कक्षामा होहल्ला गरी कोलाहल सिर्जना भयो भने के हुन्छ हामी सबैलाई थाहा छ, कि त शिक्षकले बेस्सरी गाली गर्छन् कि डामडुम पिटेर तह लगाउन खोज्छन् र कहिलेकाहीं त्यस्तो माहोलमा पढाउन नसक्ने भनेर धम्क्याउदै शिक्षकले कक्षा बहिष्कार गर्छन् ।
तर विश्व निकेतन माध्यमिक विद्यालयमा हामीलाई नेपाली पढाउने शिक्षक मन्जु अधिकारी यस्तो फरक हुनुहुन्थ्यो कि त्यस्तो बेलामा मौन धारण गरेर दशौं मिनेट पर्खेर मुसुमुसु हास्नु हुन्थ्यो । यही बानीका कारण केही मिनेटमै उहाँको कक्षामा शान्ति छाउँथ्यो र पठनपाठन निरन्तर बग्थ्यो । अरुमा विरलैमा देखिने यस्तो धैर्य उहाँमा कसरी आयो? हामी अचम्ममा पथ्र्यौं कहिलेकाहीं । उहाँको अर्के विशेषता भनेको निश्चित विद्यार्थीलाई निश्चित निर्देशन र सहयोग गर्नुहुन्थ्यो, अझ प्रतिभाशालीहरुलाई त लाइब्रेरीबाट किताबहरु ल्याइदिएर हुन्छ कि घरमै बोलाएर अतिरिक्त दीक्षा दिएर हुन्छ सहयोग गर्नुहुन्थ्यो । म आफू पनि त्यस्तो भाग्यमानीमा परेँ र केही पदकहरु पनि जिताएँ । यध्यपि उहाँले कहिल्यै यसको जस लिनु भएन, ‘यो तिम्रो आफ्नै क्षमताले गर्दा हो ।’ पछि अरु दाइदिदीसँग वुझ्दा पत्ता लाग्यो उहाँ सबैलाई यसरी नै प्रेरणा दिनुहुन्थ्यो ।
म धेरै समयसम्म किताबको किरो मात्र थिएँ । सानोमा साथीहरुले चित्र बनाएर स्याबासी पाइरहदाँ म भने कविता लेखेर गुरुलाई जचाउँथे किनकि मलाई ‘कखुरी काँ बासी भात खाँ’, ‘भन भन भाइ हो खेत रोप्ने कसरी’, र ‘घामपानी घाम पानी स्यालको बिहे’ अनि ‘मेरो सानो खरायो आज कता हरायो’ जस्ता कविताले गहिरो छाप छोडेको थियो ।
निम्न माध्यामिक र माध्यामिक तहमा पुगेपछि प्रत्येक शुक्रबार हुने अतिरिक्त क्रियकलापमा भाग लिने अठोट पनि गर्थें तर खुट्टा काँपेर नाम दर्ता गर्ने हिम्मत हुँदैनथ्यो । लाग्थ्यो, आफूसँग दर्विला तर्कहरु भएकाले वादविवद प्रतियोगिता जित्न सक्छु, हाजिरी जावफ प्रतियोगिता जित्न सक्छु, कविता प्रतियोगिता जित्न सक्छु, सायद निवन्ध प्रतियोगिता पनि जित्न सक्थेँ हुलाँ । तर ह्वात्तै पछि सर्थें किनकि ममा त्यतिबेला पर्याप्त अत्मविश्वास नै थिएन । तर कक्षा दशको सुरुबाट ममा बेजोडको दृढता सल्बलाउन थाल्यो भित्रैदेखि– सायद नेपाली साहित्य र भाषा पढाउने गुरुआमाको फरक शैलीले होला ।
अतिरिक्त क्रियाकलाप विभागले निकालेको सूचना मन्जु अधिकारी गुरुआमा कक्षामा आएर सुनाउदै गर्दा पहिलोपटक मेरा कान ठाड्ठाडा भए । त्यो मदन पुरस्कार गुठीले आयोजना गरेको विद्या पुरस्कारका लागि थियो, जुन अन्तर–विद्यालयस्तरीय प्रतियोगिता थियो । छ वटा फरकफरक शीर्षकहरु थिए, अनि प्रतियोगिताका दिन मात्र लक्की ड्र गरेर कुन शीर्षक पर्ने हो त्यो थाहा हुने नियम थियो । यही कारण त्यो प्रतियोगिता बडो चुनौतिपूर्ण लाग्यो । अन्तर–विद्यालय स्तरीय भएकाले त्यसमा भाग लिन अरु नाम चलेका विद्यालयका समकक्षीहरुसँगको प्रतिस्पर्धा हुने हुँदा निकै प्रतिस्पर्धी पनि थियो । त्यसैले गुरुआमाको सहयोग लिने हिसाबले उहाँलाई कक्षा सकिएपछि भेट्न गएँ । उहाँले भन्नुभयो– मलाई पनि थाहा छैन, पहिले तिमी आफैंले लेखेर ल्याऊ अनि छलफल गरौंला ।
