जसरी पनि मान्छे बाँचेको छ । कहिले विरोध गरेर कहिले त्यसैको समर्थन गरेर । उसले पहिला फलानाको कम्ता विरोध गरेको थिएन । अहिले लिपिक्क टाँसिए जस्तो गरेर आफ्नो दुनो सोझ्याउदै छ । हुन त समाज राजनीतिबाट निर्देशित हुँदो र’छ । हेर्नुस् न नेकपाका नेताहर्काे चर्तिकला यदि मानिसमा लोभ हुँदैनथ्यो भने यस्तो तथाकथित मिलन सम्भव नै थिएन । हाम्रो माओवादी पार्टी महान गौरवशाली पार्टी थियो । एक मात्र प्राधिकार सम्पन्न नेता प्रचण्ड हुनु हुन्थ्यो ।
अहिले उच्च छलाङ मारेर हाम्रो महान काम्रेड एमालेको अध्यक्ष बन्न पुग्नु भएको छ । माधव नेपाल, बामदेव गौतम, झलनाथ खनाल, भीम रावल जस्ता ‘महान’ हस्तीहरु हाम्रो काम्रेडका पछुवा बनेका छन् । उहाँहरु पछुवा नबनेको भए अग्नीजीको बसाई अन्तै हुन्थ्यो ।
आ sss ! जे सुकै होस् है ठूला वडाको कुरा ! प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर हाम्रा काम्रेडहर्ले एमाले भन्ने एउटा पार्टीको अन्तेष्टी गर्दै छन् । म किन त्यस्तो ठूलो पुन्य काम सफल हुने अवस्थामा रमाइलो नगरौं । आज उपल्लो डोल्पाको यो मेरो भेडी गोठमा किताब, पत्रपत्रिका, रक्सी र सातु सामल लिएर मेरो सालो क्या मेरी झुम्रीको भाइ फिन्जो आउँदै छ । फिन्जो आइ सकेपछि यो चित्राले बारेको मेरो भेडी गोठ पनि प्रचण्ड काम्रेडको निवास जस्तै मधुमय बन्ने छ ।
नभन्दै फिन्जो टुपुल्लुक्क आई पुग्यो । ‘आइपुग्यो’ किन भन्नु आचार संहिता अनुसार ‘आइ पुग्नु भयो ।’
ओ भेना ! कहाँ छौ ?
ए फिन्जो आई पुगिस् ! भारी पनि कसरी बोकेको ? एमालेले माओवादी बोके जस्तो कता के नमिलेको कता के नमिलेको !
दिदी खै त ?
खै मन्त्रीका छोराहर्ले र नेताका छोराहर्ले काठमाण्डौमा पुलिसको एसपीबाट एसएसपीमा बढुवा गर्दा ४० लाखका दर्ले पैसा सोरे अरे । म गरिबकी छोरी भने पत्कर सोर्न हिडें भन्दै थिई । अघि नै गा’की आई पुग्ने बेला भो होला ।
नि के के ल्याइस हौ फिन्जो ?
तिमीलाई मन पर्ने चिज । पत्रिका, रक्सी, मासु र चामल ।
‘अनि उता राजनीति खबर के छ ? एक सरो भन भन हौं ।
के हुनु राजनीति ! प्रधानमन्त्रीलाई चारैतिरबाट घेरेर जनतालाई मन नपर्ने काम गर्न बाध्य पार्दैछन् भनेर हल्ला छ । प्रधानमन्त्रीलाई एक्लो वृहस्पती झुठा त बनाई सके । अब घेरा हालेर बसेका हर्ले के के गर्न बाध्य पार्ने हुन भन्न सक्ने अवस्था छैन अरे । काठमाण्डौंमा प्रधानमन्त्रीको होइन छोराहर्को राज छ अरे । ठेक्का पट्टा, काठ, वालुवा, रोडा, गिट्टी, ढुङ्गा, सरुवा, बढुवा, नियुक्ती लगायतका विषय छोराहर्को कब्जामा, प्रधानमन्त्री निरिह भन्ने खबर आ’को छ ।
आ छोड्दे फिन्जो यस्ता कुरा । प्रधानमन्त्रीले फोहोर कुल्चिए पछि यस्तै हो । सफा गरेर फाल्नु पर्ने फोहोरलाई घर भित्र हुलेपछि गन्ध आउन थालेको हो ।
हाम्रो अध्यक्ष प्रचण्डले माधव नेपालदेखि अन्य नेतालाई पनि मख्ख पार्न सक्नु हुन्छ । पहिले हाम्रो शेर्पाहर्लार्ई शेर्पा राज्य, तामाङलाई ताम्सालिङ, नेवारलाई नेवा, मगरलाई मगरात, राईलाई किरात, लिम्बुलाई लिम्बुवान, मधेशीलाई मधेश लगायत हाम्रो नेताले सबैलाई राज्य दिनु’भाको थियो ।
अहिले त्यो राज्य इन्तु न चिन्तु पु¥याउँछु छिन्चु बनाईदिनु’भो । बर्तमान पर्धानमन्त्रीलाई पनि थाङ्नामा सुताउन सक्लान् जस्तो लाग्छ ।
लु झुम्री पनि आई पुगी ! कस्ती बाठी छ मेरी झुम्री ।
यसपछि हामी तीनै जनन अगेनोको वरिपरि बसेर भुटुवा सितनसंग काठमाण्डौमा बस्ने हाम्रा नेताहर्ले जस्तै सेन्तेरम चुस्क्याउन थाल्यौ ।
रक्सी आँतमा परेपछि विभिन्न कुरा सम्झिएर मलाई भक्कानिएर रुन मन लाग्छ । अगेनोमा बलेको आगोको उज्यालोमा एउटा पत्रिकाको हेडलाइन हेरें । लेखेको थियो –माघ १२ गते संवैधानिक अदालतमा हत्या आरोपी अग्नीको पेसी । कस्तो विडम्वना यत्रो ठूलो नेतालाई …..पनि……! खै के भन्नु !
मेरो अवस्था बुझेर झुम्रीले भनी ‘के भक्कानिन्छौं,’ ‘जनसेना’ भन्दै जनतालाई दुःख दिने तिमी पनि थियौ त । हेर जे रोपेको छ, त्यो फल्छ । कुनै पनि दिन तिमारु सखाप हुन्छौ ।
झुम्रीको कुरामा होइन भन्ने ठाउ पनि छैन । यस्तो भएपछि रक्सी नपिए के फेरि रगत प्युनु । ला त भनेर एक पेला रक्सी पिएर सुतें । के निद्रा लाग्थ्यो । बल्ल बल्ल निद्र त लाग्यो सपना पो देख्न थालें । सपनामा कहिले लोकेन्द्र विष्ट, कहिले मुक्तिनाथ अधिकारी, कहिले फुजेल गाउँको एउटा लोर्के ठिटो आएर लालसलाम काम्रेड भन्ने, कहिले माडी बसमा उडाएका मनुवाहरु आएर नारा जुलुस गर्ने, अन्तिममा म त चितवनको वडा अध्यक्षमा हारेको सपना देख्दा झल्यास्स बिउँझिएर चिच्याउँदै ‘लाल सलाम काम्रेड’ पो भन्न पुगेंछु ।
लौ त तपाईलाई लाल सलाम !