एक प्राध्यापक भएर आफ्नै कार्यका बारेमा गुणगान नगाए प्राध्यापक पुराणको एउटा अध्याय तयारै नहुने देखें ! गर्नै पर्यो, सिर्जना गर्ने जस्तो महान कामसंग सम्बन्धित विषय पर्यो । अझ, विद्यावारिधी गरीसके पछि यत्रो उच्चतम उपाधिको उपज चित्रण गर्न ढिला गर्नु पनि भएन । पुराण पढ्दै गर्दा पाठकहरुले किंचित नठान्नुस् कि यो तथ्यको संगालो मात्र हो । यहाँ मिथ्या छ, लेखकको महात्म्य छ । यसका अलावा धेरै प्राध्यापकहरुको प्रतिनिधित्व छ तर विद्यार्थीहरु छन् पनि छैनन् पनि र त्यस्तै अवस्था अन्य सम्बन्धित पक्षहरुको छ । शुरु गर्छु– विद्यावारिधी भन्दा निकै अघिको परिदृष्यबाट ।
प्रथम श्लोक
विश्वविद्यालय तहमा प्राध्यापनको थालनी गर्नुपूर्व म इटहरीमा रहेको एक निजी विद्यालयको शिक्षक थिएँ । पछि संस्थापकले भाईस प्रिन्सिपल बन्न योग्य ठाने । कल्पना पक्कै गर्न सक्नु हुन्छ उक्त पद पाए पश्चात तीन वर्षको अवधिमा मैले कस्तो प्रवृतिको विकास गरें हुँला । स्नातक तह उतिर्ण गरेपछि उच्च शिक्षाका लागि भाईस प्रिन्सिपल पद छाडें र काठमाडौं आएँ । किर्तिपुरको अंग्रेजी विभागमा एम.ए. पढ्न सुरुवात गरें र सोही तहमा पढ्दापढ्दै +२ र स्नातक तहलाई पढाउन पनि थालेँ। यी निजी संस्थामा काम गर्दा विकसित भएका केही बुझाई अनी निर्माण भएका दृष्टिकोण र ती दुबै काठमाडौं आउनु अघिको वखतका प्रवृतिसंग मिसिए ।
द्धितीय श्लोक
जब विश्वविद्यालय तहमा अध्यापन गर्न थालें म थिएँ एक विशेष बुझाई, दृष्टिकोण र प्रवृतिको पात्र । रत्तिभर थाहा छैन मेरो पृष्टभूमीको जानकारी मलाई विश्वविद्यालयमा अध्यापनको अनुमति दिने पदाधिकारीलाई थियो वा थिएन । लाग्छ, वहाँले निश्कर्ष निकालेको हुनुपर्छ — यो ठिटो काम गर्ने जस्तो देखिन्छ र हाम्रा आई.एस्सी. पढ्ने जन्तुहरुलाई तह लगाउँछ । अहिले पनि सम्झन्छु त्यो बेला मेरो शरीर हृष्टपुष्टै थियोः त्यसैले पक्कै तह लगाउन सफल भएकै हुनु पर्छ ! नत्र, मेरो जागीर अर्को सेमेस्टरमा नै चट् हुनै पर्ने थियो । उक्त समयको सेरोफेरोमा विद्यार्थीहरुले मेरो शैक्षणिक गतिविधिका बारेमा गरेको मूल्याङ्कन के थियो त्यो थाहा पाउने एउटै स्रोत थियो मेरै प्रयासमा नजिक भएका अझ भनौ प्रशंसा गर्न आँट भएका “जन्तुहरु” ।
यी सन्दर्भहरु प्राध्यापक पुराणमा लेख्नुुको कारण चाहिँ केही प्रश्नहरुको जवाफ पाइएमा पुराणको अर्को खण्डमा समावेश गर्न पाउने थिएँ भन्ने आस मात्रै हो । ती अनुत्तरित प्रश्नहरु मध्ये केही छन्ः कस्ता कस्ता हृष्टपुष्टता विश्वविद्यालय सेवामा प्रवेश गर्ने आधारहरु बनाइएका थिए होला ? के अहिले पनि ती मापदण्ड कायमै छन् ? विद्यार्थीहरुले शैक्षणिक गतिविधिका मूल्याङ्कन अहिले गर्छन् कि गर्दैनन् होला ? गर्छन भने कसरी र तिनीहरुको उपादेयता छ कि छैन ? उल्लिखित प्रश्नहरुको उत्तर पश्चात पुराणको अर्को अध्यायमा मेरो अध्यापनको सिद्धान्त, कृयाकलाप र अभ्यासको वर्णन गरौंला, अहिले भने आफ्नै बारेमा ।