त्यसपछि म घर फर्केर एउटा मोटो कापी किनेर त्यसमा ६ वटा फरक–फरक निबन्धहरु लेखेँ । विषयहरु थिए– तेस्रो विश्व युद्दको रुपमा खाडी युद्द, बाँदरको हातमा नरिबल, नाटककार बालकृष्ण सम आदि । दुई दिनपछि गुरु आमालाई देखाउँदा उहाँले ती छाडेर जान भन्नुभयो । त्यसको ठ्याक्क दुई दिनपछि उहाँ कक्षामा आउँदा ती फिर्ता ल्याउनु मात्र भएन अरु ४ वटा किताबहरु पनि दिँदै भन्नुभयो– “तिमी राम्रो लेख्दा रहेछौ, यी पढेपछि अझ खारिन्छौ ।” मलाई के खोज्छस् कानो आखाँ भने जस्तो भयो ।
एकहप्ता पछि प्रतियोगिता थियो, मैले केही तयारी गरिसकेको थिएँ, तल्ला कक्षाका अरु दुई जना बहिनीहरु पनि त्यो प्रतियोगितामा भिड्दै रहेछन् । हामीलाई मदन स्मारक स्कुलमा जानुपर्ने थियो । हामी एक्लै जाँदैनौ, स्कुलबाट कसैको साथ चाहिन्छ भनी माग गर्दा फेरि उहाँले भन्नुभयो, “अरु स्कुलका साथीहरु शिक्षक वा अभिभावक अघि–पछि लगाएर आउलान तर तिमीहरु आफैं जाने बानी गर्दा आत्मविश्वास बढ्छ ।”
त्यसपछि केही खाजा खर्च लिएर हामी प्रतियोगिता स्थलतिर लाग्यौं । त्यहाँ पहिल्यै ५०÷६० जना समवयीहरु तम्तयार भइसकेका थिए । लक्की ड्र गरेर छान्दा तेस्रो विश्वयुद्दको रुपमा खाडी युध्द नै निबन्धको शीर्षक आयो । मैले आफ्नो मौलिकता उछालेर निवन्ध लेखेँ समय सीमा भित्रै । तर हतारमा लेख्दा अक्षर त्यति सफा भएको थिएन पीर पनि लाग्दै थियो । प्रतियोगिता सकिएर दिउँसोतिर हामी ती जना फर्किदै थियौँ, बाटोमा त्यही विषयमा कुरा गर्दा बहिनीहरुले भने– हामी आइडिया लिन जादा गुरुआमाले तपाईको कापी दिएर पठाउनु भयो । हामीले त्यही पढ्यौ ।
एकमनले सोचेँ सँगै प्रतिस्पर्धा गर्न आएकाहरुलाई मेरो निवन्ध किन देखाउनु भएको होला ? अलिअलि चित्त पनि दुख्यो । तर गुरुआमाको मन यसरी जितेछु कि त्यसपछिका प्रतियोगिताहरुमा एक नम्बरको छनौटमा मै हुन्थेँ र करिव पाँचवटा पदकहरु पनि बटुलेँ, अरु तीन चार महिना भित्रैमा । तर प्रवेशिका परिक्षा आएकाले थप गर्न भ्याइएन । एकवर्ष जति ढिलो गरी एक राष्ट्रिय दैनिकमा प्रकाशित त्यो प्रतियोगिताको नतिजामा म प्रथम भएर रु चार हजार नगद पनि जितेको थाहा पाउँदा मेरो खुसीको सीमा रहेन । यो नतिजा मेरा लागि अति अर्थपूर्ण थियो ।
