भक्तपुरको सूर्यविनायक मैले यदाकदा मात्र टेक्ने गरेको ठाउँ हो । यहाँ मसँग परिचित मानिस भेटिने सम्भावना कम हुन्छ ।
नौ वर्ष अघिको कुरा हो । एकदिन दिउँसो सञ्जोगले सूर्यबिनायकबाट धुलिखेलका लागि बस पक्रनु प¥यो। मैले गाडी पर्खिरहेका बेला एउटा ज्यान परेको पत्रिका हकर मेरो छेउमा उभिएको थियो । उसले निधार छोप्ने गरी रातो रङ्गको क्याप लगाएको थियो । हातमा एकबिटो पत्रिका र केही पैसा थियो । दुईवटा भरिएका बसहरू त्यहाँ रोकिएका थिए । तर ऊ बसको नजिक गएर पत्रिका बेचिरहेको थिएन । त्यसै अल्मलिएर उभिइरहेको जस्तो लाग्थ्यो । ऊ घरिघरि मतिर पनि पुलुक्क हेथ्र्यो । पत्रिका किन्ला भन्ने आशाले हेरेको होला भन्ठानेर म वास्ता गर्दिनथेँ । यो साँझ पर्ने बेलामा बिहानको पत्रिका कसले किन्दो हो, म मनमनै भन्दैथिएँ ।
धेरै परसम्म हेर्दा पनि आइरहेको गाडी नदेखेकोले समयको सदुपयोग गर्न म नजिकको पसलमा गलैँचाको दाम सोध्न गएँ । फर्कंदा त्यो हकर त्यहीँ थियो । पर्खेर बसेको पो रहेछ । देख्ने बित्तिकै छेउमा आएर बोल्न थाल्यो, “चिन्नु भो, सर? प्रोफेसर भइसक्नुभो होला हगि ?”
मलाई यो अप्रत्यासित तर चीरपरिचित भावको सामिप्यले थोरै चकित बनायो । एउटा हकरलाई म प्रोफेसर भएको नभएको के मतलब ?
“छैन । तर मैले तपाईँलाई चिनिनँ नि । हाम्रो भेट कहाँ भा’को हो र ?”
“मैले केयुमै पढ्या हुँ त । तपाईँले पढाउनु भा’को हो नि”, उसले विनम्रता प्रकट ग¥यो ।
“तर कहिले नि ! मैले अनुहार ठम्याउनै सकिनँ, भाइ”।
“आज हो र, २०५८ सालमा”
“आई. एस्सी ?”
“हो”
“अरू के गरिन्छ त?”
“यस्तै उस्तै”, उसले मलिन अनुहार लगाएर नाक खुम्च्यायो ।
अरूलाई भए पढाइ कहाँ पुग्यो भनी सोध्थेँ हुँला । यो युवकलाई यसभन्दा बढी सोधखोज गर्न मन लागेन । शायद उसले आई. एस्सी नै पास गर्न सकेको थिएन । मलाई लाग्यो ती टोपीमुनि लुकेका आँखामा कतै केही पीडा पनि पक्कै लुकेको छ ।
नाम मात्र सोधेँ । सन्तोष रहेछ । झट्ट सोचेँ नाम अनुसारको जीवनशैली भनेको यस्तै होला ।
धुलिखेलको बस आइसकेकोले बिदा लिएँ । ऊ पनि बस स्टपबाट पश्चिमतिर लाग्यो । मलाई कताकता अनौठो लागिरह्यो ।
विश्वविद्यालयबाट टाढिएका अधिकांश विद्यार्थीहरू स्वाभावतः सधैँका लागि हामी फ्याकल्टीहरूबाट पनि टाढिन्छन् । अहिले मात्र फेसबूकमा कहिलेकाहीँ एकदुई जना सम्पर्कमा आइरहेका छन् । सुनिन्छ धेरैजसो राम्रा ठाउँमा गतिला काम गरेर बसेका छन् । मलाई लाग्छ यहाँ पढेकाहरू माथि नै पुग्छन् । एकाध यताउता देखापर्नेहरू या त नियतिले ठगेका या जे छ त्यसैमा सन्तुष्टि लिएर बसेकाहरू हुन जस्तो लाग्छ । जे होस् यस्ता अपवादहरू थोरै नै छन् भने हुन्छ ।
केही वर्ष अघिसम्म म एउटा भाइलाई बनेपामा तरकारी र फलफूल बेचिरहेको देख्थेँ। “आ।।। सर, मलाई त यही काम मनर्पयो” भन्थ्यो ।
कहिलेकाहीँ धेरै माथि पुगिसकेकाहरूसँग पनि जम्काभेट हुन्छ काठमाडौँका सडकहरूमा । थोरैले मात्र चिनेझैँ गर्छन् । कसैकसैले बोलाइ पनि हाल्छन् ।
