(फाउण्डेसन फर क्रिटिकल डिस्कोर्स नेपालले गत शनिबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममा वामपन्थी चिन्तक डा. खगेन्द्र प्रसाईले प्रस्तुत गर्नुभएको विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता” अवधारणापत्रमाथि अर्का वामपन्थी चिन्तक तथा कानुनविद् प्रा.डा. युवराज संग्रौलाको टिप्पणीपत्रको परिमार्जित आलेख– सं)
माक्र्सवादी चिन्तनका वरीपरी विकसित वैज्ञानिक सिद्धान्तहरु र मानिसको सर्वाङ्गिण सामाजिक एवंम् आर्थिक विकासका बारेमा रहेका वस्तुनिष्ट समझदारी बीचको अन्तरलाई नबुझि ‘समाजवाद’ लाई एकांकी ढंगले बुझ्ने प्रक्रियाको व्यापकता समकालीन माक्र्सवादी चिन्तकहरुमा पाइन्छ र त्यसले एउटा गम्भीर समस्याको निर्माण गरी आएको छ । माक्र्सवादका बारेमा कुरा गर्दा दर्शनको विवेचनामा मात्र केन्द्रित रहने प्रचलन पनि व्यापक रहेको छ । यसो गर्दा हाम्रो ध्यान ‘के कुरा माक्र्सवादी होइन र के कुरा माक्र्सवादी हो’ भन्ने विषयमा मात्र केन्द्रित रहने गर्छ । छलफल र विमर्शको यस पद्धतिले ‘कसरी माक्र्सवादी चिन्तनले प्रत्येक व्यक्तिको समृद्धिलाई सुनिश्चित गर्न सक्तछ भन्ने कुरा पटक्कै ध्यान दिँदैन । यस सन्दर्भमा दुईवटा महत्वपूर्ण तथ्यलाई विशेष दृष्टिकोणबाट हेर्नुपर्छ भन्ने धारणा राख्न सकिन्छ ।
(क) समाजको ऐतिहासिक विकासको क्रम स्थापित छ र यो गतिशिल पनि छ । यस गतिशिल ऐतिहासिक विकासको क्रमले नै ‘समाजको संरचना निर्माण गर्छ’ र त्यसका विशेषता पनि निर्धारण गर्दछ । यस्तो संरचना र त्यसको विशेषता निर्धारण गर्दा ती प्रक्रियामा संलग्न वस्तुगत गतिशक्तिहरुको भुमिका रहन्छ । यिनै संरचना र तिनीहरुका गतिशक्तिहरु बीचको निहित सम्बन्धलाई माक्र्सवादले विश्लेषण गर्ने गर्छ । माक्र्सवादी सिद्धान्त स्वंयमले ‘समाजवाद’ निर्माण गर्ने होइनन् । माक्र्सवादी सिद्धान्तले त विज्ञानको स्थापना गर्छन् । समाजवादको स्थापनाका लागि भने माक्र्सवादी विज्ञानमा आधारीत कार्यक्रमको आवश्यकता पर्छ । यस अर्थमा माक्र्सवादलाई समाजवादको विज्ञान हो भनी मान्नुपर्ने हुन्छ । समाजवाद मानिसको जीवनको समृद्धि निर्माण गर्ने कार्र्य आर्थिक, राजनीतिक, सामाजिक एवंम् मनोबैज्ञानिक कार्यक्रमहरुको हो जो माक्र्सवादी सिद्धान्तहरुबाट निर्देशित रहेका हुन्छन् वा रहनुपर्छ ।
