घुजी, तपाई हो के ?” गम्भीर भएर मणिराज उपाध्यायले सोध्नुभयो । मैले प्रश्न बुझिनँ र सोधेँ “मणिबाबु तपाईंले सोध्नुभएको प्रश्न नै मैले बुझिनँ । के जवाफ दिऊँ ।” म राजकाज मुद्दाको अभियोग लागेर बन्दी अवस्थामा थिएँ । हनुमानढोकाको खोरमा । छुटेको भोलिपल्टै म मणिबाबुलाई धन्यवाद भन्न डिल्लीबजारमा उहाँको निवास र कार्यालय दुवै रहेको घरमा पुगेको थिएँ । मैले मेरो रिहाइका लागि पत्रकार सङ्घको सभापतिको रूपमा उहाँले खेलेको भूमिकाका लागि आभार व्यक्त गरेलगत्तै उहाँले उल्लिखित प्रश्न सोध्नुभएको थियो ।
मेरो रिहाइका लागि मणिराज उपाध्याय, मदनमणि दीक्षित, गोपालदास श्रेष्ठ र गोविन्द वियोगी जस्ता वरिष्ठ पत्रकारहरूका साथै अधिकांश पत्रकारहरू त्यसबेला सरकार विरुद्ध उभिएका थिए । पत्रकार सङ्घलाई मण्डले र गुण्डाहरूको हातबाट खोसेर साँचो अर्थमा पत्रकारिता गर्नेहरूको हातमा ल्याउनुपर्छ भनेर हामी त्यसबेलाका युवा पत्रकारहरू कस्सिएर लागेका थियौँ । हाम्रो अगुवाइ मणिराज उपाध्याय लगायत वरिष्ठ पत्रकारहरूले गर्नुभएको थियो । काठमाडौँको रोटरी क्लबमा सम्पन्न महाधिवेशनबाट मणिराज उपाध्याय सभापति निर्वाचित हुनुभएको थियो ।
मणिबाबुले मलाई ‘तपाई के हो’ भनेर सोध्नुको तात्पर्य त्यो दिन कुराकानीको अन्तमा मात्रै बताउनु भयो । उहाँ, गोविन्द वियोगी लगायत पत्रकारहरूको टोली मेरो रिहाइको माग गर्न तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलाई भेट्न जादाँ मरिचमान सिंहले उहाँहरूलाई “तपाईहरूले यो रघु पन्त भन्ने मान्छेलाई चिन्नुभएकै छैन । पत्रकार त उसको बाहिरी आवरण मात्र हो । उसलाई पत्रकार भएका कारणले पक्रेकै होइन । तपाईहरू कुरै बुझ्नुहुन्न”, भनेछन् । प्रत्युत्तरमा मणिबाबुले “त्यसो भए ऊ जे हो, त्यही कारण देखाएर कार्वाही गर्नुस् । उसले लेखेको वा सम्पादक भएको कारणलाई आधार बनाएर तपाईहरूले पक्रेपछि हामी कसरी चूप लागेर बस्न मिल्छ ? उसले लेखेको र सम्पादन गरेको विषयलाई आधार बनाएर मुद्दा चलाइसकेपछि र त्यसमा कार्वाही गर्नुपर्ने आधार हामीले नदेखेपछि हामी चूप लागेर बस्न सक्तैनाँै, पत्रकार सङ्घ चूप लागेर बस्न सक्तैन । उसलाई तत्काल रिहा गर्नुप¥यो” भन्नु भएको रहेछ । त्यो दिन प्रधानमन्त्री मरिचमान सिंहसँग उहाँहरूको लामै बहस भएछ ।
प्रधानमन्त्रीसँग बहस र विवाद भएको सबै कुरा उहाँले बताइसकेपछि अन्तमा हाँसेर फेरि सोध्नुभयो “तपाई भूमिगत पार्टी– सार्टीतिर त सामेल हुनुहुन्न ? तपाई बामपन्थी हो भन्ने त मलाई थाहा छ । राम्रो लेख्नुहुन्छ । रघुबाबु, नेपाल हो, जोगिएर चल्नुस् है । फेरि पनि पक्राउ पर्नुभयो भने त तपाईलाई छुटाउन गाह्रो हुन्छ । तपाईमाथि सरकारले आँखा गाडेजस्तो छ । सतर्क भएर चल्नुहोला ।”
