सन्तोष

लघुकथा

बजारमा जताततै अनियमितताकै हल्ला छ । पैसो नदिए कुनै काम नबन्ने– झमेला, झन्जट्, ढिलासुस्ती, के–के–के–के ! एक्कैरात धदिङ्गबेसीको होटेल बसाइमा टक्टकिएका मेरा मीत–बा पनि सिडिओ अफिसको चहलपहल देखेर, बाहिरैबाट जील परेछन् । फारम भराउनदेखि बोलेको, बसेको, उठेको सबै चार्ज लाग्ने रे ! पैसा धेरै नै लाग्ने र’छ, नसकिने भो अब नागरिकता लिन यसपाली पनि, भनेर आफ्नो दुःख कसलाई भनुँ भनिरा’बेलामा एउटा भद्र–महिला यिनकै अगाडि टुप्लुक्क देखा परिछन् ।
***

“नमस्कार हजुर ।”
भन्नुस् दाइ, केही थियो कि?
***

के भन्नु, खोइ? मो त लेखतिरबाट आएको– पैसा पनि बाटा खर्चमै सक्यो । नागरिकता बनाउनी भन्या, नबोन्निभो । तिमीसंग पैसा छ भने अलिकती देउ न । आर्को चोटी यता आउँदा मैले नबिर्सी तिर्छ ।

(बुढा–बाको यस्तो कुरो सुनेर ती अधबैँसे असाध्यै गम्भीर बनिन ।)
आफ्नो कार्यकक्षबाट खाजाखान बाहिर निस्केकी यी महिलालाई सायद यिनै मान्छे भेटेकोले गर्दा होला,आज केही खाने मन भएन ।

(सोचिनः पक्कै’नि उस् जन्ममा आफ्नै मान्छे भएकाले त होला, नत्र यसरी मुखै फोरेर सिधै पैसा माग्ने साहस कसरी गर्थे र, यिनले !)

“ल ठीक छ, एक्कै छिन यही ठाममा पख्नुस् है त, दाइ !”

भद्र–महिला आफ्नो कार्यकक्षभित्र गइन, एकैछिनमा फिर्ता आइन ।
“मैले पनि आजै तलब बुझेको हो । ल लिनुस् दाइ, पाँच सय रुपियाँ ।”
***

“तिम्रो राम्रो होस्, नानी । आर्कोचोटि धादिङ्ग आउँदा तिम्रो पैसो मैले सम्झेर तिर्छ । धेरै बाँचेर बसिराख, होइ?”

“आहा,”

ती भद्र महिलाले मनमनै सोचिनः
अब यिनै अमूल्य शब्दहरु वर्षौंवर्षसम्मका लागि प्रशस्त हुने भयो । मलाई किन पैसा तिर्न प¥यो र, यिनले ?”
***

Facebook Comments
Comments (0)
Add Comment