बन्दूकको गोली, ओलीको बोली, त्यो भन्दा चर्को सूर्यको बोली

फुटानी

हावाको सिरेटोसँगै हुइँकिएर आएको भुइँ कुइरोले हाम्रो भेडी गोठ भएको नागी एक पत्र छोपेर गयो । यस्तै बेलामा भेडाको पाठो घिस्याउन स्याल आई पुग्छन् । तल औलोतिर जस्तो हैन । यहाँ त एकैछिनमा अध्यारो एकैछिनमा उज्यालो हुन्छ नेकपामा जस्तो ।

‘ए वुढा, काठमाडौंमा त तमासा छ अरे’ भन्दै मेरी श्रीमती झुम्री आई पुगी ।

‘के तमासा !’ उत्सुक हुँदै मैले सोधें ।

प्रधानमन्त्रीले दोस्रो पटक किड्नी फेर्ने निर्णय गरेर अस्पताल गएपछि नेकपाका एक खाले नेता सारै खुशी भएका थिए अरे । ‘अब हाम्रो पालो आयो’ भनेर

उफ्रिदै थिए अरे ।

कस्तो कुरा गछ्र्यौ झुम्री ! आफ्नो नेता विरामी हुदा कोही खुशी हुन्छ । वाइयात कुरो !

तिमी पत्याउँदैनौ ! नपत्याए नपत्याउ । म त माओवादीमा बटालियन कमाण्डर भएर छिडेकी मान्छे, सपै जान्दछु ।

नाप्पियो ! जानेको भए माओवादी नै हुने थिइनौ । भेडी गोठाल्नी, पनि बन्नु पर्ने थिएन । सांसद बनेर तर् मार्ने ठाउँमा पुग्ने थियौ । अँ… ! अनि काठमाण्डौमा अरु के के भयो अरे ।

अरु ! अरु के हुन्छ, पार्टी भित्रका प्रतिद्वन्दी नेता जति सारै रमाइरहेको बखत ‘प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल’ भन्ने समाचार आएछ । त्यसपछि त ‘हिस्स बुढी हरियो दाँत’ भने जस्तै भयो अरे । मैले अहिले अनलाइनहरु हेरेको, बाबै ! कस्ता कस्ता लेखेका ।

‘कस्ता लेखेछन् झुम्री !’ कम्तो बाठी छैन मेरी झुम्री ! सप्पै जान्दछे ।

‘सुन्छौ !’ भन्दै झुम्री बोल्न थाली ।
अब प्रधानमन्त्री डिस्चार्ज हुदैनन् भन्दै परक्क बटारिएर नाच्दै थिए छन् त्यसै बेला एउटाले ‘भोलि प्रधानमन्त्री डिस्चार्ज हुने अरे’ भन्ने खबर पु¥याए छ । त्यो सुने पछि खुशीले उफ्रिदै गरेको नेतो सात दिन ओछ्यान परे अरे ।

अनि हाम्रो वामदेव काम्रेडको खबर पनि छ ? हेरेर भन त !

वामदेव काम्रेड एक दिन कोरोना भाइरससंग डराउँदै पहेंलो माक्स लगाएर अस्पताल पुग्नु भएछ । प्रधानमन्त्रीलाई भेट्न भनेर । भेट्न नपाएपछि ‘स्वास्थ्य लाभ कामना पुस्तिका’ खोज्नु भयो । त्यो पनि पाउनु भएन । त्यसपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापातिर हेर्दै ‘बन्दूकको गोली, ओलीको बोली’ ‘त्यो भन्दा चर्को सूर्यको बोली’ भनेर फर्किनु भएछ ।

‘बन्दूकको गोली, ओलीको बोली, त्यो भन्दा चर्को सूर्यको बोली,’ भनेको चैं के हो नि झुम्री !

तिमी केही पनि बुझ्दैनौ क्या बुढा । सूर्य थापा भनेको नचाहिने कुराको पछि लाग्नेहर्लाई चोटिलो र तर्क पूर्ण ढंगले भित्तैमा पुग्ने गरी शब्दको कोर्रा लगाउने व्यक्ति हो क्या । हाम्रा प्रचन्न एक पटक अदुवा बटारिए जस्तो परक्क बटारिएका थिए, सूर्यले शब्दको पेचा बनाएर निचोरे पछि जोडले छटपटाए । पछि युवासंघको नेतोले सूर्यलाई धम्की समेत दिएको थियो । सूर्य थापाले शब्दको कोर्राले छाला काढे पछि हाम्रा पुराना काम्रेडहरु भुसतिघ्रे मुङग्रो उचाल्छन् । बिचरा अब त्यो मुङ्ग्रोले के गर्नु डेट ‘स्पायर’ भइसक्यो । यता अहिलेको जमानामा पनि पूर्व माओवादी हर्ले गिटी, वालुवा, ढुङ्गा, रोडा, ठेक्का पट्टा, काठ कटानी, फडानी लुटपाट गर्न छोडेका छैनन् । यस्तालाई के भन्नु । त्यस्तै गरी वामदेव काम्रेडलाई खपिनसक्नु तरिकाले हाम्राहर्ले उचाले पछि सूर्यले यथार्थ बोध गराउँदै सत्य ओकल्दिए । हाम्रा काम्रेडहर्लाई त्यहाँ पनि रिङगटा लाग्यो । हो, त्यही भर अस्पतालमा ‘बन्दूकको गोली, ओलीको बोली त्यो भन्दा चर्को सूर्यको बोली,’ भनेर वामदेवले सूर्य थापालाई भनेको हो ।

ए…! अहिले बुझें । खरो बोल्ने कडा स्वभावका रा’न । अनि अहिले प्रधानमन्त्रीलाई चाहिँ कस्तो छरे !

कस्तो हुन्छ ! सन्चो भएछ र त हाम्रोहर्लाई ज्वोरोले गाँजेछ । खुमलटार र भैंसेपाटी तिर बटारिएर, मुस्लिएर चलेको हावा प्रधानमन्त्रीलाई निको भएपछि रोकियो अरे । अहिले नेकपाका केही नेताको अनुहारमा ‘कालो निलो ! भन्ने बादले रोगले लपेटेर विरुप बनाएको छ रे ।

लौन नि ! त्यसो भए त ती कालो निलो रोगीहर्ले प्रधानमन्त्रीलाई घेरामा पार्छन् कि क्या हो ?

आ बुढा ! वनमाराले पिपलको रुख ढाल्छ भन्नु, झिङ्गाको सरापले डिङगा मर्छ भन्नु र हाम्रो उ तल बगेको कर्णाली गाढ उभो फर्कन्छ भन्नु उस्तै हो । स्यालले बाघको झापट नपाउनजेल जिस्क्याँउँछ ।

होइन हौ झुम्री कहाँबाट यस्तो कुरा जानेकी हँ ! तिमीले ?

Facebook Comments
Comments (0)
Add Comment