उहाँले स्नेहमिश्रित ढङ्गले त्यो दिन मलाई सजग गराउनुभएको थियो । पत्रकार सङ्घको गतिविधि र सङ्गठन विस्तारको क्रममा मणिराज उपाध्याय, गोपालदास श्रेष्ठ, मदनमणि दीक्षित, गोविन्द वियोगी, चन्द्रलाल झा, मणिन्द्रराज श्रेष्ठ लगायत वरिष्ठ पत्रकारहरूसँग बेला– बखत कुराकानी भैरहन्थ्यो । वरिष्ठहरूको गफ हामी ध्यान दिएर सुन्थ्यौँ । कहिले विगतका संघर्षहरूको कुरा उहाँहरू गर्नुहुन्थ्यो भने कहिले समाजका विभिन्न विषयमा कुराहरू गर्नुहुन्थ्यो । आफूले पढेका विभिन्न पुस्तक र सिनेमाहरूको चर्चा पनि रमाइलो मानेर उहाँहरू बेला–बखत गर्नुहुन्थ्यो ।
मणिबाबुको सरल स्वभाव र मिलनसार बानीले गर्दा अधिकांश वरिष्ठ पत्रकारहरूका साथै देशभरका पत्रकारहरूलाई समेट्न हामी सफल भयौ । मणिबाबुको व्यावसायिकता, वरिष्ठता र नरम स्वभावले गर्दा सङ्गठनको जग बसाल्न त्यस बेला सजिलो भयो । उहाँको सम्पादनमा निस्कने दैनिक समाज त्यस बेलाको प्रतिष्ठित दैनिक पत्रिका थियो । आजका कतिपय सञ्चारकर्मी र पत्रकारहरूले आफ्नो सक्रिय पत्रकारिता दैनिक समाजबाटै गरेका थिए ।
मणिबाबुले यस्तै रमाइला प्रसङ्गहरूको चर्चा चलिरहेको बेलामा एकपल्ट भन्नुभयो “अहिलेको सिनेमा के सिनेमा, उहिलेको सिनेमा पो सिनेमा । ‘प्यासा’ को गुरुदत्त र वहिदा रहमान सम्झाँैं त । त्यसको सङ्गीत, गुरुदत्तको अभिनय र वहिदा रहमानको सौन्दर्यको के बखान गर्नु !” उहाँले त्यति भनेपछि त्यो दिन बूढा पत्रकारहरूले रमाइलो पाराले आ–आफूलाई मन परेको हिन्दी सिनेमा नायक, नायिका र गीतहरूको चर्चा गरेका थिए । मणिबाबुले ‘प्यासा’ र मदनमणि दीक्षितले ‘पाकिजा’ सिनेमाको प्रशंसा गरेको सुनेर नै पछि मैले ती दुवै सिनेमा खोजेर हेरेको थिएँ ।
त्यतिबेला मणिराज उपाध्याय, मदनमणि दीक्षित, गोपालदास श्रेष्ठ र गोविन्द वियोगी लगायत वरिष्ठ पत्रकारहरू मिलेर पत्रकार सङ्घ निर्माण गर्न अघि नसरेको भए आजको पत्रकार महासङ्घ बन्ने थिएन । त्यसबेला वरिष्ठ पत्रकारहरूको बीचमा पनि अनेकौँ अन्तरविरोध र आपसी मनोमालिन्य थियो । वरिष्ठ पत्रकारहरूको मनोमालिन्यको त्यो परिवेशमा हामी युवा पुस्ताका पत्रकारहरू अघि सरेका थियौँ । म, हरिहर विरही, सोमनाथ घिमिरे, विनोद दीक्षित, किशोर नेपाल, पदमसिंह कार्की, मल्ल के. सुन्दर आदि त्यसबेला वरिष्ठहरूलाई एकठाउँमा ल्याउन लाग्नेहरूमध्ये थियौँ ।
रोटरी क्लबमा भएको हामी सम्मिलित पत्रकार सङ्घको महाधिवेशनमा तत्कालीन अञ्चलाधीशले प्रहरी पठाएर रोक्न खोजेपछि हामीले गेटमा प्रहरीसामु उभिएर छिर्न नदिन प्रतिरोध गरेका थियौं । त्यसबेला राष्ट्रिय पञ्चायतको अधिवेशन चलिरहेको थियो । हाम्रो अधिवेशनमा प्रहरी हस्तक्षेप भएको थाहा भएपछि तत्कालीन राष्ट्रिय पञ्चायतका जनपक्षीय सदस्य पद्मरत्न तुलाधर, द्रोणाचार्य क्षेत्री, जागृत भेट्वालहरूका साथै राजेश्वर देवकोटा र रविन्द्रनाथ शर्मा राष्ट्रिय पञ्चायतको अधिवेशन छोडेर हाम्रो सम्मेलनस्थल थापाथलीको रोटरी क्लबमा आइपुग्नुभएको थियो ।