त्यसबेला केही मानिसहरू काठमाडौं विश्वविद्यालय ( केयु) ले शहरकेन्द्रित र विदेशउन्मुख युवाहरूको जमातमात्र उत्पादन गर्ने गरेकाले देशलाई समग्ररूपमा खासै फाइदा भएको छैन भन्ने टिप्पणी गर्ने गर्थे । कोहीचाहिँ यहाँ पढेपछि सरासर सफल र धनी बनिन्छ भन्ने विश्वासले भर्नाका लागि मरिहत्ते गर्थे । तर केयुमै पढेको मानिस दश वर्षपछि सडकमा पत्रिका बेचिरहेको पाइएला भन्ने कल्पना कसले गरेको थियो होला । मैले त गरेको थिइनँ ।
तर यसको अर्थ केयुमै पढेका कारणले कसैले पत्रिका बेच्नुप¥यो भन्ने होइन । पत्रिका बेचेर जीविका चलाउनु नराम्रो भन्ने पनि होइन । पत्रिका बेच्ने मानिस अर्को अझ फलदायी काम पनि गरेर बसेको हुनसक्थ्यो । पढेका मानिस सबै जागिरे र हाकिम बन्नै पर्छ र पढेकाले पत्रिका बेच्नै हुँदैन भन्ने झन होइन । हाम्रो समाजमा शिक्षित मानिसहरूले निर्धारित गर्ने सफलताका मापकहरू बाङ्गा र विवादास्पद छन् । देशमा भने सानोतिनो काम गर्न इज्जत जाने, बिदेश गएर जेसुकै गर्न पछि नपर्ने अधिकांश शिक्षित वा अर्धशिक्षित नेपालीहरूको सफलताको मापक उसबेला पनि पैसा र त्यसले किन्न सक्ने भौतिक सुविधाहरू नै थिए । अहिलेको वास्तविकता पनि लगभग त्यही हो ।
प्रचलित दृष्टिकोणले सन्तोषको जीवनलाई हेर्दा ऊ एउटा हरूवा र पछौटे लाग्थ्यो । मैले छोटो भेटमा उसमा पाएको आत्मविश्वास र जीवनप्रतिको इमान्दारी भने उदाहरणीय थियो । उसको पेशा र अवस्था मेरा लागि अप्रत्यासित थियो भन्ने जानी जानी उसले आफूलाई चिनायो । त्यो उसको सामाजिक परिपक्वता थियो । युवावस्थाको प्रातकालमा केही समय कक्षाकोठामा देखिएको र विस्मरणमा गइसकेको एउटा पुरानो शिक्षकसँग लामो समयपछि भेट्दा देखाउन पाएको हार्दिकता भने उसको लागि पनि अविस्मरणीय भएको हुनुपर्छ ।
सन्तोषले आई. एस्सी. पास गरेको थियो वा थिएन, उसले माथिसम्म पढ्यो पढेन वा सडकमा पत्रिका बेच्न कसरी आइपुग्यो भन्ने कुराको खोजी मैले कहिल्यै गरिनँ । अहिले भए म पक्कै ऊसँग बढी समय लिएर कुरा गर्थेँ होला, किनभने मलाई मानिसहरूका आत्मीय कथाहरू सुन्ने लत बसेको छ र थोरै अलंकार र थोरै अर्थहरू थपेर ती कथाहरूको आयु बढाइदिने ईच्छा बढेर आएको छ ।
सन्तोषलाई भेटेदेखि यतिका वर्ष बितिसक्दा पनि उसको अतीतप्रतिको मेरो खुल्दुली मेटिएको छैन । उसले छुट्टिने बेलामा भनेको कुरा अझसम्म मेरो कानमा गुञ्जिरहेको छ, “मलाई भेट्नुअघि तपाईँले ठान्नु भएको थियो होला हगि, तपाईँका सबै चेलाचेलीले डाक्टर, इन्जिनियर, वैज्ञानिक, व्यवस्थापक वा ब्यांकर बन्ने अवसर पाएका छन् ? तपाईँले अरू सन्तोषहरू पनि भेट्नु भयो भने अचम्म नमाने हुन्छ, सर”।
सन्तोषको यो भनाइमा वास्तविकता छ जस्तो लाग्छ अहिले पनि । हाम्रो देश नै सन्तोषले आई. एस्सी. पढ्दा ताकाको भन्दा फरक भइसक्यो, अनि धेरै फरक र ठूलो भएको छ हाम्रा विश्वविद्यालयहरूबाट बाहिरिनेहरूको जनसंख्या पनि । हिजोआज त यस्ता अरू पनि सन्तोषहरू सडकभरि आइसके होलान । स्वदेशमा नभए विदेशमा । तर कोही कतै भेटिए भने पनि भक्तपुरे सन्तोषलाई भेट्दाजस्तो विस्मय अनुभव चाहिँ मलाई शायद हुनेछैन ।