अर्काको दरबारभित्र दबिँदा खुशी कहाँ मिल्दछ ?
आफ्नो वास छ झोपडी पनि भने स्वर्गै त्यहाँ मिल्दछ ।
हीरा–मोतीविषे छ चित्त त दुःखी, के गर्नु त्यो शानले?
झुत्रा लाऊँ, सहूँ अभाव र पनि, शिर् उठ्छ सम्मानले ।। (१)
चौरासी थरी भोजनादि त रुचि के हुन्छ भोकै बिना !
विछ्यौना सुनका, भुवा सिमलका के गर्नु निद्रा बिना !
सम्पत्ति, सुविधाहरू महलका के गर्नु स्वास्थ्य बिना !
एक्लै हाँस्नु र बाँच्नुमा चयन के आफन्त, साथी बिना !! (२)
दुक्खैमा पनि स्वाभिमानी अरुको सम्पत्ति ठान्छन् धुलो
आत्मा शान्त भए र लोभ नभए सन्तोष नै हो ठूलो
गुन्द्रीमै सुतूँ, खाऊँ गुन्द्रुक भलै, स्वाधीन होस् यो मन
पैसाले निँद, भोक किन्न कसले सक्ला र कैले भन ? (३)
पेटै मात्र त पक्षी, कीट, पशुले खाली कहाँ राख्दछन् ?
डाकी आऽ नभनी पशु पनि धनीसाम्ने कहाँ आउँछन् ?
मान्छे जाति छ श्रेष्ठ यो जगतको, ब्रह्माण्ड हाँक्दैछ र–
आफ्नो मालिक खूद हौ जब तिमी, स्वतन्त्र बाँच्ने गर ।। (४)
Facebook Comments