चुरोटको गोल्टिन र बट्टा दुबै पाएँ । घरको हाल सुन्दा बेफिक्री छु । आमा, हिजो बि.एल. शर्मा आएको कुरा लेख्दालेख्दै छोडेको थिएँ । हुन त शर्मा जुन कुरा सोध्न आएको हो, त्यो कहाँबाट सोधिएको भन्ने मलाई थाहा छ । त्यसैले त्यसलाई जुन जवाफ दिनुभएको हो, त्यो ठीक छ भनेर मैले हिजै लेखेको हुँ । आमा, म (भारतीय) राजदूत सि.पि.एन. सिन्हाको आह्वानमा कार्यक्षेत्रमा उत्रेर जेल आएको हैन; न, सि.पि.एन. सिन्हाले मेरो घर र तपाईहरूको हेरबिचार गर्छन् भन्ने भरले म जेल आएको हुँ । हामी ज्यालादारी हैनौँ । हामी आफ्नो मातृभूमिको आर्तनादले गर्दा, आफ्ना प्यारा राजासँगको विछोडले गर्दा कार्यक्षेत्रमा कुदेका हौँ । त्यसैले बि.एल. शर्मा पुनः आए भने ‘यो ज्याला कुनै विदेशीलाई लगेर दिनू’ भन्दिनुहोला ।
आमा, हामी त जेलमा बन्दी भैहाल्यौँ तर बि.एल. शर्माको, हजुरले लेखेको, कुराले गर्दा हाम्रो जेल अवाई (बसाइ) व्यर्थ हुन्छ कि जस्तो लाग्न थालेको छ । किनकि क्रान्तिको इतिहास नै पल्टा खाने हो कि ? नेपाली कांग्रेसले सम्पूर्ण संघर्ष नै भारतकै धापमा गरेको हो कि भन्ने नाना किसिमका भावनाहरू एकपछि अर्को दिमागमा खेल्न थालिरहेका छन् । जुन, सत्य निस्केमा भोलि हामी नेपालीको योभन्दा ठूलो दूर्दशा हुन थाल्नेछ । त्यसैले यसको जड आजैदेखि त्यहाँ, बाहिर बस्ने जो आफूलाई नेपाली हुँ भन्ने गर्व गर्छन्, हरू सबै मिलेर काट्ने प्रयासमा लाग्नु परेको छ । यो कुरा त्यहाँ आमासँग भेट्न आउने मेरा साथीहरूलाई खुल्लमखुल्ला भनिदिनुहोला ।
अब, चीसो छिँडीको बयानतर्फ लागूँ — गएको राती जुन बयान एउटा कैदीको मुखबाट सुनेँ, त्यो त सम्पूर्ण लेखिहालेँ । त्यसपछि मसँगका साथीहरूमा दुई जना यति तर्से कि मलाई तिनीहरूको सातो बोलाउनुपर्छ कि जस्तो लाग्न थालेको छ तर अर्का दुई जवानमा दुबै जना मेरा साथी छन् र मर्नै यदि पर्ने हो भने यो छिँडीमा नमर्ने भन्छन् । यसैले आज यस छिँडीबारे अन्तिम निर्णय गर्ने हामीले अठोट गरेका छौँ । या त भोलि हामीलाई ‘धन सवाल’ लाग्ने छ या हामी यो छिँडी छोडेर अन्त सर्ने भएका छौँ । यसैले आजको पत्र यहीँ बन्द गर्दछु । अन्य, यहाँ जे हुसुन्छ, त्यो पूर्ण विवरण भोलि मालसामान पु¥याउन आउनेको हात पु¥याउने कोशिस गर्नेछु ।
(यसरी वरिष्ठ पत्रकार, मणिराज उपाध्याय पत्रकारिता क्षेत्रमा आउनुपहिले राणा विरोधी अभियानमा लागेर जेल परेको तीन महिना पुग्दा नपुग्दै देशमा २००७ साल फागुन ०७ गते प्रजातन्त्रको घोषणा भएपछि अरु बन्दीसँगै रिहा हुनुभयो । यो डायरी यहीँनिर समाप्त हुँदा एउटा प्रश्न भने अनुत्तरित नै रह्यो — त्यो चीसो छिँडीबाट मणिराज उपाध्याय आफ्ना साथीहरू सहित घाम देख्न पाउने ठाउँमा सारिनु भयो कि उहाँहरूलाई धन सवाल लाग्यो ? या लगत्तै प्रजातन्त्र आएका कारण सीँधै रिहा हुनुभयो? यो डायरी हामीले प्रजातन्त्र दिवसको अवसर पारेर गएको फागुन ०७ देखि श्रृङ्खलाबद्ध रूपमा हरेक बुधबार (सात खण्डमा ) प्रकाशन गरी हाम्रा प्रबुद्ध पाठक वर्गसम्म पुर्याउने प्रयत्न ग¥यौँ । अन्त्यमा, हामी स्व. मणिराज उपाध्याय लगायत प्रजातन्त्र प्राप्तिका लागि अथक संघर्ष गरेका एवं ज्यान आहुति गरेका सबै योद्धाहरूमा श्रद्धासुमन अर्पण गर्दै यो जेल डायरीको लिखत् प्रकाशन गर्ने अवसर दिनुभएकोमा श्री उपाध्यायका सुपुत्र, वरिष्ठ पत्रकार एवं दैनिक समाजका व्यवस्थापक श्री ब्रजेशराज शर्मा प्याकुरेलप्रति आभार प्रकट गर्दछौँ । यो ऐतिहासिक डायरी रुचाइदिनुभएकोमा हाम्रा प्रिय पाठकवर्गमा धन्यवाद —सं.)