उहाँहरूले समेत प्रहरीले पत्रकार अधिवेशनमा यसरी हस्तक्षेप गर्न पाइँदैन भन्दै आफूलाई पक्रन प्रहरीहरूलाई चुनौती दिनुभयो । तर पनि प्रहरीहरू फर्केनन्, गएनन् । हामीले पनि आप्mनो अधिवेशन नरोक्ने भन्दै हस्तक्षेपको चर्को विरोध गर्न थाल्यौं । त्यसैबीचमा हस्तक्षेपको निन्दा गर्दै साप्ताहिक विमर्शका सम्पादक पदम ठकुराठीले मञ्चमा गएर उपस्थित पत्रकारहरूलाई मणिराज उपाध्यायलाई सभापति चुन्न आह्वान गर्दै प्रस्ताव राख्नुभयो । तल फ्लोरबाट हामीले समर्थन ग¥यौं । मणिबाबुको नेतृत्वमा हामीले विस्तारै पत्रकार सङ्घलाई व्यवस्थित बनाउने र त्यसका नियमित गतिविधि अघि बढाउने अभियान थाल्यौंँ ।
सरकारी हस्तक्षेपको प्रतिरोध गरेर अधिवेशन सम्पन्न गर्न सकेकाले हामीमा उत्साह पनि थपिएको थियो । हामी पत्रकार संघलाई व्यावसायिक सङ्गठनको रूपमा तर लोकतन्त्रका लागि वातावरण बनाउने संस्थाका रूपमा अघि बढाउन चाहन्थ्यौं । पत्रकार सङ्घलाई यसरी अघि बढाउने कार्यमा हामी केही वामपन्थी धारका थियौ भने केही नेपाली कांग्रेससँग नजिक रहेका र केही साथीहरू दरवारसँग नजिक रहेकाहरू पनि थिए । पदम ठकुराठी पञ्चायतको सूर्यबहादुर थापा पक्षसँग नजिक थिए भने कोही पञ्चायतकै अन्य समूहसँग । हाम्रो प्रयत्न नै त्यसबेला पत्रिका राम्ररी चलाउने र व्यावसायिक छवि भएका सबैलाई सङ्घमा समेट्ने थियो । वामपन्थी र कांग्रेससँग नजिक रहेकाहरूलाई मात्र लिएर अघि बढ्न खोजेको भए हाम्रो प्रयत्न सफल पनि हुने थिएन ।
मणिबाबुको सरल स्वभाव र मिलनसार बानीले गर्दा अधिकांश वरिष्ठ पत्रकारहरूका साथै देशभरका पत्रकारहरूलाई समेट्न हामी सफल भयौ । मणिबाबुको व्यावसायिकता, वरिष्ठता र नरम स्वभावले गर्दा सङ्गठनको जग बसाल्न त्यस बेला सजिलो भयो । उहाँको सम्पादनमा निस्कने दैनिक समाज त्यस बेलाको प्रतिष्ठित दैनिक पत्रिका थियो । आजका कतिपय सञ्चारकर्मी र पत्रकारहरूले आप्mनो सक्रिय पत्रकारिता दैनिक समाजबाटै गरेका थिए । मणिराज उपाध्यायको नेतृत्वमा अघि बढाउन शुरु गरेको नेपाल पत्रकार सङ्घ आज महासङ्घ भएको छ । त्यसबेलाको पत्रकार पत्रकारिताका सतिसाल थ ज्ञटण् सङ्घ र त्यसका पदाधिकारीहरूले समाजमा जुन प्रभाव राख्थे, त्यो उल्लेखनीय थियो । पत्रकार सङ्घलाई त्यसबेला पुनर्जीवन दिन अगुवाइ गर्ने मणिराज उपाध्याय आज हाम्रो माझमा हुनुहुन्न । तर उहाँ लगायत अन्य वरिष्ठ पत्रकारहरूका साथै हामी युवाहरूले एकताबद्ध भएर पत्रकार सङ्घको पुननिर्माण अघि नबढाएको भए शायद् पत्रकार सङ्घ महासङ्घको रूपमा आजको अवस्थासम्म आउँदैनथ्यो ।
नेपाली पत्रकारिता र नेपाल पत्रकार सङ्घ÷महासङ्घका लागि मणिराज उपाध्यायले गर्नुभएका काम र दिनुभएका देनहरू महत्वपूर्ण छन् । तर तिनको जति उल्लेख र सम्झना गरिनुपर्ने हो त्यति भएको छैन । मान्छे कोही पनि अजम्मरी छैन । मृत्यु सबैको हुन्छ । सम्झिने त व्यक्तिले आफ्नो क्षेत्रमा गरेका कामहरूका लागि हो । मणिराज उपाध्याय, जसलाई हामीहरू सम्मानका साथ ‘मणिबाबु’ भन्थ्यौं, आज पनि हाम्रो सम्झनामा हार्दिकताका साथ जीवितै हुनुहुन्छ । मणिबाबु नमस्ते !
पत्रकारिताका सतिसाल मणिराज उपाध्याय स्मृतिग्रन्थ बाट साभार