(ख) हरेक मानिस जीवनलाई समृद्ध बनाउन चाहन्छ । तर मानिसको जीवनको समृद्धि उसमा अन्तर्निहित क्षमतामा निर्भर रहन्छ । उसमा अन्तर्निहित क्षमता, उसको चेतना, ज्ञान, विज्ञान र प्रविधिको सुझबुझले निर्माण गर्छ । यस सक्षमताले नै मानिसको वस्तुमाथि ‘स्वामित्व’ वा भोग निर्माण गर्छ । यस सक्षमताले मानिसमा पाँच वटा आधारभूत हकहरु निर्माण गर्छ । ती पाँच वटा हकले मानिसको आधारभूत ‘आर्थिक, सामाजिक एवम् राजनीतिक हैसियत’ (भेक्टर) निर्माण गर्दछन् । ती पाँचवटा हक हुन, शरीरको अनतिक्रमण्यता, व्यक्तिगत पहिचानको पूर्ण सुरक्षा, साँस्कृतिक स्वतन्त्रता–आस्था र विचारधाराको स्वतन्त्रता– प्राज्ञिकताको स्वतन्त्रता र स्रोतको उपभोगको स्वतन्त्रता । यस अर्थमा समाजवादको गन्तव्य मानिसको पूर्ण स्वतन्त्रता प्राप्ति गर्नु नै हो ।
यस दृष्टिकोणबाट अध्ययन गर्ने हो भने, समाजवादलाई ‘समाजको सामुहिक विकासभित्र व्यक्तिको अस्तित्व र स्वतन्त्रता’ निर्माण गर्ने आर्थिक राजनीतिक ढाँचा हो भन्न सकिन्छ । यस अर्थमा समाजवादका निम्न विशेषतालाई विशेष ध्यान दिनुपर्छ ।
(क) माओत्सेतुङ्गले भने जस्तै ‘सत्यको खोजी तथ्यबाट’ गरिनुपर्छ । सबै किसिमका समस्या र समाधान समाजभित्रै रहेका हुन्छन् । मानिसको आर्थिक अभाव, सामाजिक पछौटेपन र साँस्कृतिक अधोगति गरीवीका खास कारणहरू छन् । ती कारणको पहिचान विना समस्याका समाधान गर्ने रणनीति निर्माण गर्न सकिन्न । अर्थात समस्याका समाधानहरु तथ्यद्वारा नै निर्दिष्ट हुन्छ । माक्र्सवाद यस सन्दर्भमा त्यस्तो धनुवाण हो जसको प्रयोग समस्याको समाधानमा प्रयोग गरिन्छ ।
(ख) समस्याका कारणहरु मुलतः ‘आर्थिक स्रोतको प्रयोगमा सामन्ति एवंम् पूँजीवादी’ एकाधिकारका अवस्थाले निर्माण गरेको विभेदको जालोका रुपमा रहेका हुन्छन् । यिनै कारणले समाजलाई वर्गको विभाजनमा जकेडेका हुन्छन् । यस विभाजनले शोषणलाई वैधानिक बनाएको हुन्छ । समाजवादको उद्देश्य यही वर्गीय शोषणलाई उन्मुलन गर्नु हो ।
(ग) वर्ग विभाजनको उन्मुलन, राजनीतिक क्रान्तिबाट मात्र पुरा हुँदैनन् । वर्ग विभाजनको उन्मुलनलाई आर्थिक विकासका कार्यक्रमहरुको पनि आवश्यकता पर्छ ।
- आम व्यक्तिको उत्पादकत्वलाई प्रगतिशील बनाउने कार्य प्रयोजनपरक आर्थिक सिद्धान्तले पुरा गर्छन् ।
- स्रोतको विनासलाई रोकेर थोरै स्रोतबाट धेरै उत्पादनको विकास ढाँचा निर्माण गर्नुपर्छ भन्ने मान्यता समकालीन समाजवादी ढाँचाहरुले वकालत गरिरहेका छन् ।
- मानिसका सोचहरुलाई आधुनिक बनाई इतिहासले निर्माण गरेका प्रगतिशील सिद्धान्तहरुका बीचमा सन्तुलन कायम गर्नुपर्छ भन्ने मान्यता पनि समकालीन समाजवादको महत्वपूर्ण मान्यता हो ।
