विसङ्गति विरूद्धको सशक्त प्रहार ‘चट्याङ गीता-६’

व्यङ्ग्य कविता सँगालो

काठमाडौँ । फागुन १४ गतेका दिन चट्याङमास्टरको जन्म मिति पारेर यहाँ “चट्याङ गीता-६” बिमोचन गरियो । सिस्नुपानी नेपालले आयोजना गरेको कार्यक्रममा भैरव रिसाल प्रमुख अतिथि हुनुहुन्थ्यो ।

गीतकार यादव खरेल लगायत सर्जकहरुको बाक्लो उपस्थिति रहेको सो समारोहमा किताबको समीक्षा प्राध्यापक राजेन्द्र सुबेदीले गर्नुभएको थियो ।

चट्याङमास्टरको व्यक्तित्वबारे हास्यब्यङ्ग्यकार नरनाथ लुइटेलले प्रकाश पार्नुभयो भने प्राज्ञ धीरेन्द्र प्रेमर्षिले चट्याङमास्टरका दुईवटा गीत गाउनुभयो । सरोज घिमिरे द्वारा सञ्चालित उक्त कार्यक्रममा करिब ७० सर्जकहरूको उपस्थिति रहेको थियो भने चट्याङमास्टर लगायत सिस्नुपानिका अध्यक्ष लक्ष्मण गाम्नागे, चक्र दवाडी, कार्यक्रमका लागि हेटौँडाबाट आउनुभएका आर. सी. रिजालले प्रकाशित कृतिका कविताहरू पाठ गर्नुभएको थियो। करीब २ घण्टा चलेको उक्त कर्यक्रममा उपस्थित सबैको सामुहिक हाँसोले उद्घाटन स्थल बेलाबेला हाँसोमय भएको थियो।

गाम्नागे उवाचः

हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व चट्याङमास्टर र उहाँकव कृति चट्याङगीता -६  का बारेमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले यस्तो लेख्नुभएको छ —

“नेपाली साहित्यमा चट्याङ मास्टरको योगदान अतुलनीय छ । चार दशकभन्दा लामो समयदेखि व्यङ्ग्य साहित्यमा कृयाशील उहाँका करिब एक दर्जन हास्यव्यङ्ग्यका कृतिहरू प्रकाशित भइसकेका छन् । अत्यन्त पेचिला व्यङ्ग्य कविता र निवन्धहरू सिर्जना गर्ने व्यङ्ग्यकार चट्याङ मास्टर सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष र हाल यसका सल्लाहकार हुनुहुन्छ । सिस्नुपानी नेपाललाई राष्ट्रव्यापि रुपमा परिचित गराउने गरी यसका कृयाकलापहरूको डिजाइन गर्ने र त्यसलाई उत्तिकै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने काममा उहाँले पु¥याउनुभएको योगदानलाई सिस्नुपानी नेपालले कहिल्यै बिर्सने छैन ।

 

नौला र प्रभावशाली कृयाकलापहरू गर्न रुचाउने उहाँले ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्न थालेपछि सिस्नुपानीको सकृय जीवनबाट अवकाश लिनुभएको र नयाँ काममा पनि उत्तिकै सफल भएको इतिहास साक्षी छ ।

खुशीको कुरा पेशागत हिसावले उहाँ चट्याङ मास्टरको परिचय छाडेर कृष्णमुरारि गौतम भए पनि लेखनका हिसावले उहाँ सदा चड्याङ मास्टर नै रहनुभयो । नयाँ काम शुरु गरेका केही वर्ष हास्यव्यङ्ग्य लेखनमा कम समय दिएपनि पछिल्लो समय उहाँ निरन्तर व्यङ्ग्य कविताहरू लेखिरहनुभएको छ । व्यङ्ग्य कविता बाहेक गीत, बुढ्यौली साहित्य, बाल साहित्य र भक्ति साहित्यमा पनि उहाँको सकृयता देखिन्छ । यी विविध क्षेत्रका सयौंँ कविताहरूको बृहत् ठेलीबाट मूलतः व्यङ्ग्य कविता मात्रै छानेर सिस्नुपानी नेपालले यो पुस्तक प्रकाशन गरेको हो ।

सामाजिक, सांस्कृतिक विकृति विसंगतिहरू, मान्छेका वैयक्तिक कमि कमजोरी, शिक्षा, प्रशासन, विकास आयोजनादेखि राजनीतिक विकृति र विसंगतिहरूमाथि अत्यन्त सटिक व्यङ्ग्य प्रहार गर्न खप्पिस चट्याङ मास्टरका यी मास्टरपिस कविताहरू तपाईं पाठकलाई मनपर्ने छ भन्ने विश्वास गरिएको छ ।

पुस्तक प्रकाशनका लागि अवसर प्रदान गर्ने कवि चट्याङमास्टरप्रति आभारी छौं । भाषा शुद्धाशुद्धि तथा सेटिङ कर्मका लागि दुर्गा पौडल र कभर डिजाइनका लागि टाइम्स क्रिएशनलाई विशेष धन्यवाद । पुस्तक पढिदिने तपाईँ पाठकप्रति आभार । बजार व्यवस्थापनको जिम्मा लिइदिने मन्जरी प्रकाशनलाई धन्यवाद ।”

Facebook Comments
Comments (0)
Add Comment