काठमाडौं । फाउण्डेसन फर क्रिटिकल डिस्कोर्स नेपालको आयोजनामा आज नेपालमा समाजवादको सम्भाव्यता विषयमा वाम चिन्तकहरु सहाभागी भएर गम्भिर मन्थन गरे । फाउण्डेसनका अध्यक्ष डा. खगेन्द्र प्रसाईंले छलफलको औचित्यमाथि प्रकाश परेर शुरु भएको कार्यक्रमको अध्यक्षता प्रा. डा. चैतन्य मिश्रले गर्नु भएको थियो भने पूर्व अर्थमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, चिकित्सा विज्ञानका ज्ञाता डा. सरोज धिताल र नेकपाका नेता डा. दिपक प्रकाश भट्टले अलगअलग विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको शुरुमा फाउण्डेसनका अध्यक्ष डा. खगेन्द्र प्रसाईले भन्नुभयो– समाजवादमा समस्या कसरी आयो, समाजवादमा जाँदाको समस्या के हो र मुलभूत रुपमा अहिलेको समाज कस्तो छ । आज नेपालमा कुन वर्ग छ, जसले समाजवादमा जाने चाहना राख्छ । त्यो मजदुर हो कि किसान हो ? उनीहरुको चाहना कस्तो खालको समाजवादको हो । यसका लागि भौतिक परिस्थिति र चेतनाको स्तर कस्तो हुनुपर्छ । यस्तो जिज्ञासाको सेरोफेरोमा रहेर समाजवादका लागि चेतनाको विस्तार र ज्ञान उत्पादन अबको पहिलो आवश्यकता हो । यो फाउण्डेसन यही अभियानमा क्रियाशील छ ।
उहाँले वहस कार्यक्रमको उद्देश्यका बारेमा भन्नुभयो– “नेपाली समाजमा समाजवादतर्फ जाने सम्भावना छ कि छैन् ? समाजवादमा जाने वस्तुगत स्थिति तयार भएको छैन भने छैन भने सक्नुप¥यो र छ भने कुन कुन क्षेत्रमा छ, शिक्षा, स्वास्थ्य कहाँ समाजवाद संभव छ भन्न सक्नुप¥यो । यसका लागि नै बहस गरौं ।”
पूर्व अर्थमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालमा समाजवादको सम्भाव्यता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा उहाँले विश्व समाजवादी आन्दोलनबाट पाठ सिक्दै नेपालका सन्दर्भमा गरिनु पर्ने समाजवादी कार्यक्रमका बारेमा जोड दिनुभयो । उहाँले समाजवादका लागि नेपालले हिड्नु पर्ने बाटो, समृद्धिका लागि गर्नु पर्ने कार्यहरुमाथि गहन प्रस्तुति दिनुभयो ।
नेपालले हिड्नु पर्ने बाटोका बारेमा बोल्दै उहाँले भन्नुभयो– अहिले नेपालमा सरकार, पार्टी र जनता भनेका एक अर्काका प्रतिद्वन्दीका रुपमा देखापरेका छन् । तर नेपालको समृद्धिका लागि पार्टी र सरकार बीच, सरकार र जनताबीच घनिष्ठ एकताको खाँचो रहेको छ । उहाँको निचोड छ– “यस्तो एकता कायम हुन नदिन र मुलुकलाई सँधै यथास्थितिवादमा उल्झाउन, अस्थिर र गन्जागोल बनाईराख्न, जनतालाई सँधै अन्यौलमा पारी आफ्ना स्वार्थ सिद्ध गर्न पुराना, प्रतिकृयावादी शक्ति र खासगरी दलाल, नोकरशाही शक्तिहरु पार्टी र सरकारलाई विभिन्न रुपले प्रभावित गर्न, चुनावी प्रतिपर्धामा रहेको पार्टीलाई सहयोग गर्ने नाममा अधिकतम निजी लाभ उठाउन, पैसाको बलमा आफू अनुकूलको निर्णय गराउन प्रत्यक्ष, परोक्ष, खुल्ला र गुप्त रुपले सक्रिय छन् । यी शक्तिहरु पार्टीभित्र समेत आफ्ना मान्छे