- स्रोतहरुमा सबैको समान पहुँच हुनुपर्छ र स्रोतहरुको प्रयोग र पर्यावरण बीचमा सन्तुलन हुनुपर्छ भन्ने मान्यता पनि उत्तिकै महत्वपूर्ण छ ।
यस अर्थमा आर्थिक एवं सामाजिक विकास ‘समाजवाद प्राप्त गर्ने ‘हस्तक्षेप’ (interference) हो । सकारात्मक हस्तक्षेपबाट ‘कारणका नकारात्मक परिणामहरु बदल्न सकिन्छ’ । अतः हरेक क्रान्तिपछि क्रान्ति नै हुनुपर्छ भन्ने सिद्धान्तमा प्रश्न गर्न सकिन्छ । क्रान्ति पछि उत्पादन तर्फ लाग्न सक्दा समाजवाद निर्माण गर्न सकिन्छ । अतः कुनै समाजको समाजवाद अर्को समाजको समाजवादको सफलता र असफलतामा निर्धारण गर्दैन । सोभियत संघको विगठन पूँजीवादी घेराबन्दी र सोभियत कम्युनिष्ट, पार्टीका त्रुटीपूर्ण निर्णयहरुबाट भयो । तर सोभियत संघको विघटन नै फुकुयामा जस्ता मूर्ख विद्वानले भने झैं ‘इतिहासको अन्त्य होइन’ । सोभियत संघको विघटन अन्य देशका समाजवादी ढाँचालाई निर्णायक ढंगले प्रभावित गर्ने ‘वस्तुगत आधार होइन’ ।
यस पृष्ठभूमिलाई राखेपछि, डा.खगेन्द्र प्रसाईका कार्यपत्रले उठाएका केही दृष्टिकोणहरुप्रति ध्यान दिनुपर्ने हुन्छ ।
क) “आफूभित्र उत्पादक शक्तिको विकासको ठाँउ रहुन्जेल कुनै पनि सामाजिक व्यवस्था ढल्दैन” भन्ने माक्र्सको भनाईमा ऐतिहासिक सत्यता छ । तर यस सिद्धान्तलाई ‘गायत्री मन्त्र’ नै बनाईयो भने माक्र्स पनि एकदिन पुजारीमा परिणत हुनेछन् भन्ने कुराको हेक्का राख्नुपर्छ । माथि संकेत गरिए अनुसार ‘हस्तक्षेपको’ सिद्धान्तबाट नकारात्मक संस्कृति र आर्थिक प्रणाली भएका एवं उत्पादक शक्ति कमजोर रहेका सामाजिक व्यवस्थालाई पनि परिवर्तनको बाटोतर्फ मुखरित गर्न सकिन्छ । व्यक्तिको शरीरलाई स्वस्थ वा अस्वस्थ राख्न भूमिका खेल्ने कारणहरुको पहिचान गरी, नकारात्मक तत्वलाई हटाई मानिसको शरीरलाई स्वस्थ राख्न सकिए जस्तै समाजको प्रगतिशील परिवर्तनमा अवरोध गर्ने कारणहरुलाई सकारात्मक हस्तक्षेपद्वारा वदलेर समाजलाई प्रगतिशील रुपान्तरणको बाटो तर्फ मुखरित गर्न सकिन्छ । यो सैद्धान्तिक मान्यताले समाजवादको भविष्य अँध्यारो छ भन्ने निरासाबाट मुक्त गर्छ ।
कार्यपत्र प्रस्तुतकर्ता डा. प्रसाईले अगाडि सारेका पूर्वानुमान (एजम्सन)हरु एसियाली–अफ्रिकी देशका सामाजिक एवं राजनीतिक गतिविधिहरुको विश्लेषण गर्ने अनुसन्धान र खोजमा आधारित छैनन् भन्न सकिन्छ । उहाँले उल्लेख गरेका बलस्टाइन लगायत अन्य विमर्शहरुका विश्लेषण निर्विवाद रुपमा युरो–अमेरिका केन्द्रित छन् । युरो–अमेरिकी पूँजीवाद परस्त विज्ञता प्रत्यक्ष र परोक्ष दुवै ढंगले समाजवादको जग भत्काउनु पर्ने ‘पूर्वाग्रही मान्यता’ बाट प्रभावित छ । अतः समाजवादको भविष्य आँकलन गर्दा ‘पश्चिमी पूँजीवादी मायतामा आधारित ज्ञान’ प्रणालीमा मात्र विश्वस्त हुन पुगियो भने हामीले समाजवादका बारेमा गर्ने आंकलन ‘पतनवादी वा विसर्जनवादी’ दृष्टिकोणबाट प्रभावित हुने प्रत्यक्ष खतरा रहन्छ ।
