(दैनिक समाजका प्रधान सम्पादक वरिष्ठ पत्रकार स्वर्गीय मणिराज उपाध्याय बिक्रम संवत् २००३ सालदेखि राजनीतिमा प्रवेश गर्नुभयो । उहाँको राजनीतिक संलग्नता आफ्ना सहपाठी गोविन्दप्रसाद (जो वि.सं. १९९७ मा नै पाल्पा जेलमा पर्नुभएको थियो) र शिक्षक दमनराज लगायतका व्यक्तिहरूको सम्पर्कबाट अन्जानमै राजनीतिमा हाम फाल्नुभएको थियो । २००४ सालमा राणा विरोधी आन्दोलन तीब्र गतिमा अगाडि बढेको थियो । त्यही साल प्रजापञ्चायत भन्ने पार्टीको गठन भएपछि उहाँ सक्रिय राजनीतिमा लाग्नुभयो । त्यही क्रममा २००७ सालको मंसीरमा स्वयम्भूका देवतालाई १२ वर्षे सम्यक पूजाका क्रममा भूखेल लैजान रोक्नका लागि पहल गर्न उहाँलाई पार्टीले खटाएको थियो । प्रत्येक १२ वर्षमा र नयाँ राजा घोषणा हुँदा त्यहाँका देवता भूखेलमा सारेर देवता र राजाको पूजा गर्ने चलन रहेछ । राजा त्रिभुवनलाई पदच्यूत गरी नाबालक नाति ज्ञानेन्द्रलाई राणाले भर्खरै मात्रै राजा घोषणा गरेका थिए । तर आम नेपाली जनता त्रिभुवनलाई नै राजा मान्थे र ज्ञानेन्द्रलाई राजा स्वीकार्ने पक्षमा थिएनन् । त्यो सम्यक पूजामा गोडा धोएर नयाँ राजाको पूजा गराउन सके राजा ज्ञानेन्द्रले जनस्तरबाट सांस्कृतिक हिसाबले पनि मान्यता पाएको ठहरिने थियो भनेर राणाले गुभाजुहरूलाई देवता सार्न दवाव दिएको अवस्था रहेछ । उता जनमानसमा चाहिँ स्वयम्भूका देवतालाई भूखेल लैजानबाट रोक्न सके सम्यक पूजामा बाधा पुग्नुका साथै नयाँ राजाको पूजा हुने थिएन र नाबालक राजालाई जनस्तरबाट मान्यता दिलाउने राणा शाहीको आकांक्षा पनि पूरा हुन पाउने थिएन भन्ने रहेछ । त्यही क्रममा गुभाजुहरूलाई राणा विरोधी आन्देलन र उनीहरूको चालबारे बुझाएर स्वयम्भूका देवता भूखेल नलैजान मनाइवरि स्वयम्भूबाट नयाँ सडकस्थित घर फर्किने क्रममा विष्णुमति किनारमा मणिराज उपाध्यायलाई पुलिसले घेरा हालेर पक्राउ ग¥यो । एक दिन थानामा राखेर भद्रगोल जेल चलान गरियो । अत्यन्तै कडा सुरक्षाबीच उहाँले बन्दी अवस्थामै बहादुरीका साथ इन्क्लाबका नारा लगाउनुभयो । जेलमा रहँदा मणिराज उपाध्यायले आफ्नी आमालाई लेखेका चिट्ठीको सँगालो जम्मा गरी बन्दीको चिट्ठी शीर्षकमा डायरी तयार गर्नुभएको रहेछ । हातले लेखिएको पुरानो त्यो डायरी उपाध्यायका सुपुत्र, दैनिक समाजका व्यवस्थापक वरिष्ठ पत्रकार ब्रजेशराज शर्मा प्याकुरेलको सौजन्यबाट परिसंवाद् डट कमलाई प्राप्त हुन पुगेको छ । यो दुर्लभ डायरी उपलब्ध गराइदिनुभएकोमा हामी वरिष्ठ पत्रकार शर्माप्रति आभारी छौँ । यो डायरी आज फागुन ७, प्रजातन्त्र दिवसकै अवसर पारी हामीले क्रमशः प्रकाशन गर्दै जाने निधो गरेका छौँ । हामीलाई विश्वास छ, यो दुर्लभ डायरी हाम्रा विद्वान पाठकहरूले रुचाउनु हुने नै छ । — सं.)
