जीव, जीवन र हरेक अस्तित्व बहुआयामिक र रहस्यमयी हुन्छन् । तर संसारका सबै जीवहरु मध्ये मानवमात्रै त्यसमा पनि एकदम थोरै संख्यामा जो यो अस्तित्वमा निहित रहस्यको खोजमा आकर्षित हुन्छन् । किनकी यो खोजको सफर आफैँमा एक भयानक चुनौति पनि हो । जब यो दुनियाँको कुनै मान्छे ब्रह्माण्डमा निहित कुनै रहस्यको खोजमा निस्कन्छ तब धर्तीको कुनै पनि समाज उसलाई विभिन्न उपनामहरु जोडेर त्यही अनुरुपको व्यवहार पनि गर्न थाल्दछ । त्यतिमात्र होइन भीडको विक्षिप्त मनोदशामा यदि कुनै उच्च मानसिक क्षमता भएको मान्छे पैदा भयो भने त्यसको हत्या समेत भएका उदाहरणहरु प्रसस्त छन् ।
अस्तित्व, सृष्टि र मानव मस्तिष्कको आयतन सायद अकल्पनीय हुन्छन् । किनकी तिनै अनौठा मानव मस्तिष्कहरुले आविष्कार गरेका सिद्घान्त र प्रविधिहरुमा शेष मानव समाज आफूलाई उल्झाइरहेको छ । खासमा यी शब्दहरु लेख्नुको उद्देश्य मैले भर्खरै पढ्न भ्याएको लेखक लिलाराज खतिवडाको उपन्यास ‘म को हुँ’ र यो पुस्तक पढिसिध्याए पछि यो मानसमा उब्जिएका भावहरुका सन्दर्भमा हो ।
रहस्यका आयाममा कुमार नगरकोटीका ‘अक्षरगञ्ज’, ‘फोसिल’, ‘मिस्टिका’ जस्ता कृतिहरु पनि सुन्दर रचनाका रुपमा धेरै पाठकहरुले पढेका थिए र पढ्दै पनि होलान् । तर यी शब्दहरुको तातपर्य भिन्न आयाममा लेखिएका नगरकोटीका कृति र यहाँ परिचर्चा गर्न खोजिएको पुस्तक ‘म को हुँ’ लाई तुलना गर्न खोजिएको होइन । तर यति भन्न भने अवश्य सकिन्छ कि रहस्यको दुनियाँमा नगरकोटीका रचना र खतिवडाको यो कृति सुन्दर खजनाका रुपमा लिन सकिन्छ ।
लेखक आफ्नो पुस्तकभित्र विभिन्न आयामका अनेकौँ संसारहरु निर्माण गर्दछन् । र ती हरेक रहस्यमय परिघटनालाई अध्यात्मसँग जोड्ने प्रयास गर्छन् । पुस्तक पढ्न थालेपछि पाठकलाई प्रारम्भमा नै अनौठो जञ्जालमा फँसेको भान हुन थाल्दछ । त्यतिमात्रै होइन, यस समिक्षकलाई त बेलाबेला कुनै तान्त्रिकका सम्मोहित मन्त्रहरुले गाँजेझै पनि लाग्यो । भयभीत कथाको वहावमा बग्दाबग्दै कुनै समय त कस्तो पनि लाग्यो भने यो कुनै जादूमयी र सम्मोहित दुनियाँमा कसैले लगेर मलाई छोडिदिएको होस् । म भयभीत हुन्थेँ र पुस्तक बन्द गर्थेँ ! लाग्थ्यो यो पुस्तक पढ्दा पढ्दै कतै म पनि प्रमुख पात्र राहुल जस्तै त हुँन्न ? तर पनि कथाले तान्न छोडेन । सायद यसैलाई पुस्तकको सफलता मान्न सकिन्छ ।
काव्यिक सिलसिलामा सुन्दर शब्द कौशल, उच्च स्वैरकाल्पनिक उडान, रहस्यदर्शी र जादूमयी घटनाहरुको उठान–उत्कर्ष अनि कथाहरुको समाप्ति र तिनीहरुको आध्यात्मिक सम्मिलनलाई कृतिभित्रको अत्यन्त महत्वपूर्ण र उज्यालो पक्ष मान्न सकिन्छ ।
