि निम्त्याउन सक्छ । विपद्का मुख्य कारणहरू पत्ता लगाउन र अल्पकालीन तथा दीर्घकालीन आवश्यकताको पहिचान गर्नका लागि यस्ता अध्ययन र विश्लेषणले मद्दत गर्दछ । यसका लागि राष्ट्रिय क्षमता विकास अनिवार्य सर्त हो ।
विपद्को पुनस्र्थापनाको कुरा गर्दा विपद्बाट अस्तव्यस्त जनजीवनलाई पहिलेको स्थितिभन्दा एक कदम अगाडि बढाइ भविष्यमा पर्न सक्ने सम्भावित प्रकोपबाट बच्न सुरक्षित रहन र चेतना बढाउने काम गर्न आवश्यक छ । त्यसैले विपद् व्यवस्थापनलाई खोजी, उद्धार र राहतको काम मात्र हो भनेर बुझ्नु हुँदैन । विपद् अघिको व्यवस्थापनको बारेमा सरोकारवाला निकाय क्रियाशिल बन्नुपर्छ ।
सरकारी निकाय तथा विकास कार्यमा संलग्न गैरसरकारी सङ्घसंस्था र सञ्चारमाध्यममार्फत आममानिसहरूलाई विपद्को जोखिमको अवस्था के कस्तो रहेको छ भन्ने विषयमा समीक्षा गरी विपद्अघि नै समुदायलाई पूर्व सूचना प्रणालीको विकास गरी समुदायमा विपद् अघि र पछिको अवस्थाबारेमा अहिलेदेखि नै अभ्यास गराउन जुट्नुपर्दछ । स्थानीय बासिन्दामा नै पुगेर विपद् अघि र पछि खेल्नुपर्ने भूमिकाको बारेमा जानाकारी दिने कार्यलाई प्राथमिकतामा राख्न सक्नुपर्दछ । घट्ना हुनुभन्दा पहिले नै प्रकोपबाट हुनसक्ने हानी नोक्सानीबारे समुदायलाई जानकारी गराई जोखिमबाट बँच्न र बचाउनका लागि समुदायलाई विपद् सम्बन्धी विभिन्न ज्ञान, प्रकोप जोखिमको अनुगमनबारेमा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्नुपर्दछ ।
निष्कर्ष
विपद् स्वभावैले अप्रत्याशित, अकल्पनीय र बहुआयामिक असर पार्ने खालको हुन्छ । नेपाल प्रकोपको हिसाबले बहुप्रकोपयुक्त मुलुकको रुपमा रहेकोले यसबाट बच्न र यसलाई कसरी सामना गर्ने भन्ने विषयमा राज्य र समुदाय स्वयं नै सचेत हुन आवश्यक छ । विपद्का बारेमा बुझियो, त्यसको प्रकृति, प्रकोपजन्य सुरक्षा, न्यूनीकरण लगायतका विषयमा जानियो भने त्यसबाट आफू बच्न तथा अरूलाई बचाउनुका साथै आर्थिक तथा भौतिक क्षति समेत घटाउन सकिन्छ । त्यसैले विपद्लाई पूर्ण रूपमा रोक्न नसके पनि पूर्वतयारी र सावधानी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सकिन्छ ।
त्यसैले सामुदायिक रेडियोले नेपालमा मात्र होइन विश्वमा नै स्थानीय तहमा महत्वपूर्ण भूमिका खेलिरहेको छन् । नेपालको सन्दर्भमा पनि ग्रामीण क्षेत्रका मानिसहरूका लागि सामुदायिक रेडियो नै भरपर्दो सूचनाको माध्यम बनेका छन् । सामुदायिक रेडियो समुदायलाई नै लक्षित गरी स्थापना गरिने भएकोले अहिलेपनि यसको प्रभावकारिता र विश्वसनीयता घटेको छैन । रेडियोले प्रभावकारी ढंगाले सूचना प्रवाह गर्न सकेमा विपद्मा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । त्यसैले विपद्बाट प्रभावितहरूको महत्वपूर्ण र सामान्य सूचनाको स्रोत भनेको स्थानीय मिडिया नै हुन् । त्यसैले विपद्का बेला रेडियो प्रसारणमाध्यम नै भरपर्दो साथी मात्र होइन अखबार, टेलिभिजन जस्ता सञ्चारमाध्यमको तुलनामा समुदायको अत्यावश्यक र सहज साधन बनेको छ ।
रेडियोले विपद्का बेलामा व्यक्तिगत, पारिवारीक, सामुदायिक तयारीका साथै नयाँ प्रविधिका बारेमा जानकारी गराएर पनि समुदायमा विपद्सम्बन्धी चेतना जगाउन सक्दछ । विभिन्न प्रकारका विपद्बाट जोगिनका लागि पनि सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्ने मात्र होइन राज्य र समुदायको बीचमा पुलको काम समेत गर्दछ । पूर्वतयारी वा पूर्वसतर्कता अपनाइरहेको अवस्थामा विपद् आइलागेमा त्यसको शीघ्र व्यवस्थापन कसरी गर्ने र मानिसले गाँस, बास, पानी र जीवन धान्ने अन्य सामग्रीको अभावमा छट्पटाइरहेको अवस्थामा विपद्को शीघ्र सम्बोधन वा तत्काल राहतका लागि सम्बन्धित निकायलाई घचघच्याउने काम सामुदायिक रेडियोहरूले गर्न सक्दछन् । अहिले पनि कोरोना भाइरसको बारेमा सामाजिक सञ्जालहरूमा नकारात्मक हल्ला फैलाएर जनतालाई त्रसित बनाइ रहेको अवस्थामा रेडियो नै सबैका लागि भरपर्दो माध्यम बनेका छन् । विपद्को बेलामा राज्यको उपस्थितिको महशुस समेत रेडियोले नै गराइ रहेका छन् ।
यति हुँदाहुँदै पनि नेपालको मिडिया आफैं भने विपद्मा कसरी सूचना प्रवाह गर्ने भन्ने विषयमा आवश्यक ज्ञान तथा सीपको अभावमा समेत रहेको पाइन्छ । विपद्को प्रभावकारी ढंगले सामाना गर्न रेडियोहरूले आफ्नो स्थानबाट आवश्यक भूमिका खेलिरहेको अवस्थामा रेडियोको क्षमता विकासमा पनि राज्यले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्दछ । त्यसो गर्न सकिएमा नेपालमा प्रसारित सामुदायिक रेडियोहरूले थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्नेछन् । जसका लागि सूचना शक्ति हो भन्ने कुरालाई सामुदायिक रेडियो सञ्चालकहरूले आत्मसाथ गर्न सक्नुपर्दछ । व्यापरिक रेडियोको तुलनामा सामुदायिक रेडियोको सामाजिक पुँजी बढी हुने भएकोले सामुदायिक रेडियोहरू केही सिर्जनशील भएमा यो आफ्नै समाजका आधारमा दिगो हुनसक्छ । विपद्मा मात्र होइन जनताको अन्य दुःखसुखमा पनि सामुदायिक रेडियो भरपर्दो माध्यम हुन सक्नुपर्दछ । अनि मात्र सामुदायिक रेडियोहरूले आम नेपालीहरूलाई सूचनाको उज्यालो संसारतिर डोर्याउन सक्नेछन् ।