कलम उठाउन खोज्दा नै लाज लाग्छ, तर पनि उठाउनु पर्ने नै हुन्छ । देशको स्थिति चारैतिर यस्तै छ । कता मात्र लेख्नु, के मात्र लेख्नु । एक्काइसौं शताव्दिमा सोह्रौं शताव्दिका जस्ता लाग्ने पाषण घटनाहरु एकपछि अर्को दोहोरिइरहेका छन्– के प्रजातन्त्रमा, के लोकतन्त्रमा ।
यस देशमा महिलाहरुमाथि अझै पनि बोक्सीको आरोपमा कुटपिट गर्ने, मलमुत्र खुवाउने, गाउँ निकाला गर्ने, ज्यान लिने जस्ता दुव्र्यवहार, अमानवीय कार्य र जधन्य अपराधहरु भइरहेका छन् । देशमा लोकतन्त्र आएको दशक बितिसक्दा पनि जनतामा बोक्सीको भूत र झाँक्रीप्रतिको विश्वासमा परिवर्तन आउन सकेको छैन । अन्धविश्वास उत्तिकै जब्बर बनेर बसेको छ । केही समययता पत्रपत्रिकामा जिल्ला जिल्लामा बोक्सीको आरोपमा महिलाहरुलाई यातना दिइरहेका, गाउँ निकालिएका, सासुले मात्र हैन ससुराले बुहारी जलाएका जस्ता समाचार देशैभरका सञ्चारमाध्यमहरुमा पढ्नु र सुन्नु परिरहेको छ ।
आफूलाई शिक्षित हुँ भन्ने समाजमा समेत झांक्री अथवा पाखण्डीको विश्वासमा परेर कतिपयले अन्जानमा आफ्नो जीवन नै गुमाइ रहेका छन् । यसरी अन्धविश्वासमा कैयनले पत्नी, पति र पुत्र समेत गुमाएका छन् र कतिले छिमेकका महिलाहरुको काख समेत रित्तो पारेका सत्य कहानीहरु छन् ।
अर्कोतर्फ हिजोआज बलात्कारका घिनलाग्दा र आततायी समाचारहरु दैनिक अटुट रुपमा आइरहेका छन् । गत साता कै कुरा गरौं– शान्तिसुरक्षा कै जिम्मा लिएका महानगरीय प्रहरी बृत्तका डिएसपीले गरेको बलात्कारको अभियोग राजिनामा दिएपछि सेलाएको छ । दण्डहिनताका आडमा निरन्तर भइरहेका यस्ता अपराधहरुमा सचेत नागरिक र विशेषगरी महिलाको हक अधिकारका लागि वकालत गर्न नथाकेको बताउने अधिकारवादीहरुको ध्यान कति पुगेको छ ?
छ वर्षीया बालिका समेत बलात्कारको शिकार भएका घटनाले राष्ट्रकै शिर निहुरिने अवस्था सिर्जना भएको छ । यस्तो स्थितिमा पनि महिला अधिकारवादीहरुको आवाज कमजोर देखिन्छ । हाम्रा चेलीवेटीहरु अब त परम्परागत रुपमा मुम्बई, कलकत्ता मात्र नभएर हङकङ, थाइल्याण्ड, मेलिसिया, युएई, कतार लगायतका खाडी मुलुकसम्म शरीर बिक्रीको पेशाका लागि रोजगारीका नाममा तस्करी गरिएका छन् । तस्करीमा सम्लग्न गिरोह सदा सक्रिय छ ।
देशमा लैंगिक विभेद दर्शाउने कुप्रथाहरु यति धेरै छन्, त्यसको एउटा उदाहरण हाल व्यापक चर्चामा रहेको छाउपडी प्रथा हो । सरकार र अधिकारवादीहरु ठूलठूला नार सहित छाउ गोठ भत्काउन कस्सिएर लागेका छन् । यस्ता सामाजिक समस्याहरुको समाधान कानुनको प्राविधिक डण्डा देखाएर मात्र हुँदैन । यस्तो कार्यले त बरु पीडितलाई नै अझ पीडा थप्छ । सामाजिक मानसिकतामा परिर्वतनका व्यवस्थित प्रयासहरु पर्याप्त भएका छैनन् । सर्वसाधारणको त के कुरा केही समय अघि स्वयं राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरका मठाधिशहरुले देखाएको छुद्र व्यवहारले महिलाप्रतिको सामाजिक दृष्टिकोण र प्रवृत्ति कस्तो छ भन्ने कुरा प्रष्ट पार्छ ।
