मेरो घरको कुटमेरोको रुख र नीजगढको जङ्गल

हालसालै म पनि निकै तनाबमा आएँ किनकि नेपाल सरकारले निर्णय गरेअनुसार निजगढ विमानस्थल बनाउन धेरै संख्यामा रुखहरु काटिने खबर आएको छ । मेडियाका अनुसार निजगढ विमानस्थल बनाउन काटिने रुखहरु (कम्तिमा २४ लाख साल र सिसौ) का कारण कार्बन बिसर्जन गर्न सघाएवापत पाइने ठूलो धनराशी नेपालले गुमाउन सक्छ । यो खबरले वातावरणवादी जति विचलित र चिन्तित छन्, म पनि उत्तिकै छु ।

दुःखको कुरा हामी रुख मैत्री कहिल्यै हुन सकेनौ, तर यही वा त्यो निहुँमा भएका बन सम्पदा नासिने र नाङ्गिने क्रम जारी छ । सरकार र जनता दुवैले संरक्षणभन्दा पनि मास्न चाहिँ उद्धत भएको कुरा अब छर्लङ्ग भएको छ । त्यसैले हामी नयाँ विरुवा लगाउने भन्दा पनि भएका मास्ने अभियानमा छौं । यही कारण हाम्रा शहर, बाटा र गाउँहरु कुरुप र रुग्ण देखिदै छन् । हरियो बन नेपालको धन हुन नसकेर तस्करको धन हुन पुगेको छ शताब्दियौंदेखि ।

गहन अध्ययन गर्दा रुखहरुका फाइदैफाइदा छन्, यिनले अक्सिजन उत्पादन गर्छन्, माटो शुद्ध पार्छन्, बाढी नियन्त्रण गर्छन्, ध्वनी प्रदुषण नियन्त्रण गर्छन्, मानसिक समस्या समाधान गर्छन्, कार्बन सोस्तछन्, हावा सफा गर्छन्, वातावरण शान्त र शितल राख्छन्, हावाको वेगलाई नियन्त्रण गर्छन्, र नराम्रा वातावरणीय प्रभाबहरु नियन्त्रण गर्छन् । किनकि इन्धनको प्रयोग घटाएर पानी प्रदुषण पनि कम गर्छन् । त्यसैले वन प्राकृतिक सम्पदाहरु मध्ये साह्रै महत्वपूर्ण मानिन्छ ।

यही कारण कतिपय मरुभूमि भनेर चिनिएका देशहरुमा बरु वृक्षारोपण गरेर हरित शहर बनाउने लहर चलेको छ । खाडी देशका शहरहरु दुवइ तथा दोहा त्यसैका उदाहरण हुन । उता वासिङटन डिसी र पुना जस्ता शहरहरु जहाँ रुखलाई चलाउन पाइदैन, कहासम्म भने घर बनाने ठाऊमा रुखको हाँगा छ भने पनि त्यसलाई हटाउन पाइदैन ।

