प्रेस काउन्सिलको अध्यक्षको कार्यकक्षमा पत्रकारहरुद्वारा तालाबन्दी

काठमाडौं । प्रेस काउन्सिल नेपाल कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा आज प्रेस काउन्सिल नेपाल शुद्घीकरणका लागि केन्द्रीय संघर्ष समितिले तालाबन्दी गरेको छ ।

संघर्ष समितिले काउन्सिलको कार्यालय अगाडि एक घण्टा धर्ना दिंदै कार्यवहाक अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेको थियो । संघर्ष समितिले प्रेस काउन्सिलले गरेको पत्रपत्रिका वर्गीकरण विभेदपूर्ण रहेको भन्दै पुनःवर्गीकरणको माग गरेको छ । संघर्ष समितिले कार्यबहाक अध्यक्ष श्रेष्ठको कार्यकक्षमा लागएको तालाको चावी सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलाई बुझाएको छ ।

तस्वीरः तारामणि सापकोटा

काउन्सिलमा धर्ना कार्यक्रमप्रति नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल लगायत नेपाल पत्रकार महासंघ उपत्यका समिति, पत्रकार महासंघ काठमाडौं, भक्तपुर, ललितपुर, झापा, उदयपुर, पर्सा समेत देशभरका अधिकांश पत्रकार महासंघका शाखाहरुले ऐक्यबद्धता जनाएका छन् ।

केन्द्रीय संघर्ष समितिका संयोजक दीपक पाण्डेले धर्नामा सहभागीहरुलाई सम्वोधन गर्दै भन्नुभयो– “काउन्सिलको गतिविधिले नेपाली पत्रकारिता जगतले शिर झुकाउनु पर्ने अवस्था आएको छ । सूचना तथा प्रसारण विभागले गर्नु पर्ने पत्रपत्रिकाको वर्गीकरणमा हस्तक्षेप गर्दै पूर्वाग्रहका आधारमा पत्रकार र पत्रिकाप्रति प्रतिशोध साँध्ने काम काउन्सिलका पदाधिकारीबाट भइरहेको छ ।”

संघर्ष समितिका संयोजक पाण्डेले पत्रकार र सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल स्वयं आचारसंहिता उल्लंघन गर्ने, पत्रकारिताको मर्यादा विपरित कार्य गर्ने, पत्रकार र संञ्चारमाध्यमको हुर्मत लिने जस्ता कार्यमा सम्लग्न भएकाले काउन्सिल बिवादको घेरामा पर्दै आएको बताउनुभयो ।

पटकपटक सचेत गराउँदा पनि आफ्ना मागहरु पूरा नगरेकाले काउन्सिल शुद्धीकरण तथा पत्रिका वर्गीकरणलाई पारदर्शी बनाउनका लागि दबाब दिने उद्देश्यले प्रेस काउन्सिल घेराउ गर्दै कार्यबाहक अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न बाध्य हुनुपरेको आन्दोलित पत्रकाहरुले बताएका छन् ।

प्रेस काउन्सिल नेपाल शुद्धीकरणका लागि केन्द्रीय संघर्ष समिति काठमाडौंका संयोजक दीपक पाण्डेले जारी गर्नुभएको प्रेस विज्ञप्तिको पूर्ण पाठ निम्न अनुसार छ :

प्रेस काउन्सिल नेपाल शुद्घीकरण र पत्रपत्रिका वर्गाीकरण खारेजीको माग गर्दै संघर्ष समितिको आह्वानमा आज एक घन्टाको धर्ना तथा कोण सभा सम्पन्न भएको छ । धर्नामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघका पूर्व केन्द्रीय सदस्य इश्वरी वाग्ले, रामहरी सिलवाल,  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झा, प्रेस संगठनका उपत्यका सदस्य तारा नेपाल, प्रेस युनियनका उपत्यका सल्लाहकार पदमराज जोशी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सचिव रमेश महतरा, प्रेस सेन्टर नेपाल ३ नं संयोजक कुमार वाङदेल, वरिष्ठ पत्रकारहरु विष्णुकुमार प्रसाई, विजय विस्फोट, एलएस लामा, पिपुल्स भोलियन्टर्स जर्नालिस्ट फोरमका संयोजक नवराज न्यौपाने, पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शन्तराम बिडारी, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, झापा अध्यक्ष तारामणि सापकोटा, महासंघका केन्द्रीय सदस्य माधव चौलागाँइ, केन्द्रीय लेखा आयोग सदस्य भुपेन्द्र आचार्य, वरिष्ठ पत्रकार चक्रपाण्ी नेपाल लगायतले ऐक्यवद्धता जनाउनु भएको थियो ।

शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरी परिचालन गरिएकोमा कडा आपत्ति प्रकट गर्दछौं । र, कार्यक्रम समापन पछि काउन्सिलको मूल ढोकामा टाँगिएके व्यानर प्रहरीले जफत गरोकेमा निन्दा र भत्सर्ना गर्दछौं ।

Facebook Comments
Comments (0)
Add Comment