३.
आमा, मन बडा खुलदुल भइरहेछ । आशीर्वाद पत्र यहाँले पठाउनु नै भएन कि पठाइएको पनि बाहिर पक्डियो, केही जान्न सकेको छैन । पत्र नपाउँदा नाना शङ्का लागिरहेछ र यो पनि पाउमा पुग्छ, पुग्दैन, केही निश्चय गर्न सकेको छैन ।
हिजोको पत्रमा लेख्न बिर्सेछु, लालटिन बाहिरै छ । खाना लिई आउने मानिसलाई लालटिन लिएर आउनु भनी अह्राउनुहवस् ।
अबलाई चामल घरबाट पठाउनु पर्दैन । यहाँ जुन चामल दिन्छ, त्यसलाई फलेर खाने काइदा हामीलाई यहाँका कैदीहरूले सिकाइदिए । आजदेखि हामी दिनभर पालैसँग चामल फल्न लागेका छौँ । ढिकीमा भन्नुहोला, हैन । आफ्नो आफ्नो पानीखाने गिलासमा चार मुठी जति चामल हाल्छौँ र दाउराले छ्याकछ्याक पर्दछौँ । यसो गरी निफन्दा डेढ माना चामलको एक माना बस्न आउँदो रहेछ । चामल सेतो भइहाल्छ र खान लायक हुँदो रहेछ । दिनभर कुनै काम छैन । अतः दिनहुँ हामीले यसै गर्ने निश्चय गरेका छौँ । एक माना भए हामीलाई दुई छाक मजासँग पुगिहाल्छ । बीचबीचमा दाल र तरकारी पठाइदिनुहोला । नून पनि पठाउन पर्दैन । यहाँकै नून खेर गइराखेको छ ।
भिजेका सुकुल र ओड्ने–ओछ्याउनेहरू सुकाउने विचारले हामीले कुरुवाहरूसँग कुरा ग¥यौँ । यसमा उनीहरूले भाइनाइकेसँग भन्नुहोस्, हामी ता उनीहरूको अर्डर नपाई केही गर्न सक्तैनौँ भन्ने जवाफ दिए । उनीहरूद्वारा नै भाइनाइकेलाई बोलाई हामीले आफ्नो दुर्गति देखायौँ । उनले पनि मूल नाइकेको आदेश नपाई आफू केही गर्न नसक्ने कुरा बताए । अनि हामीले उनीद्वारा मूलनाइकेलाई बोलायौँ । केही क्षणपछि मूलनाइके आए । हामीले मूल नइके यिनै होलान् भन्ने अनुमान पनि गर्न सकेनौँ । कारण, यिनी ता उही अस्ति आएका बाबु साहेब पो त थिए । तर जब कुरुवाहरूले हाम्रो कुरा उनलाई सुनाउन सुरु गरे, अनि हामीले मूल नाइके यिनी रहेछन् भन्ने ठह¥यायौँ र आफ्नो बोरा–बिस्तरा देखाई यस छिँडीबाट सारिदेऊ भनी भन्यौँ । (क्रमशः)