निकै महिना अघि उपहार स्वरूप एउटा पुस्तक प्राप्त भएको थियो । पढ्न लेख्न पटक्कै जाँगर नभएको अवस्थामा प्राप्त उत्तम उपहार कोरोना भइरसका कारणले ‘लकडाउन’ मा बस्न बाध्य हुँदा पढ्ने मौका मिल्यो । बाहिर गातामा लेखिएको थियो – ‘सङ्घर्ष’ सामाजिक उपन्यास । लेख्नु भएको थियो नेपालको पूर्वी पहाडी जिल्ला संखुवासभा मादीका साहित्यकार परशुराम दाहालले ।
म साहित्यकार होइन र समीक्षक वा पढैया पनि होइन । लेखकको आसय भने पुस्तकको बारेमा केही लेखिदिए हुन्थ्यो भन्ने नै थियो । दुर्गम जिल्ला संखुवासभाको मादीमा बसेर पुस्तक लेख्नु निकै जटिल काम हो । त्यसमा पनि हाम्रा साहित्यकारहरुले उपत्यका बाहिरकालाई साहित्यकार भनेर चिनाउन अझैं पनि अप्ठ्यारो मान्छन् । यो काठमाडौंमा कतिपय व्यक्तिको पुस्तक प्रकाशन भएकै दिन पुरस्कृत हुन लायक बनेको इतिहास पनि छ । यस्तै सोच्दै उपहार स्वरुप प्राप्त सङ्घर्ष पुस्तकको पाना पल्टाउन सुरु गरेँ ।
पुस्तकको प्राक्कथनमा डा. मधुसूदन लामिछानेले लेख्नु भएको रहेछ– “समाजमा आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, जातिय आदि दृष्टिकोणले तल परेका वा पारिएकाद्वारा अन्याय, अत्याचार, भ्रष्टाचार आदिको विरुद्धमा आवाज उठाउन र आफ्नो अस्तित्व जोगाई आत्मा सम्मानका साथ बाच्न गरिने लडाइँ नै सङ्घर्ष हो ।”
नारी सङ्घर्षलाई मुख्य विषयवस्तु बनाइएको उपन्यासको प्रमुख पात्रका रुपमा उपन्यासकारले चण्डिकादेवीलाई उभ्याउनु भएको छ । भोजपुरको दिङ्ला माइतबाट बेहुली बनेर ताप्लेजुङ पुगेकी चण्डिकादेवीले गृहस्थ जीवनको रस स्वादन गर्न नपाएको अवस्थादेखि सुख भोगको अवस्थासम्मको वर्णनमा उपन्यासले मन्त्रमुग्घ बनाउँदै र सङ्घर्षका अग्नी परिक्षाहरु पार गर्दै पाठकलाई चितवनको देवघाटसम्म डो¥याउँछ । चण्डिकादेवीको आत्मविश्वास, सङ्घर्षमय जीवनलाई सहज रुपमा स्वीकार गर्न सक्ने हिम्मत, लाहुरेको उपदेशात्मक सल्लाह, लाहुरेकी छोरी रिक्सा चालक शर्मिलाको स्वावलम्वीपन र डोल्माको पीडामा किताब पढ्दै जाँदा पाठकले आफैंलाई भुल्न पुग्छ ।
लेखकले प्रकृतिको सुन्दर बर्णन गरेर पुस्तकलाई सुललित, पठनीय र ओजपूणै बनाउने प्रयास गर्नुभएको छ । चण्डिकालाई लेखकले कवि, वक्ता, संगठक र प्रेरणाकी स्रोतका रुपमा उभ्याउँदै महिला बर्गमाथि भएका शोषण, दमन र उत्पीडन विरुद्धको आन्दोलनको नेतृत्व सुम्पनु भएको छ ।
उपन्यासका पात्रहरु प्राय सबै महिला छन् । चण्डिका, देवयानी, शीला, डोल्मा सबैले परिवार र समाजबाट प्रताडना भोगेको उपन्यासिक पृष्ठभूमी छ । उपन्यास पूर्णरुपले महिला बर्गका व्यथा र त्यसबाट मुक्तिका लागि गरिएको सङ्घर्षको सेरोफेरोमा रुपमलिएको छ । मानव वेचविखन विरुद्ध सङ्गठित आवाज बुलन्द गर्दै विभिन्न जिल्ला र भारतको दार्जेलिङसम्म चण्डिका पुगेकी छिन् । उनलाई लेखकले महिला मुक्तिकीदेवी बनाउन खोज्नु भएको छ ।
एक सय आठ पेजमा समेटिएको यो उपन्यास सबैले रुचाउने खालको छ । त्यसमा पनि महिला बर्गले विशेष पढ्नै पर्ने पुस्तकका रुपमा आएको छ । उपन्यासको मुल्य एक सय पचास रुपिया खासै धेरै होइन । संङ्घर्ष उपन्यास किनेर पढ्दा पैसा खेर गएको र समय वर्वाद भएको महशुस पाठकलाई हुने छैन ।