सपना 

लघुकथा

भेँडासिङ्ग तिर दुइटा कोठा भाडामा लिएर बसेका मचाकाजी मास्टर हरेक दिन बिहान बेलुकीको ट्युसन अनि दिनभरीको जागिरबाट थकित हुन्थे भने उनकी श्रीमती नानीशोभा घाम उदाएदेखि अस्ताउञ्जेलसम्म टुँडिखेल बाहिर नाङ्लोमा सामान बेचेर साँझ झमक्क भएपछि मात्रै आफ्नो डेरामा फर्किन्थी ।

***

“देशमा बेथिति र भ्रस्टाचार धेरै हाबी भयो । नेताहरु पनि झन झन् बढी स्वार्थी हुँदै गए । राजनीतिमा एक व्यक्ति, बहु पद र बहु ब्यक्ति, एक पद जस्ता बिकृतिहरु बग्रेल्ती देखिन थाले । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्र समेत ब्यापारीले कब्जा गरे।”

बेलुकीको खानपिन गरेर सुत्नभन्दा पहिला यो जोडीलाई पनि बजारमा छरपष्ट भएका यस्तै, यस्तै टिप्पणीहरुले दिक्दार बनाएको थियो ।

***

अरु दिन जस्तै मचाकाजी मास्टर आज पनि सबेरै मन्दिर वरिपरीको अवाजसंगै बिउँझिए, घडी हेरे । साँढे तीन बजेको रहेछ । (मनमनै सोचेः पाँच बजेको ट्युसन शुरु हुन डेढ घण्टा बाँकी ।)

***

ए नानीशोभा, म त अलि छिट्टै बिउँझिएछु, यी….. चिया बनाएर ल्याएको छु । उठ, तिमी पनि !

संगै चिया खाउँ….. अनि यस्सो मनमा लागेको कुरो पनि गर्नु छ ।

***

उँ……. हाइइ…..अ ।

***

म त रातभरी राम्रोसंग निदाएको पनि छैन । मनमा के के कुरो खेलिरा’छ ।

सुन त नानीशोभा….. यो भुतले खाजा खाने बेला यस्तो देशमा बस्नभन्दा बरु ….. विदेशतिर ताक्न पर्छ कि क्या हो ?”

***

आ, बुढा पनि ! बिहान बिहानै के घर छाड्ने कुरो गर्नु’भा, भन्या? बरु मलाई एकछिन सुत्न दिनु’भा भए कस्तो मीठो सपना देखिरा’थेँ ।

यतिका वर्ष पछि आज फेरि हाम्रा देशका ठुल्ठुला नेताहरु टुँडिखेलको खुल्लामञ्चमा जम्मा भएर भाषण गर्दै थिए । मंत्री–प्रधानमंत्री लगायत सबै राजनीतिक पार्टीका नेताहरुले “अब अति भयो, कत्ति पनि ढिलो नगरी राष्ट्र निर्माणमा हामी सबै जुटेर लागौँ” भनेर एउटै स्वरमा प्रण गर्दै थिए ।

नानीशोभा आफ्नो कुरो थप्दै गइन्:

हो बुढा, अब हामी सबैले चाहेजस्तो दिन यतैतिर आउला जस्तो छ । शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता क्षेत्रमा सरकार आफैंले निगरानी राख्छ रे । अनि, यो देशको विकाश पनि तीब्र रुपमा हुन्छ रे । नेपालमै नयाँ कलकारखाना फटाफट खुल्छ रे । जनताले चाहेजस्तो रोजगारी देशमै पाइन्छ रे ।

***

भवतु सब्ब कल्याणम् ।
Facebook Comments
Comments (0)
Add Comment