पुस्तकमा एक ठाउँमा भनिएको छ, ‘‘घाट एउटा स्टेशन हो, जहाँबाट मान्छे नयाँ आयाममा यात्रा शुरु गर्छ । अहिले म घाटमा छु र यहीँबाट मेरो एउटा नयाँ आयामको यात्रा शुरु हुन्छ ।’’
पुस्तक पढ्दा के महसुस भयो भने जसरी यो ब्रह्माण्ड अनन्त छ सायद त्यसरी नै प्रत्येक मान्छे पनि समेटिएको फैलावट नै हो ! मान्छे यो ब्रह्माण्डको तुलनामा एक बिन्दुभन्दा पनि निकै सानो मात्र हो । तर त्यो यस्तो बिन्दु हो, यदि त्यसले विस्तार हुन पायो भने व्यक्ति स्वयम् नै अर्को महासिन्धु बन्न सक्छ । किनकी बुद्घ, महावीर, जिसस, मोहम्मद धर्मजगतका महासिन्धु होइनन् र ? गहिरिएर हेर्ने हो भने यस्तै सम्भाव्य अभिलाषा यस उपन्यासको पात्र राहुलमा पनि देख्न सकिन्छ । र, यस्तो सम्भावना पृथ्वीमा जन्म लिने प्रत्येक मानवमा नैसर्गिकरुपमा विध्यमान हुन्छ भन्ने कुरामा पनि यस उपन्यासले जोड दिएको छ । साथै उपन्यासका कतिपय स्थानमा कैयौँ प्राचीन प्रज्ञा र धरोहरहरुको आडमा त्यसको प्रमाण पनि पेश गरिदिएको छ ।
काव्यिक सिलसिलामा सुन्दर शब्द कौशल, उच्च स्वैरकाल्पनिक उडान, रहस्यदर्शी र जादूमयी घटनाहरुको उठान–उत्कर्ष अनि कथाहरुको समाप्ति र तिनीहरुको आध्यात्मिक सम्मिलनलाई कृतिभित्रको अत्यन्त महत्वपूर्ण र उज्यालो पक्ष मान्न सकिन्छ ।
आफ्नै लय हुन्छ समयको, यदि त्यही लयमा मान्छे स्वच्छन्द भएर बग्न जान्दछ भने जीवनमा आनन्दको आविर्भाव हुनपुग्छ । तर मान्छे साधन भोगमा आनन्द खोज्छ । उता साधनहरुमा आनन्द होइन सुख मात्र भेटिन्छ । आनन्द र सुखको भिन्नभिन्न अर्थ पनि यस उपन्यासले उजागर गरेको छ ः सुख सतही हुन्छ, आनन्द शाश्वत ।
हुन त समाजको नियति यस्तो हुन्छ कि यदि कुनै व्यक्तिले कुनै नयाँ आविस्कार गर्छ भने विध्यमान मान्यताहरुमा जबरजस्त प्रश्न उठाँउछ । यस कार्यमा सायद मान्छे आफ्नो अहंकार पनि साधिरहेको हुन्छ । यहाँनिर सिग्मंड फ्रायडको सुपरइगो काम आउँछ ।
खास गरेर यो पुस्तकले कतिपय नवीन विषयहरु उठान गरेको छ । जीवनका जटिलतम सवालहरुको हल खोज्ने अथक प्रयास पनि यसले गरेको छ । यस्ता प्रसस्तै उदाहरणीय र प्रेरणादायी हरफहरु यस पुस्तकमा भेट्टाउन सकिन्छ । जस्तै,
‘‘मृत्यु र जन्मको युद्घले आविष्कार हुन्छ– मान्छे !
जन्म र मृत्युको सम्भोगले शेष हुन्छ– मान्छे !
मृत्यु र जन्म अनि जन्म र मृत्युबीचको सानो सेतु–
त्यो रहस्यमय सेतुमा हिँडेर
सम्पूर्ण अस्तित्वको भाषालाई अहिले भर्खर यहाँ बुझ्न सकिन्छ !’’
