शेरबहादुर दाइ जै नेपाल !
अस्ति मेरो मनको कुरो गर्नुभयो । यो लिम्पियाधुरा र लिपुलेक प्रधानमन्त्री केपी शर्मा ओलीले २०१८ सालमा भारतलाई दिएको हो । नेपाली कांग्रेसलाई सप्पै थाहा छ । हामीले जसरी पनि कम्युनिष्टेहर्लाई तल पार्नै पर्छ । चार पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले बोलेपछि बोल्यो, बोल्यो । अरुको मन पोलेर केही खालो सार्दैन । दाइ ! फेरि बोल्नु होस्– म थप्पडी बजाएर जै नेपाल भन्छु तपाईं सारै घत पर्ने कुरो गर्नु हुन्छ । मेरी गौंथली छ नि तपाईंको बुहारी, हो त्यो पनि तपाईंको कुरा सुनेर मुर्छै पर्ने गरी हाँसी । मैले त खित्का मात्रै छोडें । हाम्रो प्रवक्ता विश्वप्रकाश शर्माले झण्डै झण्डै तपाईंको भनाई कच्याककुचुक्क पार्न खोजेको । सच्याउने कोसिस कसैले नगरे हुन्छ । बोली र गोली निस्किए पछि सकियो ।
कोइरालाहरु त्यसै दाइको विरोध गर्छन् । सशांक, शेखर, सुजाता, रामचन्द्रहर्को कामै दाइको विरोध गर्नु भा’को छ । यिनार्लाई बागमती किनाराबाट चल्ने माइक्रोमा गुन्द्रुक खाँदे जस्तो खाँदेर रत्नपार्क पु¥याउनु पर्ने । दाइले बोलेपछि यिनार्को पेट नै चुक अमिलोले बटारे जस्तो हुन्छ । हैन के भा’को यिनार्लाई ! आफ्नै सभापतिले बोलेपछि, बोलीमा लोली मिलाउनु पर्दैन, खै कुरो बुझेको, दाइ बोलेपछि मुलाको अचार राखेको ढुंग्रोको बिर्को खोले जस्तै हुन्छ । स्वादले बोल्नु हुन्छ । भूकम्पपछि भारतले नाकाबन्दी लगाउँदा चुइक्क नबोलेको भन्ने आरोप तपाई–हामी माथि लगाएको छ । त्यसबेला पनि भारतले नाकाबन्दी लगाएको होइन भनेर हामी बोलेका थियौं । बामे जस्तो अड्कलेर बोल्ने हाम्रो चलन छैन । हामीलाई सप्पै कुरा कन्ठस्थ छ । मात्र कुन बेला के बोल्ने थाहा छैन ।
गौथली भन्दै थिई, दाइलाई फेरि बोल्न लगाउनु पर्छ भनेर । प्रशंसा गर्दै थिई, दाइ बोलेपछि ओखती जस्तो चट्ट निको हुने बोल्नु हुन्छ भनेर । भिरघरे पनि आच्चा हौ ! आरोप त दाइले जस्तो लगाउनु पर्छ भन्दै’थ्यो । दयाँरे कान्छाले भने धतुरो खा’र सभापति बोलेपछि अरुको के लाग्छ भन्दै’थ्यो । हौ दाइ ! काठमाडौं आउन पाएँ भने तपाईं, गोविन्द केसी, रवी लामिछाने र ज्ञानबहादुर शाहीलाई जसरी पनि भेट्छु भन्ने लागेको छ । अस्ति फेसबुकमा भारतको नक्सा पनि नेपालकै कम्यूनिष्टेहर्ले बनाएर छापेको हो भन्ने लेखेर फेसबुकबाट तपाईंहरु चारैजनालाई च्याट् गरिदिएको थिएँ । हेर्नुभयो कि भएन कुन्नी !
दाइ कहिलेकाँही त नेपाल र भारतको नक्सा मात्र होइन, यो दुइटा देश नै च्यातेर फ्याँकिदिऊँ जस्तो लाग्छ । रिसले मभित्र आगो बल्छ । हामी कांग्रेसीको मन पोल्दैन, पेट पोल्छ ।
मन त भा’पो पोल्नु, त्यत्रो नाकाबन्दी हुँदा न पोलेको हाम्रो मन अरु केले पोल्न सक्छ दाइ, ‘लिम्पियाधुरा र कांग्रेसका कुरा’ भनेर हामीलाई उडाउँछन् । उडाए उडाउँदै गरुन् । झिंगाको सरापले डिंगो मर्ने भए कम्युनिष्टहरु उहिले सकिने थिए । दाइ कहिलेकाहीँ त लाग्छ, हजुरलाई पनि सभापति पद अलि अफाप भाको हो कि ! तपाईं भनेको कर्मले होइन भाग्यले चार पटक प्रधानमन्त्री भएको व्यक्ति कसैले रिस गरेर हुँदैन ।
तर, दाइ सभापति भएपछि हाम्रो कांग्रेस सुकेनास लागेजस्तो खिनौटे चाहिँ भा’कै हो । गौथली भन्दै थिई कांग्रेस सकिन्छ कि क्या हो भनेर । मैले साफ झपारी दिएँ । अब पोखरा, बाग्लुङ, दाङ, भक्तपुर र धरानमा उपचुनाव जितिउँ भने हामी मूला सप्रे जस्तो सप्रन्छौं भनेर मैले भनिदिएको छु । अब दाइले सबै ठाउँमा २०१८ साल (महिना र गते आफैं मिलाएर राखेर) मा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिम्पियाधुरा भारतको नक्सामा राखेको हो भनेर दह्रो खोक्स् दिनु । त्यसपछि हाम्रो भोट स्वात्तै बढ्छ । दाइ ! भोटको गणना गरेर रिजल्ट आएपछि कम्युनिष्टेहरु कुन दुलोमा पस्छन्, हामी पनि हेरुम्ला । हामीले हा¥यौं भने के नयाँ भो’र । आजलाई यत्ति !
दाइ ! जै नेपाल ।