पखेटा

लघुकथा

निमारुखर्क गाउँका मानिसहरु यसो फुर्सद मिल्यो कि मीत’बाको घरतिर लम्कन खुब मनपराउँछन् ।

खास भन्न पर्दा हाम्रा मीत’बा अवकाशप्राप्त ब्रिटिश लाहुरे हुन् । जागिरे छँदै यिनले ठुलै खर्च गरेर आफ्ना चार छोराहरुलाई काठमान्डूमा नाम चलेको ’बोर्डिङ्ग’ स्कूल पनि पढाएका रे । केटाहरुले पनि फटाफट पढाइ सिद्ध्याएर आफ्नो बाटो विदेशतिर तताएको वर्षौं भइसक्यो । पोहोरसम्म त उनीहरु मध्ये कोही न कोही एक महिना जतिको छुट्टी मिलाएर दशैँ तिहारका बेला पालैपालो घर आउँने गर्थे ।

***

कुरो अस्ति भर्खरको हो । डाँडाघरे राधाकृष्ण दिनभरीको उकालो ओरालो पछि मीत’बाको घर पुग्दा घाम अस्ताउँ अस्ताउँ भएको थियो । मीत’बा पिढीको छेउमा बसिरहनु भएको थियो ।

***

नमस्कार, मीत’बा । खोइ, घरमा को को छन् ?

अहो, राधाकृष्ण पो ? को हुनु नि, बाबु ! उ, आमा उता लडिरहेकी छिन् !  यसपाली दशैँमा कान्छोको घर आउने पालो हो, कुन्नि कता हो ’होलिडे’ गएकोले नेपालतिर आउन मिलेन रे ! ’क्यार्नि त नि’ ?  हामी त ‘.. उ त्यही बाटो हेरेको हे¥यै भइयो ।’

***

अहो, आमा त बिरामी जस्तो पो हुनुहुन्छ त !

आ ‘.. बाबु पनि, बुढी माउ थला परेकी तीन वर्ष भैसक्यो, थाहा छैन ?

***

कता पाएर थाहा हुनु नि, बा ! हुन त सबै भाइहरुसंग भाइवर र फेसबुकमा मेरो बेलाबेला कुरा भै’रहन्छ । अनि माइलो र साइलोले बेला बेला फेसबुकमा पोस्ट्याएको तस्बिर पनि हेरिरा’त हुन्छु नि ! तैपनि मितिनी आमा यसरी बिरामी हुनुभा’ कुरोको भेउसम्म मैले पाएको भए, मार्दिनु । के भा’का होलान् त लौ, केटाहरु ? तिनीहरुले यस्ता घरायसी ’गाँठी’ कुरो त मलाइृ भनेकै पो रैनछन् त है, बा ?

आ ‘.. बाबु, कस्लाई, के मात्र दोष दिनु ? मलाई त बरु आफू नै अप्ठेरोमा फलेको फर्सी जस्तो लाग्छ । आफू बालाखा छँदा पनि खुब दुःखले दिन काटियो । बाआमालाई दुःख हुन्छ कि भन्ने सानैदेखि ठूलो चिन्ता हुन्थ्यो । घरको कामले थचक्कै थिच्थ्यो । पढ्ने लेख्ने अवसरबाट पनि बन्चित भैयो । लाहुरे भएपछि त झन् धेरैजसो समय पल्टनमै बित्यो । छुट्टीमा घर त आइन्थ्यो तर यही घर गोठको काम सल्टाउँदा सल्टाउँदै फर्किने बेला हुन्थ्यो । बा आमासंग ढुक्कले एक दिन धित मारेर बस्न नपाउँदै उहाँहरु दुवै बिदा हुनु’भो । अहिले स्थिति ठ्याक्कै उल्टो भा’छ । छोराहरुलाई सुखले हुर्काइयो, राम्रो स्कूल पनि पढाइयो । तैपनि उनीहरुलाई हाम्रो भित्री खुशी बुझाउन सकिएन’छ । कहिले काहिँ आफैलाई देखेर दिक्क पनि लागेर आउँछ, बाबु !

मीत’बा फेरी थप्छन्ः “के गर्नु, खाइनखाइ दुनियाँ ठक्कर भोगेर पनि सन्तानको पखेटा जोड्देको हाम्ले नै हो, क्यारे । त्यसैले, आखिरमा सबैले गर्ने भनेको पश्चाताप मात्रै रहेछ भन्ने जस्तो लाग्छ।“

***

भवतु सब्ब कल्याणम् ।

Facebook Comments
Comments (0)
Add Comment