तृतीय श्लोक
अध्यापन गर्दै गएँ या भनौ जागिर खाँदै गएँ । एक प्राध्यापकबाट सुने अघि बढ्न लेख्नुपर्छ; अनि लेखें दैनिक पत्रिकामा ! निकै समय पछि थाहा भो पत्रिकाको आलेखका लागि अङ्कै हुँदैन मूल्याङ्कन फारममा । अहिले आएर भने गुदी कुरा थाहा भएकोे छ— आलेखहरु जम्मा गरेर किताव बनाउन सके चैं नम्बर पाईन्छ । अर्का प्राध्यापकबाट थाहा पाएँ कि जर्नलमा लेखे नम्बर पाईन्छ । तर, कहाँ सजिलो हुनु जर्नलमा छाप्नः जता पठायो उतैबाट अस्वीकारका इमेल ! सुरु भयो आफ्नै जर्नल प्रकाशनकोः आफैं सम्पादक, आफ्नै लेख; नछापिने प्रश्नै रहेन । एक दुई लेख प्रकाशन पछि आउन थाले इमेल; “यस जर्नलको सम्पादक हुन चाहनुहुन्छ ?”, “हाम्रो जर्नलका लागि लेख पठाइदिनु होला” । हुन्न भन्ने कारणै देखिएन, सहमति जनाइयो, सम्पादक भइयो अनि लेख पठाइयो, प्रकाशन पनि भयो । करिब आधा दशक पछि पो थाहा भो ती प्रकाशक र जर्नल त “प्रिडेटोरी पव्लिकेशन÷जर्नल” को सुचिमा रहेछन् । उनीहरुले त अनुसन्धानात्मक लेख भनेर जे पठाए पनि प्रकाशन गर्दा रहेछन् । यो वास्तविकता थाहा नहुँदासम्म सामाजिक सञ्चार माध्यमबाटै आफ्नो लेख छापिएको प्रचार गरियो र वधाई पनि ग्रहण गरियो । अहिले आएर निल्नु न ओकल्नु ! यद्यपि डर चाहिँ छैन है — नेपाल हो यहाँ सबै कुरा चल्छ । अरुले अनुसन्धान गरेको लेख चोरेर आफ्नै बनाए नि हुन्छ । आफ्ना विद्यार्थीले तयार गरेको लेखलाई प्राध्यापकले आफ्नै लेखकीयमा छाप्दा पनि हुन्छ । आखिर व्यक्ति हृष्टपुष्ट भएपछि सबै चलिहाल्छ !
जागिर खाँदै गर्दा अर्को कुरा पनि थाहा भो — एम.ए. ले मात्र नपुग्ने रहेछ । पत्तो पाएपछि एम. फिल गरें; त्यो पनि अपुग भएपछि पि.एच.डि. गरेें । पछिल्लो उपाधिको बारेमा केही उल्लेख नगरी त कथानै अपुरो हुन्छ होला । विद्यावारिधीको सुरुवात गर्ने निर्णय गरे पछि थाहा भयो रिसर्चको कखरा त पढ्नै बाँकी रहेछ । त्यो समयमा बल्ल घोत्लिएर सोचेको थिएँः मेरा अनुसन्धानात्मक लेख जर्नलमा कसरी छापिए होलान ? अनुसन्धान प्रस्ताव बल्लबल्ल तयार भयो र पारित पनि ! त्यसपछि, पूरै पाँच वर्ष शोधनिर्देशकको मार्गनिर्देशन अनुसार काम गरियो, सम्बन्धित निकायमा बुझाइयो र शोध पारित पनि भयो ।