वा आफ्नो निम्ति काम गर्ने मानिस तयार गर्न विभिन्न आर्थिक प्रलोभन दिने, आफू अनुकूलका व्यक्तिहरुलाई सरकार, कर्मचारी प्रशासन, सुरक्षा निकायहरु, अदालत, संवैधानिक अंग वा निकायहरु, प्रदेश र स्थानीय सरकारलाई समेत प्रभावमा पार्ने काम गरिरहेका छन् । सानो आर्थिक स्वार्थमा वहकिएर हाम्रा प्रतिनिधी, पार्टी र नेताले समेत गलत बाटो अख्तियार गर्न सक्ने सम्भावना प्रवल छ । यस्ता विचौलियासंग सतर्क र होशियार बन्दै राष्ट्रिय उद्योग, ज्ञान सञ्चार र ठूला पूर्वाधारको लगानीलाई चुस्त बनाउनु पर्दछ । भ्रष्टाचार विरुद्धकोे लडाईलाई चोटिलो बनाउनु पर्दछ । कम समयमा धेरै काम गर्न सक्ने वातावरण निर्माण गर्नु पर्दछ ।”
नेता पाण्डेले नेपालका सन्दर्भमा समृद्धिका लागि गर्नु पर्ने कार्यहरुमाथि प्रस्तुति दिनुहुँदै गरिनु पर्ने क्षेत्रगत कार्यहरुलाई औंल्याउनुभयो । नेता पाण्डेले जमिनको व्यवस्थापन, उद्योग, व्यवसाय तथा आर्थिक क्षेत्रको व्यवस्थापन तथा प्रोत्साहन, शिक्षामा लगानी, व्यवस्थापन तथा जनशक्ति निर्माण, स्वास्थ्य र जनताको समाजिक सुरक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रण, यातायात र पूर्वाधार निर्माण, प्रशासन, प्रहरी र न्यायिक क्षेत्रको सुधार र रुपान्तरणका कार्यहरु समाजवाद तर्फको बाटोका लागि अत्यावश्यक रहेको कुरामा जोड दिनु भयो ।
गणतन्त्र नेपालको वर्तमान संविधानले स्वास्थ्य तथा शिक्षार्जन दुवैलाई नागरिकका मौलिक हक अन्तर्गत राखेको र राज्यको समाजवाद उन्मुखताको प्रमाणकै रुपमा पनि यी मान्यतालाई अथ्र्याउने गरिएको कुरा स्मरण गर्दै डा. धितालले शिक्षाको उद्देश्य सामाजिक उत्तरदायित्व सहितको विशारद तयार पार्नु हो भन्ने कुरामा जोड दिनुभयो । यस्तो उद्देश्य कार्यान्वयनमा स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील राज्य र राज्येतर गैरसरकारी संस्था, सहकारी क्षेत्र र निजी क्षेत्रको व्यवस्थापन, नियमन, र रुपान्तरण कसरी गर्ने भन्ने कुरामा गम्भीर हुनु जरुरी रहेको कुरातर्फ ध्यानाकर्षण गराउनु भयो ।
उहाँले स्वास्थ्यका बारेमा बहसलाई अगाडि बढाउँदै तर्क गर्नुभयो– “विश्व स्वास्थ्य संगठनको परिभाषालाई नै आधिकारिक मानेर स्वास्थ्यबारे छलफल गरिने चलन छ । तर विश्व स्वास्थ्य संगठनको परिभाषामा केही गम्भीर प्रकृतिका अस्पष्टता छन् । मानव स्वास्थ्यलाई यस परिभाषाले ‘स्थिति’का रुपमा चित्रित गरेको छ । साथसाथै यो ‘स्थितिलाई’ ‘पूर्ण तन्दुरुस्ती’ (कम्प्लीट वेलबिइङ) को स्थिति भनेको छ । केलाई ‘पूर्ण’ भन्ने ? साँच्चै नै यसरी हेर्ने हो भने त संसारमा एउटै पनि स्वस्थ मानिस नदेखिन सक्छ ।”