अर्को मुख्य कुरा के भयो भने गुरुआमाले मेरो नेपाली विषयका अलावा अरु विषयको पढाइका बारेमा पनि चासो देखाउन थाल्नुभयो । उहाँको निवासस्थलमा बोलाएर भावविस्तर र विवेचनात्मक उत्तर लेख्ने तरिका पनि बताउनु भयो । यही क्रममा श्रद्धेय गम्भीरमान मास्के सरसँग मलाई चिनापर्ची गराइयो । मलाई अङ्ग्रेजी विषयमा नै अतिरिक्त कक्षा चाहिएकाले मास्के सरले दुई–तीन महिना हप्ताको तीन घण्टा उहाँकै घरमा पढाइदिने हुनुभयो । केही समय म गणित विषयको तयारीका लागि त्यतिबेलाका नाम चलेका पूर्ण बहादुर अमात्यसर कहाँ पनि जान थालेँ ।
२०३२ मा नेपाल माध्यमिक विद्यालय, रत्न नगर टाँडी, चितवनबाट शिक्षण पेशा अगाल्नु भएकी अधिकारी धेरै लामो समयसम्म यसै क्षेत्रमा लाग्नुभयो । विश्व निकेतन माध्यमिक विद्यालयकी एक प्रमुख खम्बा उहाँले २०३७ देखि २०५४ सम्म वार्षिक मुखपत्र ‘विश्व उद्यान’ को प्रधान संम्पादक भई हजारौ विद्यार्थी र शिक्षकका सीर्जनशिलता र प्रतिभाप्रस्फुटनमा ठुलो योगदान दिनुभयो । केही वर्ष विश्व निकेतन साइन्स क्याम्पसमा आंशिक प्राध्यापन पनि गर्नुभएकी उहाँले २०३४ देखि २०५४ सम्म विश्व निकेतन माध्यमिक विद्यालयमा नेपाली भाषा र साहित्यको अध्यापन गराउनुका साथै नेपाली विभागीय प्रमुखको जिम्मेवारी पनि सफलतापुर्वक पूरा गर्नुभयो ।
व्यापक अनुभव र जिम्मेवारी बोक्नुभएकी उहाँले २०५५ देखि २०६५ (नेशनल इन्ट्रिच्युट अफ टेक्निकल साइन्सेसमा प्राध्यपन, सामान्य प्रशासन र जनसंम्र्पकमा सक्रियता देखाउनुभयो । उहाँले सेफोन, माध्यमिक शिक्षा विकाश एकाई, उच्च माध्यमिक शिक्षा परिषद् तालिम तथा काठमाण्डौ विश्व विध्यालय जस्ता प्रतिष्ठित संस्थाद्वारा दिइएका तालिम–प्रशिक्षणका अनुभवहरु बटल्नु भएको थियो । मनोविज्ञानको समेत विद्यार्थी भएकोले सायद गुरुआमाको मूल्य–मान्यता र व्यवहारहरु निक्कै फरक थिए । उहाँको शैक्षिक योग्यता नेपाली शिक्षाशास्त्र र मनोविज्ञानमा दुईवटा स्नातक अनि त्रि वि विबाट नेपालीमा स्नातकोत्तर गर्नुभएको रहेछ ।
विश्व निकेतन माध्यमिक विद्यालयमा पढाइ नसकुन्जेल उहाँको बारेमा उति थाहा थिएन तर पछि विस्तारै थाहा भयो कि कार्तिक २००८ मा यस धर्तीमा आउनुभएकी मन्जु मिस राष्ट्रकवि माधव प्रसाद घिमिरेकी एक सुपुत्री हुनुहुँदो रहेछ । पहिलो पत्नी गौरीको दुखद निधनपछि उहाँले दोस्री धर्मपत्नी रुपमा महाकालीसँग लगनगाँठो गास्नुभएको थियो । परन्तु उहाँले कहिल्यै हामीलाई यो कुराको फुर्ति लगाउनु भएन बल्कि राम्रो रचना मीठो नेपाली पढ्न लगाएर नेपाली साहित्यको रस चाट्न सिकाउनु भयो ।
आज पनि नेपालका केही सरकारी विद्यालयहरुमा यस्ता शिक्षकहरुको कमी नहोला जसले असंख्य चुनौतिहरुका चाङलाई चिरेर आफ्ना शिष्यहरुलाई गुणस्तर शिक्षा दिने–दिलाउने काममा थोरै पनि कन्जुस्याइँ गर्नुहुन्न । पक्का पनि त्यस्ता शिक्षकहरु सधै शिष्यहरुका मन मुटुमा छाइरहन्छन् ।