नियन्त्रण गर्न सुरक्षा संयन्त्र कमजोर देखिएको छ । तस्करहरु पक्राउ परिहाले पनि फितलो कानुनले गर्दा केही समयमै उनीहरु छुट्छन् र फेरि तस्करी शुरु गर्छन् । अपराधीहरु प्रहरी संरक्षणमै कर्तुत गरिरहेका छन् भन्ने कुराको प्रमाण केही समय अघि बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेको व्यक्तिलाई सादा पोशाकका प्रहरी र कारागार नाइकेले पहरा दिएर धादिङको एक होटलमा अर्की युवतीसंग आपत्तिजनक व्यवहार गर्दाको अवस्थामा फेला परेका थिए ।
बलात्कार जस्तो जघन्य अपराधका घटनामा पीडितलाई दवावका साथ अनौपचारिक रुपमा मिलापत्र गर्न प्रहरी, प्रशासन र स्थानीय समाजका अगुवा भनाउँदाहरु नै सक्रिय देखिन्छन् । सामाजिक र लैंगिक विभेद अझै पनि कायम छ । बलात्कार पछि विभत्स हत्या गरिएकी निर्मला पन्त घटनामा सरकार एक वर्षभित्र आधा दर्जन समितिले तयार पारेका प्रतिवेदनहरुका पोका थन्क्याएर निस्क्रिय बसेको छ ।
देशमा लैंगिक विभेद दर्शाउने कुप्रथाहरु यति धेरै छन्, त्यसको एउटा उदाहरण हाल व्यापक चर्चामा रहेको छाउपडी प्रथा हो । सरकार र अधिकारवादीहरु ठूलठूला नार सहित छाउ गोठ भत्काउन कस्सिएर लागेका छन् । यस्ता सामाजिक समस्याहरुको समाधान कानुनको प्राविधिक डण्डा देखाएर मात्र हुँदैन । यस्तो कार्यले त बरु पीडितलाई नै अझ पीडा थप्छ । सामाजिक मानसिकतामा परिर्वतनका व्यवस्थित प्रयासहरु पर्याप्त भएका छैनन् । सर्वसाधारणको त के कुरा केही समय अघि स्वयं राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरका मठाधिशहरुले देखाएको छुद्र व्यवहारले महिलाप्रतिको सामाजिक दृष्टिकोण र प्रवृत्ति कस्तो छ भन्ने कुरा प्रष्ट पार्छ ।
राजनीतिक दल नै पिच्छे महिला अधिकारको वकालत गर्ने मानवअधिकारवादीहरु छन्, पार्टीहरुका महिला संगठनहरु छन् । उनीहरुले यस्ता विषयमा कति बोले ? बोक्सीको आरोपमा महिलामाथि सार्वजनिक रुपले अत्याचार मच्चाउँदा, गाउँ निकाला गर्दा र ज्यान समेत लिंदा कति अधिकारवादीहरु घटना स्थलमा पुगे ? महिलाहरुलाई भेडाबाख्रा सरह बेचबिखन गर्दा कतिले आपत्ति जनाए ? यी प्रश्नको उत्तर फेला पर्दैन ।
नयाँ नयाँ नारा दिएर नेता बन्नु र जनताका आँखामा छारो हाल्न खोज्नु अलग कुरा हो तर यी कुरिती महिलाका मात्र समस्या होइनन् सिंगो समाजका पीडादायी घाउहरु हुन भन्ने आत्मदेखि नै स्वीकार गर्ने हो भने त्यसलाई निर्मुल पार्न महिला वर्गले आफ्नो पार्टीभित्र पनि चर्को आवज उठाउनुपर्छ, मोर्चा बाँधेरै घचघच्याउनु पर्छ र पुरुषहरुले पनि इमान्दारी र दृढतापूर्वक सक्रियता देखाउनु पर्छ । सामाजिक अन्धविश्वासको आडमा महिलाहरुलाई दासी ठान्ने, पुरुषको प्यास मेटाउने साधान मान्ने, चेलीवेटीको बेचबिखन गर्ने अघम कर्तुतहरुलाई बन्द गरिनु पर्छ । महिलाविरुद्धका अपराधिक गतिविधिहरुलाई कडा कानुन तथा प्रभावकारी कार्यान्वयन गर्न सरकार र सुरक्षा संयन्त्र तयार हुनुपर्छ । अपराध विरुद्धको पहल कस्तो हुनु प¥यो भने अपराधीले फेरि अपराध गर्न त परको कुरा अपराध बारे सपनामा समेत सोच्च नसकोस् । नत्र जतिसुकै लैंगिक समानताका नारा लगाए पनि, अधिकारको चर्को दुहाई दिएपनि अधिकारकर्मीहरुका जत्था बढेपनि स्थिति चाँहि झन झन दयनीय र पीडादायी भइरहने छ ।