उहाँले स्वास्थ्यलाई यान्त्रिक मापनले निर्धारित गर्ने स्थीर ‘स्थिति’ भनी बुझ्न नहुने कुरामा जोड दिन्दै भन्नुभयो– “स्वास्थ्यलाई मानिसको प्रकृतिसंगको गत्यात्मक सम्बन्धको सन्दर्भमा हेर्नु आवश्यक छ । प्रकृति शाश्वत गतिमा छ । हरेक व्यक्ति पनि निरन्तर परिवर्तन भईरहेको छ । यी दुई गतिशील अस्तित्वबीच अन्तरङ्ग सम्बन्ध छ । यो सम्बन्ध गतिशील नभई स्थीर हुनैसक्दैन । त्यो गत्यात्मक सम्बन्धलाई लयात्मक (हार्मोनियस), उपलब्धिमूलक, आनन्ददायक, सार्थक, जीवनमुखी बनाउन सक्ने क्षमतालाई स्वास्थ्यका रुपमा बुझ्नु बढी तर्कसंगत हुन्छ ।”
अन्तराष्ट्रिय संघसस्था र समाजवादको सम्भाव्यता विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै अर्का वक्ता नेकपाका नेता तथा सांसद डा. दिपक प्रकाश भट्टले नेपालमा विगतमा भएका सबै शासन प्रणाली भ्रष्टाचार र कमिशनतन्त्रीय दलाल पूँजीपतिहरुको पहुँच र सहभागितामा सञ्चालित भएकाले आर्थिक र सामाजिक विकासले सही दिशा लिन नसकेको कुरामा जोड दिनुभयो । डा. भट्टले हिजोका परिवर्तनकारी शक्ति शिक्षक, विद्यार्थी, मजदुर र किसानसहित राष्ट्रिय पूँजीपतिहरुको सहभागितामा उत्पादनको घेरा फराकिलो बनाउनु आजको आवश्यकता हो भन्नुभयो ।
वहस कार्यक्रममा अध्यक्ष प्राध्यापक डा. चैतन्य मिश्रले कार्यक्रमको समापन गर्नुहुँदै भन्नुभयो– ज्ञानको समाजशास्त्रले ज्ञान युग अनुसारको हुने कुरामा जोड दिन्छ । उहाँले भन्नुभयो– “कार्ल माक्र्सको विश्वभन्दा अहिलेको पृथक विश्वमा समाजवादलाई कसरी अथ्र्याउने भन्ने आजको पेचिलो प्रश्न हो । हामीकहाँ राजनीतिक वंशावली मात्र केलाउने चलन छ, को माक्र्सवादी, को लेलिनवादी, को माओवादी आदि । अनि अमूर्त रुपमा “ठोस परिस्थितिको ठोस विश्लेषण भन्ने” तर उहिलेको इतिहास पढाउने चलनलाई रोक्नु पर्छ । सत्तारुढ पार्टीको सिद्धान्त र संविधानबीच तालमेल हुनु जरुरी छ । अहिलेको संविधानले लोकतान्त्रिक समाजवादको कुरा गर्छ । यसको अर्थ नेपालमा हामीले समाजवादको मात्र कुरा गरेर पुग्दैन । लोकतान्त्रिक समाजवादबारे वहस गर्नुपर्छ । कतिपय कुरामा संगति छैन तर आशा लाग्दो कुरा चाँहि के हो भने अहिले केही हदसम्म नयाँ बाटो खुलेको छ । र, नयाँ तोकिइसकेको छैन । अब नयाँ बाटोको एकिन गर्ने वेला आएको छ । अबको बहसले अहिले र भविश्यलाई चिन्न सक्नुपर्छ, इतिहास खोतलेर मात्र पुग्दैन । नेपालमा उठेको जातीय र लैङ्गिक आन्दोलनलाई अबको समाजवादले परिभाषित गर्नुपर्छ । अबको ४०/५० वर्षसम्मको दुरदृष्टिमा पार्टीहरु स्पष्ट हुनुपर्छ । यो आफैंलाई शिक्षित पार्ने वेला हो । हामीले समाजलाई धेरै प्रगतिशील बनाउने समाजवाद ल्याउन सक्छौं । त्यसका लागि पुनर–मनन गरौं । यसो गर्दा विगतका समाजवादका व्याख्यालाई इन्कार गरिरहनु पर्दैन ।”
नेकपाका नेता घनश्याम भुसालले अबको समाजवादको बहस यो वा त्यो को ध्रुवमा नबाडिइ दुवै वा यी सबै भन्ने द्वन्द्वात्मक दृष्टिकोणलाई पूर्ण रुपमा अङ्गिकार गर्ने खालको हुनुपर्ने कुरामा जोड दिनुभयो । समाजवाद बारेको यो बहस कार्यक्रममा करिव एक सयजना वाम बुद्धिजीवीहरुको सहभागिता थियो ।