खुसीको क्षणमैं सोचें, म पनि नेपाल पि.एच.डि. एसोसिएसनको सदस्यताका लागि योग्य भएँ र तत्कालै सदस्यता लिने विचार गरें आफ्नो योग्यताको कदरका लागि । सदुपयोगकै लागि अरु धेरै कार्य गरें सो समयको सेरोफेरोमाः व्यवसायिक नेटवर्क साइट लगायत सबै सामाजिक संजालमा आफ्नो नामको अघि ‘डा’. राखें; ‘डा’. नलेखी सम्बोधन गरेका सबै इमेलको उत्तरमा मैले पि.एच.डि. गरिसकें भन्ने जानकारी गराएँ; अनि कसैले कुनै सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा ‘डा.’ भनेर नबोलाउँदा म ‘डा.’ फलानो भनेर परिचित गराएँ ।
माथिको स्कन्दमा विगत र वर्तमानका केही कथाहरु मात्र प्रस्तुत गर्न सम्भव भयो । यहाँसम्म उल्लेख नगरेका, गर्न नसकिने वा गर्न नमिल्ने कथाहरु कति छन् कति; सबै सन्दर्भ ल्याएँ भने मेरो लेखाई पुराण नभएर महापुराण हुने डर छ । पार्न नसकिएका कथाहरु जर्नलमा खोजमूलक लेख प्रकाशन गर्न अनुसन्धानका लागि कति समय बिताएँ, विद्यार्थीहरुलाई कसरी पढाएँं, कति क्रेडिटका लागि कति समय दिएँ र विद्यार्थीको मूल्याङ्कन कसरी गरें भन्ने घटनाहरुसंग सम्बन्धित छन् ।
चतुर्थ श्लोक
आफ्नो कार्यकालमा हालसम्म खासै केही गर्न सकेको छैन या भविष्यमा केही गर्न नसकिन हो कि भन्ने चिन्ता पनि छैन मलाई ! सेवानिवृत भए पछि देशको सेवा गर्न नपाउने अवस्थानै छैन मेरो । वरिष्ठ र सेवानिवृत नागरिकका विशेषज्ञताको सम्मानका लागि खडा गरिएका कतिऔं पद खाली छन् । नियोग, आयोग, परिषद, संस्थान जे होस् हामी जस्तै खारिएका विशेषज्ञ त नियुक्त हुने हो त्यहाँ !
ल, मानौं अवकास पछि नियुक्ति भएन रे चाहेको पदमा अथवा एक पटक भएपछि पुनः हुने अवस्था भएन रे ! विग्रने वाला त केही छैन । मेरो दक्षता देशका सञ्चार माध्यमलाई त पक्कै चाहिन्छ, त्यसैले छाइदिन्छु जताततै । विशेषज्ञको रुपमा बोलाउने त प्राध्यापकहरुलाई नै हो सञ्चार माध्यमले — विषय शैक्षिक होस् या राजनीतिक वा सामाजिक, आर्थिक, कुटनीतिक, वैज्ञानिक र अन्य कुनै । शैक्षिक भए भनौंला हाम्रो पालामा विश्वविद्यालय अव्वल थिए, अहिले सबै विश्वविद्यालय अधोगतिमा छन् । त्यहाँ प्राज्ञिक गतिविधि हुँदै हुँदैनन् । मृत जस्तै छन् । अथवा, भनौंला अहिले पि.एच.डि. जताततैका पसलमा पाइन्छ र तिनै विद्यावारिधीधारीहरु विश्वविद्यालयमा अध्यापन गर्दै छन् । वा, सबै विश्वविद्यालयहरु राजनीतिले सखाप भइसके, बाँकी रहेका एक दुई पनि सखाप हुने भए । नभए भनौंलाः यी उपल्लो जातका प्राध्यापकहरु शिक्षण संस्थामा धेरै भएकै कारणले हाम्रो शिक्षामा सुधार हुन सकिरहेको छैन । अनि, शैक्षिक बाहेकका विषय जे सुकै भए पनि भनौंला उक्त विषयमा अर्को देशको राष्ट्रपतिले वा आफ्नै देशको प्रधानमन्त्रीले÷मन्त्रीले÷हाकिमले यसो गरेन, त्यसो गरेन, र म भए त्यस्तो गरिदिन्थे । सबैलाई थाहा छँदैछ नेपालमा बिक्ने त आखिर कि व्यक्ति–महात्य हो कि गाली नै हो ! म त्यसका लागि पारङ्गत छैन त ?