अरु नेपाली जस्तै रुख र हाम्रो परिवारको सम्बन्ध मान्छे–मान्छे बीचको जस्तै छ । हाम्रो पुरानो घरको वरिपरि पनि कम्तिमा छ वटा रुखहरु थिए । केही रुखहरु खनायो र खस्रेतोको भएपनि धेरै जस्तो कुटमेरोका रुखहरु थिए । तिनलाई डालेघाँस र दाउराका रूपमा प्रयोग गरिन्थ्यो । सायद ती रुखहरु हाम्रा हजुरबाको पालदेखि नै थिए । पछि हामी तल बेसीतिर सर्दा वरिपरि गिदरी, खनायो र खस्रेतोको बाहुल्यता थियो । तर अचम्मकासाथ एकाध वर्षमै त्यहाँ पनि कुटमेरोको बुटा बढ्न थाले र ७/८ वर्षमा ३/४ वटा कुटमेराका रुखहरु हुर्किए । ती हामीले रोपेका वा सारेका थिएनौँ । तर नजिकै अरुका बारीमा भएकाले त्यहाँ हुनुमा उति उदेक पनि लागेन । उदेक त तब लाग्यो जब हामीले १२ वर्ष जति पछि काठमाण्डौमा घर बनाइसकेपछि पनि पछिपछि लागेर आई छेउमा त्यो उम्रियो । धादिङको हाम्रो घरबाट झन्डै एक सय किमी टाढा त्यो कसरी यता आइपुग्यो बडो ताजूब लाग्यो । चराहरुले विज ल्याई झारेर हो या गाउँबाट कहिलेकाही अन्नपात ल्याउँदा त्यसको बिज सँगै आएर हो यता आएर अंकुरायो कुटमेरो । सानो हुँदा त्यति ख्याल गरिएन तर त्यो द्रुत गतिमा हलक्कै बढ्यो । २÷३ वर्षमै एक डेढ तला अग्लो भयो र अरु एकदुई वर्ष पछि त तीनतला अग्लो र झ्याम्मको भयो ।

तर एकदिन हाम्रो एकजना छिमेकी चम्चमाउदै आएर गनगन गर्न थाले कि हाम्रो कुटमेरोको रुखका कारण साँधको उनका पर्खालमा धाँजा पर्न थाल्यो त्यसैले त्यो रुख काटेर पर्खाल बनाइदिन आग्रह गरे । पर्खाल बनाइदिन राजी भएपनि रुखै काट्ने कुरामा त घरमा कसैको मत मिलेन । त्यसैले केही समय आलटाल गर्यौं । तर पहुँचवाला छिमेकीले अड्को थाप्न छोडेन । आफ्नोतिरको आलिसान बंगला र अगाडि चौर बनाई चीनीया दुबो लगाई सिगारी केही गमलाका बोटहरु लगाएर पनि हाम्रोतिरको एउटा रखको के रिस गरेको हो कुन्नि !

यसबाट दुईवटा प्रत्यक्ष फाइदाहरु भए त्यो कुटमेराका रुखका कारण—एउटा केटाकेटीहरुलाई दशैंमा पिङ हाल्न सजिलो भयो भने बेलाबेलामा आमाले किनेर पाल्ने खसीलाई घाँसको बन्दोबस्त पनि भयो । म दङ्ग पनि परेँ किनकि घर नजिक कमसेकम एउटा रूख भएपछि बरादान हुन्छ भनी कुनै प्रकृतिप्रेमी रुमानी कविले लेखेको कविताबाट म खुब ओतप्रोत भएको मान्छे हुँ । अझ म एक दर्शनशास्त्रको विद्यार्थी पनि भएकोले के लागि रहेको थियो भने कुटमेरो र हाम्रो सम्बन्ध एकदम विषेश अलौकिक थियो । नत्र कसरी त्यस्तो संयोग मिल्दथ्यो ? सायद त्यो रुख मेरी अनादिकालकी प्रेमिका हो वा हाम्रा स्वर्गीय पितृको स्वरुप, यस्तै यस्तै सोच्दै मन आनन्दित हुन्थ्यो ।

यतिबेलासम्म त्यहाँ ४/५ केराका रुखहरु पनि सरिसकेका थिए । जसका कारण घर पवित्र भएको जस्तो लाग्थ्यो । अझ त्यहाँ पिपल र आँपका बुटा सार्न पाए कति जाति हुन्थ्यो मनमनै कल्पन्थेँ । यसको अलावा वर्षामा करेला र लौकालाई थाक्रो पनि भएको थियो त्यो कुटमेरो । तर दुइटा कुराको हामीलाई सधैं डर थियो—एउटा भनेको रूखको प्रयोग गरेर घरमा चोर पस्न सक्थ्यो भने अर्को भनेको पानी पर्दा चट्याङ्ग पनि पर्न सक्थ्यो, तथापि कुटमेरोको रुखले दिने सुन्दरता र अरु उपयोगिताका कारण ती गौण झैं लाग्थे ।