श्री पुजनीय माताजीमा
मेरो दिनप्रतिदिनको कोटीकोटी दण्डवत ।
आमा, हुन ता मलाई यो विश्वास छैन कि म यो पत्र तपाईको पाऊसम्म पु¥याउन सकूँला भन्ने, ता पनि हृदय मान्दैन । निन्द्रा पनि लागेको छैन । मलाई कुर्न राखिएका कुरुवाहरू पनि घुर्न थालेका हुनाले यो पत्र लेख्न थालेको हुँ । मलाई आशिर्वाद दिनुहोस, कुनै सुरतबाट म यसलाई पाऊसम्म पु¥याउन सफल होऊँ ।
हिजो दिनको दुई बजे मलाई पक्रेर थानामा लगी थुनेको हाल र मेरो उपर सरकारले चलेको चाल ता बिहानै भेट्न आउनुभएको दाजुको हात कहेकै थिएँ । मलाई भेटेर दाजु फर्केको केही बेरपछि म साथीहरूले भात पकाइसकी खान बोलाएकाले भात खान भनेर बसेको थिएँ । यत्तिकैमा बाहिर कुनै राज कर्मचारीले चिच्याउँदै भन्यो — ‘तल तपसिलमा लेखिएका व्यक्तिहरू आफ्नो बोरा बिस्तरा सहित ११ बजेसम्ममा तैयार होऊन् ।’ अनि लेखिएका नामहरू भन्न थाल्यो । खूब ध्यानपूर्वक गाँस हाल्नै छोडी सबै ठाडाठाडा कान लगाई सन्न थाल्यौँ । बीचमा मेरो नाम पनि उच्चारण गरियो । यसमा कसैले भने— तिमीहरूलाई छोड्न लाग्यो । अनि कसैले भने— सिंहदरबार बयान लिन लग्न लाग्यो । तर आमा, मेरो मनमा भने यी दुबै कुराभन्दा अलग अर्कै कुरा थियो जुन कि वास्तविक नै रहेछ ।
भात खाइसकी लुगा लाएँ अनि गुण्टा पनि पारेँ । यत्तिकैमा (बिहानको) ११ बजिहाल्यो । हामी नाम भएकाहरूलाई फेरि बोलाउन आयो । क्रमशः हामी निस्कँदै गएम् । बाहिर थानाको ढोकैमा १ नंबरको रातो लहरी राखेको रहेछ । म त्यस नजिकै पुग्ने वित्तिकै तपाईले पठाइदिनुभएको पान ल्याएर मलाई मेरो नाम काटी कसले हो कुन्नि दियो । तर, पान पु¥याउन को आएको थियो, देख्न पाइँन, पुलिसले नै मेरो हातमा दियो । पान खोलेर पान खाएँ अनि मलाई ल उक्लिनुहोस भने । म हुन्छ भनेर एक खुट्टा पाउदानमा राख्नुसाथै मैले इन्क्लाब भनेर वीर त्रिभुवन भन्ने नारा उठाइहालेँ । त्यहाँ मोटरमा बसेका साथीहरूमध्ये धेरै ता डराएर जिन्दावाद भन्ने आवाज दिएनन् । तर, त्यस्तैमध्ये १/२ जनाले र महिला ३ जना जो थिए, उनीहरूले आफ्नो आवाजको जोडमा जिन्दावाद भन्ने उत्तरले व्योम गुन्जायमान गरिदिए । आमा, यो सुन्दा तपाईलाई साह्रै खुशी लाग्ला कि म रोएर, डराएर जेल आइनँ, हाँस्दै नारा लाउँदै राणाशाहीको विरुद्ध तिमीहरू पनि बोल भनी आफूलाई जेल ल्याउने कर्मचारीहरूलाई पनि सम्झाउँदै आएँ । लहरीले आफ्नो गति लियो । हामीहरूले पनि आफ्नो गति छोडेनौँ ।
क्षणभरवाद हामीलाई भद्रगोल जेलको ढोका अगाडि ओराल्यो र यहाँ सब हामीलाई राणाका दलालहरूले छोपे । गुण्टा फेरि खोली जाँचियो र शरीर पनि यहाँसम्म कि आमा, जुत्तासम्म खोलेर जाँचे । मेरो फाउन्टेन पेन पनि बाहिरै लिइहाल्यो । भित्र ता केही लग्न दिँदो रहेनछ । अनि तीन पुस्ते लेख्यो र एक एक गरेर नाम बोलायो । मेरो नाम आयो, म गुण्टा बोकेर लाइनमा लागेँ । जब मेरो पयर जेलको ढोकामा पर्न लागेथ्यो, फेरि मैले इन्क्लाब र त्रिभुवनको नारा उठाएँ । यसमा मेरो साथमा ६ जवान साथीहरू थिए ता पनि केबल एक जनाले मात्र जिन्दावाद भनी साथ दिए । बस, आमा, अनि त के थियो र, मेरो यो आवाज सुन्ने बित्तिकै राणाको दलाल जेलको कप्तान भनाउँदोले मेरो मेरो गर्दनमा भएको गुण्टा तानी मलाई आफ्नो मुखमा भद्दा शब्दहरूले गन्धा पार्दै गाली दियो र भन्यो— ‘थाहा छ, यो कस्तो ठाम हो ? के सम्झेर तैले चिच्याइस् ?’ यसको जवाफमा मैले भनेँ, ‘थाहा पाएको भए यसरी आउने जरुरतै थिएन । अब थाहा पाउँदै आउन लागेको छु ।’ साथै जिन्दावाद भन्ने साथीलाई पनि नराम्रोसँग गाली ग¥यो । अब साथीहरू साथै म पनि भित्र हुलिएँ । भित्र फेरि हामीमाथि अर्को घेरा लाग्यो । घेराले घेरिएरै एउटा छिँडीमा ल्याई हामीलाई राखेको छ ।
तपाईले पठाइदिनुभएका दुई सुकुल, लालटेन, दाल, चामल, नून, तेल, घिउ, तरकारी र सुपारी, चुरोट (साँझ) ५ बजेतिर पाएँ ।
बत्ती मधुरो हुँदै गैराखेको छ । तपाईले पठाइदिनुभएको लालटेन बाल्न दिएन । खोसेर लगिहाल्यो । अतः आजलाई यहीँ रोक्दैछु । ज्यादा अर्कोमा । आमा, जुन चलाखी र युक्तिले तपाईले यो चिट्ठी पठाउनुभयो, त्यो म सोध्ने साहस नै गर्न सक्तिनँ । आज मलाई यो प्रत्यक्ष प्रमाण मिल्यो कि पुत्र स्नेहले मातालाई के सिकाउँदो रहेनछ भन्ने कुरा । (क्रमशः)