ख) वर्तमान समय एवं विश्व व्यवस्था समाजवादको होइन नवउदारवादको समग्र असफलताको युग हो । यसले विश्वको आर्थिक व्यवस्थाको सामाजिक आधार भत्काएको मात्रै छैन, क्षतविक्षत बनाएको छ र, मानिसको ‘उत्पादन र उपभोग’ प्रवृतिमा व्यापक निरासा निर्माण गरेको छ । उत्पादक शक्तिको सकारात्मक उत्पादन मनोवृत्तिलाई पूर्ण रुपमा ध्वस्त बनाएको छ । अतः समाजवादको सम्भाव्यता समाजवादी ढाँचाले यो निरासावादी उत्पादन मनोवृत्ति र अति उपभोक्तावादी विकृतिलाई कसरी हस्तक्षेप गर्दछ भन्ने कुरामा निर्भर गर्दछ । चीन र नेपालमा पनि नवउदारवादका असरहरु व्यापक रुपमा परेका छन् । यी अवसरहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने ‘बहस’ समाजवादलाई सुदृढ बनाउने विमर्शको केन्द्रविन्दु हुनुपर्छ ।
चीनमा समाजवादको सुदृढीकरण–आधार निर्माण भएको छ भनी निम्न आधारमा दावी गर्न सकिन्छ :
- चीनले आफ्नो समाजवादमा चीनीयाँ विशेषताको खोजी गरेको छ । ‘त्यन्सिया’ व्यवस्थाले हन्टीङ्गटनको सभ्यताको द्वन्द्व र मोर्गेन थाउ को “हामी र तिनीहरु” को विभाजन सत्यतामा आधारित छैनन् भन्ने प्रमाणित गर्छ । त्यान्सिया प्रणालीले ‘सामाजिक व्यवस्थालाई एकताको आधारमा सुदृढ गर्न सकिन्छ भन्ने मान्दछ ।
- चीनले समाजवादभित्र ‘व्यक्तिको मौलिकता र नौलो खोजलाई ’ मान्यता दिई सकारात्मक प्रतिस्पर्धा स्थापित गरेको छ । बजार र पूँजी निर्माण सामाजिक गतिशक्ति हुन् । यी गतिशक्ति स्वयं पूँजीवाद होइनन् । अर्थात बजार र पूँजी निर्माण पूँजीवादी उदारवादका सन्तान वा विशेषता होइनन् । अतः समाजवादले बजारको प्रयोग गर्दा पूँजीवादमा रुपान्तरण हुने होइन ।
- चीन माक्र्सवादको समय सापेक्षित वैज्ञानिक महत्वलाई स्वीकार गर्दछ ।
नेपालमा समाजवादको सम्भाव्यतालाई ‘माक्र्सवादी यन्त्रवाद र माक्र्सवादी पतनवादले’ रुग्ण बनाएको छ । माक्र्सवादी अर्थशास्त्रीहरु विश्व बैंकका नीति लागु गर्ने वा वकालत गर्ने एजेन्ट बनेका छन् । माक्र्सवादी चिन्तन बोकेका बामपन्थी राजनीतिक दलहरुलाई अमेरिकी गैरसरकारी संस्थाले प्रशिक्षण गर्ने घोर पतनवादी संस्कार विकास भएको छ । माक्र्सवादी नैतिकता ह्रास भएको छ ।