मानव मस्तिष्कको शक्ति अपार हुन्छ । त्यो अपार शक्तिलाई सकारात्मक रुपमा उपयोग गरे मान्छे बुद्घ बन्छ । नकारात्मक रुपमा उपयोग गरे मान्छे तानाशाह पनि बन्न सक्छ ।
खतिवडाको यस उपन्यासले चाहिँ प्रत्येक मानवलाई बुद्घमार्गमा हिँड्न प्रेरित गरेको छ । बोधको उच्च शिखर हाँसिल गरेका अन्य धेरै बुद्घपुरुषहरुकै सानिध्यबाट उनको कलमले पनि मृत्युदेखि सधैँ त्रस्त मानवहरुलाई अस्तित्वका शाश्वत नियम जन्म र मृत्युलाई समान रुपमा स्वीकार गर्न प्रेरित गरेको छ ।
कुनै सदावहार नदीको प्रवाहझैँ सलल बगेका शब्दलहरहरु सुन्दर र रोमाञ्चक लाग्छन् । यही सुन्दरताभित्र रसिक ढंगले यो रहस्यमय जगतको सटिक विश्लेषण पनि उत्तिकै दमदार छ । त्यतिमात्र होइन दुनियाँका दुई अतिहरु ः सृष्टि र विनाश, अनि यिनका शाश्वतताका सम्बन्धमा पनि उपन्यासले कथावस्तुभित्रै रहेर तथ्य सन्निकट व्याख्याहरु गरेको छ ।
उपन्यासको प्रमुख पात्र राहुलको कथागत जीवन कतै भ्रमजस्तो लाग्छ भने कतै आफ्नै अस्तित्व र छायाछविका झञ्झनाहटहरु उसमा भेट्टाउन सकिन्छ । त्यतिमात्र होइन उपन्यास पढ्दै जाँदा कतै राहुल बाटोमा आफूले देखेका बेहाल बिभत्स मानिस जस्तो पनि लाग्छ । यसर्थमा राहुल यो कृतिको बहुआयामिक पात्र हो । आम जनमानसले सोचेभन्दा भिन्न बेहाल, बिभत्स मान्छेहरु पनि व्यर्थका नहुन सक्छन् भन्ने कुरा पनि उपन्यासले दर्शाउँछ ।
आध्यात्मिक आयामको चुरोमा रहेर सिर्जित यो उपन्यास तर्कशास्त्र जगतका मनुवाहरुका लागि पनि राम्रै खजाना बन्न सक्दछ । यसर्थमा यो पुस्तक जो कोहीले पनि पढेर लाभान्वित हुन सक्छन् । खासगरी आपूmलाई जान्ने र जीवनको जटिलता समाधान गर्ने सन्दर्भमा । भन्न खोजिएको कुरा के हो भने उपन्यास बुन्न उपयोग गरिएका सबै सहायक कथाहरु बहुआयामिक र विरोधाभासी भएर पनि पाठकलाई सोच्न बाध्य तुल्याइदिने खालका छन् ।
आध्यात्म र रहस्य दर्शनलाई साहित्य कृतिको रुपमा हामीमाझ ल्याउनु अर्को सुन्दर र महत्वपूर्ण कार्य त हो नै । तथापि सुन्दर लेखन शैलीको आडमा लेखकका नितान्त निजी भावना, जो पाठकका लागि आवश्यक छैनन् वा भनौँ पुस्तकमा समावेश नगर्दा पनि हुने कतिपय विषयहरु, मनोगत द्वविधा र अपुष्ट राजनीतिक विषयहरुले कहीँ न कहीँ, कतै न कतै यो सुन्दर कृतिलाई अमिल्दो त बनाएका छन् नै तर समग्रमा यो पुस्तक पढिसकेपछि समय व्यर्थै खेर गएको अनुभुति भने मलाई भएन । किनभने, एउटा लेखक आफ्नो जीवन भोगाइका उतारचढावहरुले अवश्य प्रभावित हुने गर्दछ । र, लेखकले आफ्नो वर्तमान देशकाल परिस्थिती जस्तो पाउँछ ऊ आफ्नो लेखनीमा सायद त्यसको अतिप्रभावले ग्रस्त हुने गर्दछ । यस मामिलामा उपन्यासकार खतिवडा पनि अन्य कतिपय लेखकहरु जस्तै अछूत छैनन् ।
मान्छेको जीवनमा कटु सत्यको रुपमा एकातिर यथार्थ खडा छ, त्यसैगरी मानसिक अस्तित्वमा जीवित प्राणीको रुपमा हरेक मान्छेभित्र आदर्श, सपनाहरु र महत्वकांक्षाहरु रहेका हुन्छन् । तर यी सबै तत्वहरुलाई एकापसमा तालमेल गराउन थोरै मान्छे मात्र सफल हुन्छन् । र त्यो तालमेल मिलाउन जो सफल हुन्छन् ती संबुद्घ बन्छन् र जो असफल हुन्छन् ती भट्किन्छन् या शेष हुन्छन् । पुस्तकभित्र निहित सारतत्वका रुपमा सायद यी र यस्तै कुराहरुलाई लिन सकिन्छ ।
Facebook Comments