रोग पनि अनेक खालका लाग्छन् । किसानलाई अमेरिकन फौजी किराले धान र मकै बाली सखाप पारेर पिरोलेको छ । अहिले फेरि नेपालमै एमसीसी भन्ने रोगले राजनीतिलाई ग्रस्त बनाएको छ । जापानिज इन्सफलाइटिज भन्दा चर्को अमेरिकी हो कि ‘इन्डोप्यासिफिक भन्ने कडा रोग हो भनेर हाम्रो भिरघरे पो ब्याख्या गर्देथ्यो । जे होस् यो रोगले पत्तै नपाई मान्छेलाई कुनै किनारातफै हुत्याउँछ भनेर ब्याख्या पनि गर्दै थिए ।
यो रोग विश्वमा फैलिएको आतंकवादलाई नष्ट गर्न बनाइएको औषधी विग्रिएर ब्याप्त भएको रोग हो कि भन्ने शंका पनि गरिएको छ । कोही भने यो रोग अविकसित र अल्पविकसित मुलुकमा चाँडो फैलिन्छ भन्छन् । अहिले महामारीकै रुपमा नेपालमा फैलिएको छ । अस्ति भर्खरै काठमाण्डौको नेकपा भन्ने पार्टीको केन्द्रीय कार्यालय धुम्वाराहीमा भुमरी पर्दै मुस्लो बटारिएर प्रवेश ग¥यो अरे । स्थानीय कमिटिको बैठकमा त्यसरी प्रवेश गरी सकेपछि सदस्यहरु दुईतिर भागाभाग भएको खबर आयो ।
राजनीति गर्ने व्यक्तिलाई, ‘कि ओल्लो भित्ता कि पल्लो भित्ता’ पु¥याउने यो जटिल र अगम्य रोग लाग्नुलाई कतिपयले रुघा खोकी जस्तै सामान्य देखे भने कतिपयले असाध्य दीर्घ रोग भएको ब्याख्या गरे । कुन खालको रोग हो भन्ने रोगको लक्षण र विषयवस्तु नबुझी फलाक्नेहरु पनि कम देखिएनन् ।
मेरी झुम्री फेरि कम बाठी छैन । एमसीसी नेपाल भित्रियो भने उत्तरको छिमेकीलाई गाँज्ने हो कि भन्ने चिन्ताले एक खाले मान्छे ग्रस्त छन् रे । जब नेकपाको बैठकमा एमसीसी प्रवेश ग¥यो त्यहाँ विरोध र समर्थनको लहर चल्यो । झुम्रीले भनेकी यो विकासका नाममा आएको रोग होइन, यसले उत्तरको छिमेकीलाई असर गर्दैन । यो विषयमा नेपाल समेत २७ वटा देशले ‘उपयुक्त’ हो भनेर सही गरेका छन् । एकजना जान्ने धामी पनि भन्दै थिए ‘नेपाललाई यसले लपेट्नु भनेको चान्स पाउनु हो । सबै मुलुकलाई यसले छुदैन । ५६ अरव अनुदान भनेको चानचुने कुरा होइन ।
भिरघरेले पनि यो रोग हुँदै होइन, यो त औषधी हो, राष्ट्रलाई नै रिष्टपुष्ट बनाउने कुरालाई ‘रोग हो’ भनेर पन्छिनु हुँदैन । बेलामा बुद्धि पु¥याएन भने ‘राम भन्न सकिन्छ काँध हाल्न सकिदैन । अनुदानमा आको पुष्टकारीलाई रोगको भकारी भन्न मिल्दैन ।’
मिलेनियम च्यालेन्ज कर्पोरेशन कार्यान्वयन गर्ने नगर्ने भन्ने पनि कुनै रोग हुन्छ ? यो रोग होइन बच्चाको लागि पोलियो थोपाले जस्तो काम गर्ने औषधी हो । एक पटक टुट्यो कि सधैंलाई छुट्यो । कुरो बुझ्नु छैन त्यसै परक्क बटारिएर हुन्छ ।
राजनीति पनि गज्जवको खेल र’छ । अनि सञ्चार माध्याम पनि त्यस्तै र’छ । मलाई कहिलेकाँही त जंग चल्छ । उर्नालाई तालिम दिन यही माथिल्लो डोल्पाको मेरो भेडी गोठमा बोलाउँ कि जस्तो लाग्छ । हो भनेको साच्चै उर्नालाई तालिम दिन बोलाउनको लागि चिठ्ठी लेख्न बेर लाउँदिन । पहिला साम्राज्यवादी अम्रिका, बिस्तारवादी भारत, संशोधनवादी रुस लगायतका राष्ट्र थिए । अहिलेको अवस्था अर्को भएको छ । सहयोग लिने र आफ्नै अनुकुल हुने गरी खर्च गर्ने परम्पराको थालनी गर्न सक्नु पर्छ । एमसीसी कुनै रोग होइन, राष्ट्र हितलाई ध्यान दिएर देश विकासमा खर्च गर्न सकिन्छ । यो जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको विड हो ।
हुन त तालिम दिन पनि कसलाई बेलाउनु ! नेकपामा चाहिने भन्दा बढी जान्ने भएर लथालिङ भताभुङ छ । नेपाली काँग्रेसको बारेमा त केन्द्रीय सदस्य गुरुराज घिमिरेले अस्ति कै दिन आफ्नो स्टाटस्मा लेख्नु भयो – आजबाट हाम्रो पार्टीमा परम्परा, संस्कार र मर्यादाको अन्त्य भयो । संस्थापक नेता वीपी, गणेशमानका परिवार र रामचन्द्र जस्ता नेतालाई नजर अन्दाज गरी निर्णय गर्ने परिपाटीको प्रारम्भ गर्नु साँच्चै ठूलो दुर्भाग्य ! विनाशकाले विपरित बुद्धि ।
यस्तो भाँडभैलोमा तालिमको लागि को पो आउला र खै ! आsss म पनि यी भेँडा हुेर्नु कि नेतालाई तालिम दिनतिर लाग्नु ! होस् है । एमसीसी रोग होस् कि पुष्टकारी, छु मतलब ?