चीनीयाँ समाजवादको संभाव्यताको आधार त्यहाँको शिक्षा र गरीवीलाई अन्त्य गर्ने ‘जोनिङ्गको अवधारणा र स्थानीय स्रोतमा स्थानीय जनताको अपरीहार्य सम्बन्धको’ अवधारणाबाट अध्ययन गरिनु पर्छ । पश्चिमी तथा चीन बाहिरका धेरै अध्ययन चीनीयाँ समाजवादप्रति पूर्वाग्रही रहेको तथ्यलाई ख्याल राख्नु आवश्यक छ ।
यी प्रारम्भिक मान्यताका आधारमा अध्ययन गर्दा, कार्यपत्र ‘वस्तुगत विश्लेषण’ भन्दा ‘वैचारिक विमर्श’ का निस्कर्षहरुबाट प्रभावित भएको वा निर्देशित भएको देखिन्छ । यो पद्धति आफैमा त्रुटीपूर्ण नहोला, तर डा. प्रसाईको अवधारणापत्र जुन विमर्शहरुको निस्कर्षमा आधारित छ, ती निस्कर्ष नै त्रुटीपूर्ण रहेका छन् भन्ने कुरा ठम्याउन असफल छ । यसलाई निम्न आधारमा पुष्टी गर्न सकिन्छ ।
- ‘समाजवाद’ को सम्भाव्यता यसलाई कसरी सुदृढ गर्न सकिन्छ भन्ने चिन्तनबाट पे्ररित हुनुपर्छ, नकी यो कसरी समाप्त हुनेछ भन्ने दृष्टिकोणबाट । अमेरीकी माक्र्सवादी डेभिड हार्वी लगायत थुप्रैको एउटै मान्यता के छ भने ‘पूँजीवाद पतनको संघारमा उभिएको छ ।’ पीकेटीले पनि पूँजीको समतामूलक वितरण हुन नसकी समाजमा असमानताको खाडल व्यापक भएको बताएका छन् । अर्थशास्त्री जोसेफ स्टीगलिज भन्छन्, ‘अमेरीकी अर्थतन्त्रले अब संकट धान्न सक्दैन ।’ पुलित्जर पुरस्कार प्राप्त पत्रकार क्रिस्टोफर हेज भन्छन्, ‘पुँजीवाद प्रतलयकारी संकटमा आइसकेको छ ।’ सम्भाव्यताको प्रश्न त्यस अर्थमा समाजवादको होइन पूँजीवादको हो । समाजवादको सम्भाव्यताको प्रश्नलाई अगाडि सारेर ‘पूँजीवाद’ को संकटलाई जोगाउन रचिएका कतिपय पश्चिमी तर्कहरुलाई कार्यपत्रले चिन्न सकेको देखिएन ।
- समाजवादले सामुहिकताको ढाँचाभित्र ‘व्यक्तिको समृद्धि’ सुनिश्चित गर्दछ । अतः समाजवादले व्यक्तिको स्वतन्त्रतालाई बर्खास्त गर्दैन । उन्नत उत्पादकत्वको आधारमा व्यक्तिले उत्पादनलाई उन्नत बनाउँछ । तसर्थ व्यक्तिको पर्याप्त वा उन्नत जीवनस्तार (adequate living standard) प्राप्त भएपछि मात्र उसले राजनीतिक तथा नागरिक हैसियत निर्माण हुन्छ । चीनको समाजवादालई अध्ययन गर्ने आधार यस तथ्यबाट खोज्नु पर्छ । चीनमा आठ सय मिलियन गरिबहरुलाई गरिबीबाट निकालिएको छ । शिक्षामा शतप्रतिशत पहुँच स्थापित गरिएको छ । स्वास्थ्यमा लगभग १००% विमा गरिएको छ । ठीक उल्टो अमेरिकामा ९९ प्रतिशत पूँजी एक प्रतिशत जनसंख्याको हातमा छ ।
समाजवादको सम्भाव्यता यस अर्थमा व्यापक भएको छ भन्ने कुरा युरोपियन ‘अस्टरीटी’ नीतिबाट प्रप्ट हुन्छ । यस आधारबाट विश्लेषण गर्दा नेपालमा समाजवादको सम्भाव्यताका बारेमा कुरा गर्दा निम्न कुरालाई प्रष्ट पार्नुपर्ने हुन्छ ।
