माटो नचिन्ने

कविता (छन्द: इन्द्रबज्रा)

माटो नचिन्ने दरबारमा छन्

बाटो नचिन्ने सरदारमा छन्

यो देश बन्ने मधुरो छ आशा

आँठो नचिन्ने सरकारमा छन्॥१

 

जो जीत भन्थे सब हारमा छन्

भोका र नाङ्गाहरु मारमा छन्

बन्दै गयो देश अझै अचानो

मान्छे यहाँका  तरबारमा छन्॥२

 

बाठा र टाठा अधिकारमा छन्

मोटा तिनैका जयकारमा छन्

छोपेर आँखा खुद न्याय माथि

चोखा भए भ्रष्ट सिकारमा छन्॥३

 

आफन्त सारा धनसारमा छन्

घाँटी मिलेका भनसारमा छन् 

कमाउनेको छ विशाल जालो

सत्ता पसेका व्यभिचारमा छन्॥४

 

पासा र कौडा जन चारमा छन्

जो होमिए ती सब हारमा छन्

लाखौं डुबे डुब्न भए तयारी

माझी बिनाको मजधारमा छन्॥५

 

मौरी सबै व्यस्त विहारमा छन्

खोजेर मीठो मधु-सारमा छन्

आशा गयो त्यो मधु पान गर्ने

काला अरिङ्गाल त घारमा छन्॥६

 

लुच्चा लफुङ्गा पदभारमा छन्

सोझा सबै प्राज्ञ इनारमा छन्

भो चाकडी नै जग योग्यताको

प्रज्ञा बिना प्राज्ञिकधारमा छन्॥७

 

थानी कयौँ छुद्र बिचारका छन्

शृङ्गालका ती अनुहारका छन्

जन्मेन खै सारथि दक्ष प्यारो?

लाग्दैन क्वै तीव्र सुधारमा छन्॥८

Facebook Comments
banner
Comments (0)
Add Comment