तर एकदिन हाम्रो एकजना छिमेकी चम्चमाउदै आएर गनगन गर्न थाले कि हाम्रो कुटमेरोको रुखका कारण साँधको उनका पर्खालमा धाँजा पर्न थाल्यो त्यसैले त्यो रुख काटेर पर्खाल बनाइदिन आग्रह गरे । पर्खाल बनाइदिन राजी भएपनि रुखै काट्ने कुरामा त घरमा कसैको मत मिलेन । त्यसैले केही समय आलटाल गर्यौं । तर पहुँचवाला छिमेकीले अड्को थाप्न छोडेन । आफ्नोतिरको आलिसान बंगला र अगाडि चौर बनाई चीनीया दुबो लगाई सिगारी केही गमलाका बोटहरु लगाएर पनि हाम्रोतिरको एउटा रखको के रिस गरेको हो कुन्नि !

एकदिन घरमा महिला र केटाकेटी मात्र भएको बेलामा आएर चेतावनी दिएर गएछन, “तिमीहरुले कुटमेरोको रुख काटेनौ भने जे पनि हुनसक्छ, मुद्दा मामिला र अरु जे पनि । रिस उठेर मन ढक्क फुल्यो तर के गर्ने समाजमा बसेपछि केही छोड्नुपर्ने रहेछ । फेरि छिमेकी भनेको पर्दाको जन्ती र मलामी भन्छन् । म अति प्यारो कुटमेरोको रुखसँग सति जान सकिनँ । आमा र दाइका अनिच्छा हुँदाहुँदै पनि छिमेकीले थापेको टाँडमा अल्झेर कुटमेरोको रुख कटाउने निर्णयमा पुगेँ । केही समय पछि नै कुटमेरोको रुख काटियो यद्यपि मलाई त्यो ठूलो गल्ति भयो भन्ने लाग्छ अहिले पनि ।

यदि त्यो कुटमेरोको रुख बचाउनका लागि चाहिने मानसिक, आर्थिक र शीरिरिक बल एकत्रित गरेर म लागेको भए त्यो दूरदर्शा हुन्थ्यो । दुःखको कुरा यस खालको तदारुकता र प्रतिबद्धता अहिले हरेक नागरिकमा चाहिएको छ । कमसेकम हामीले एक घर एक रुख र एक टोल १० रुख रोप्न र जोगाउन सकियो भने पर्यावरणमा आमूल परिवर्तन गर्न सकिन्थ्यो होला । नत्र सरकारको मुख ताकेर मात्र त केही हुने होला छैन ।

अहिले म कुटमेरोको ठूटोमा हेरेर गम खान्छु । खुसीको कुरा त्यो ठूटो बोन्साइ जस्तै रहेछ—पूरै नसुकेर त्यहाँबाट एउटा टुसो पलाएको पाएर गदगद भएँ । आखिर कुटमेरोको रुख र हाम्रो सम्बन्ध टुट्ने भएन । पहिलेको जस्तो ठूलो र झाङ्गिएको नहुन सक्छ तर सानोतिनो रुख जोगाइ राख्ने कर्तब्यबोध गरेको छु जुन कुरालाई मेरो १३ वर्षे छोरो ले पनि समर्थन गरिसकेको छ ।

आशा छ आइन्दा निजगढ विमानस्थल बनाउन धेरै संख्यामा रुखहरु काटिने खबर आएजस्तो समाचार आउने छैनन नत्र त हाम्रा नगर महानगर सबै नरकतुल््य हुनेमा शंका रहेन । मलाई हरपल मेरो घरको कुटमेरोले त्यही भन्दै गरेको जस्तो लाग्छ ।

Facebook Comments
Eak
Comments (0)
Add Comment