- वालस्टाईनले पाँच सय वर्ष अघि भूमण्डलीकरण भएको हो भन्ने दावीलाई डा. प्रसाईको कार्यपत्रले ऐतिहासिक तथ्यका आधारमा विश्लेषण गरेको छैन । पाँच सय वर्ष पहिलाको भुमण्डलीकरण भनेको बेलायत, फ्रान्स, स्पेन, पोर्चुगल लगायतको एसिया, अफ्रिका र अमेरिका माथिको साम्राज्यवादी अतिक्रमण हो । भुमण्डलीकरणलाई समाजवादले समावेशी सहभागिता मान्दछ । अतः वालस्टाइन तथ्यगत रुपमा गलत छन् ।
- ख) पूँजीवादको संकटलाई ससाना हस्तक्षेप र सिर्जनात्मकताले जोगाउँछ भन्ने तर्क आधारहीन छ । पूँजीवाद उपनिवेशवाद र साम्राज्यवादको ताकतमा मात्र जीवित रहन्छ । यस ऐतिहासिक तथ्यलाई पनि कार्यपत्रले केलाएको छैन ।
- लियो पेनिय र साम गीण्डीका विश्लेषण वस्तुगत एवं तथ्यगत त्रुटीबाट निर्देशित छ । अमेरिकी प्रभुत्वाद विश्व वित्तीयकरणको विस्तारका कारणले खडा गरेको होइन । अमेरिका ‘फिलाडेल्फीया’ कन्भेन्सन’ बाटै ‘उपनिवेशी शक्तिमा रुपान्तरित’ भएको हो । अतः अमेरिकी अर्थतन्त्र उपनिवेशी अर्थतन्त्र नै हो ।
- उनीहरुको चीनीया अर्थतन्त्रको विश्लेषण गलत छ । चीनीया बजार समाजवादी वितरण प्रणालीमा आधारित छ । यसका खास विशेषता छन् जस्तैः अमेरिकाको ‘टे«जरी बिल’ (फिएट मनी) भन्दा फरक चीनीया पूँजी ‘राष्ट्रिय पूँजी’ मा आधारित छ; चीनीया बजारमा खपत हुने वस्तुको उत्पादन चीनीया श्रममा आधारित छ’ चीनीया श्रम बजारले ‘आम नागरिकलाई उत्पादनमा’ सरिक गरेको छ र उत्पादन प्रणाली राष्ट्रिय संस्कृतिसँग आबद्ध गरिएको छ ।
- चीनीया अर्थतन्त्र ‘वृद्धिबाट वैज्ञानिक विकास’ को बाटोतर्फ अग्रसर छ । यसले वातावरणको सन्तुलन, संस्कृति विकास बीचको सन्तुलन र ‘स्रोत र खपत’ बीचको सन्तुलनका विविध रणनीतिलाई चीनीया समाजवादका विशेषताका रुपमा प्रक्षेपण गरेको छ । चीनीया समाजवादले माक्र्सवाद र चीनीया इतिहासले निर्माण गरेका सिद्धान्तका बीचमा सम्बन्ध जोडेको छ ।
चीनीया उदयले विश्व अर्थ व्यवस्थालाई भत्काउने दावी गर्दै युरो–अमेरिकी पूँजीवाद ‘ चीनीया बेल्ट एण्ड रोड’ पहललाई संक्रमणकालीन विध्वंश भनी परिभाषित गर्दछ । यथार्थमा वर्तमान विश्व व्यवस्था ‘युरो–अमेरिकन’ पूँजीवादी आर्थिक संरचना मात्र हो । समाजवादले यसलाई भत्काउनुको विकल्प छैन । वर्तमान विश्वव्यवस्था भनिएको व्यवस्था ‘हिसावी जादु’ (Calculus Magic) मात्र हो ।
वामपन्थी चिन्तक डा. खगेन्द्र प्रसाईले प्रस्तुत गर्नुभएको विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता” अवधारणापत्र
Facebook Comments