खलील जिब्रानको ‘महत्वाकांक्षी फूल’

अनुवाद

पोथ्रा जस्तोमा फुलेको एक सानो सुगन्धित निलो फूल थियो । अन्य फूलहरुसंग विनम्रतापूर्वक सह अस्तित्वमा रहेर प्रशान्त चित्तले लहराउँथ्यो ।

एक दिन प्रातः काल थियो । शीतका थोपा उसका पत्रमा सुशोभित भएर विराजमान थिए । उसले आफ्नो शिर ठाडो गर्यो र यता उता हेर्यो । उसले देख्यो कि बगलमा एक सुन्दर गुलावको फूल गर्वले शिर उठाएर बडो शानले खडा छ । यस्तो प्रतित हुन्थ्यो उ मानौं आकाशमा एक हरियो रंगको जल्दोबल्दो हिराको मशाल हो ।

यो देखेर यस सानो फूलले आफ्नो ओंठ फट्फटाउन थाल्यो । उ भन्न थाल्यो, ’यी सबैमध्ये मेरै मात्र फुटेको भाग्य । यिनका छेउमा म त भुसुनो जति पनि भइन । प्रकृतिले मलाई यति हीन र गरिव किन बनाइन ?! मैले पृथ्वी मै लेपासी रहनु पर्दछ । म त आफ्नो शिर निल गगन तर्फ उठाउन पनि सक्दिन । न त म गुलावको जस्तो आफ्नो चेहरा सूर्यतर्फ नै मोड्न सक्छु ।

गुलावको फूलले त्यस सानो फूलको गुनासो सुन्यो । गुलावले हास्दै भन्यो, ’तिम्रो कुरा कस्तो विचित्रको ! तिमी त सौभाग्यशाली छौ । तर तिम्रो कमजोरी भनेको तिमी आफ्नो सौभाग्य महशुस गर्न सक्दैनौ । प्रकृतिले सुगन्ध र सौभाग्य दिएको हुन्छ । यस्तो कमैलाई प्राप्त हुन्छ । तिमीले त्यस्तो क्षुद्र विचार राख्नु हुँदैन । जे प्राप्त छ त्यसमा सन्तोष गर्न सिक । ख्याल राख, जो सानो भएर रहेको छ उ नै माथि उठ्न सक्दछ । जो आफूलाई ठालु भ’को ढोंग गर्दछ या ठूलो भ’को भन्ने घमण्ड गर्दछ त्यो चाडै नै समाप्त हुन्छ ।’

सानो फूलले भन्यो, ’तिमी मलाई यस कारणले सान्त्वना दिइरहेका छौ कि मैले चाहेको जति तिम्रो साथमा सवै चीज छन् । आफू ठूलो छु भनेर तिमी मलाई धमाश दिइरहेका छौ । आह, एउटा भाग्यमानीको नसिहत अर्को अभागीको निम्ति कत्रो कष्टदायक हुन्छ ।’

प्रकृतिले पनि निलो फूल र गुलावको फूलको यावत वार्तालाप सुनिन् । उनी प्रकट भएर भनिन, ’मेरो भाइ सानो फूल, तिमीलाई यो के भा’को ?! तिमी त आफ्नो विचार र कार्यमा सदा नम्र र विनयशील थियौ । के तिम्रो हृदयमा लोभ र लालचले घर गरेको हो ?! त्यसले तिम्रो बुद्धिमा बिर्को लगा’को हो ?!’

तब निलो फूलले गिडगिडाउँदै भन्यो, ’वात्सल्यपूर्ण, करुणामयी माते ! मेरो विनम्र प्रार्थना के छ भने मलाई एकै दिनको निम्ति भए पनि गुलाव बन्ने अवसर दिनुहोस् ।’ प्रकृतिले प्रत्युत्तरमा भनिन, ’ तिमी के मागी रहेका छौ त्यसको भेउ तिमीलाई थाहा छैन । यस अन्धो लालसाको पछिल्तिर छुपेको विपत्तिबारे तिमी अनभिज्ञ छौ । तिमी कथं गुलाव बनिहाल्यौ भने तिमी स्वयम् अफसोस् मान्ने वाला छौ । तिमीलाई पश्चाताप वाहेक केही मिल्ने वाला छैन ।’

निलो फूलले जिद्धि गर्यो, ’मलाई पनि एउटा अग्लो गुलाव बनाई दिनुहोस् । त्यसो भयो भने म पनि सगर्व आफ्नो शिर ठाडो गर्न सक्छु ।’ तब प्रकृतिले आजित भएर भनिन, ’उसो भए, ए अज्ञानी विद्रोही सानो फूल म तिमीलाई वरदान दिने भएँ । तर पछि तिमीले मलाई शिकायत गर्न भने पाउने छैनौ नी !’
प्रकृतिले आफ्नो रहस्यपूर्ण जादुको औंला उठाउदै निलो फूलको जरामा स्पर्श गरिन् । तुरुन्तै उ एक बडो गुलावको फूलमा परिणत भयो । उ बगैंचाका अन्य फूल भन्दा पनि ठूलो भयो ।

मलाई कदापि आँधीदेखि डर लागेन ।हिजोसम्म त म पनि सन्तोषी थिएँ । आफ्नो जीवनदेखि सन्तुष्ट थिएँ । परन्तु त्यो आत्मसन्तोष नै मेरो अस्तित्व र जीवनको प्रगतिको सबभन्दा ठूलो तगारो थियो । त्यसले नै मलाई दुर्बल, अल्छी, मुक र कुपमंडुक बनाको थियो । डरका मारे म पनि पृथ्वीमा लेपासिएर तिमीहरु जस्तै जीवन गुजार्न सक्ने थिएँ । म पनि तिमीहरु जस्तै शीतको प्रतीक्षा गरेर मलाई पनि हिउँले कफनमा बन्द गरेको टुलुटुलु हेर्न र मृत्युको समक्ष आत्म समर्पण गर्न विवस हुन सक्ने थिएँ । तर मैले त्यसो गरिन । म अब प्रसन्न छु । किनभने मैले आफ्नो हीन दुनियाँबाट बाहिर निस्केर विश्वको रहस्यलाई बुझेको छु । यो यस्तो कार्य हो जसको तिमीहरुलाई छेउटुप्पै थाहा छैन ।

अचानक आकाशमा कालो बादल मडारिन थाल्यो । हावाले क्रुद्ध आँधीको रुप लियो । वायुमंडलको शान्ति छताछुल्ल भयो । आँधीले धर्तीमा लेपासिएका स–साना बोट बिरुवा बाहेक अरु सबै बोट बिरुवा उत्तानो टाङ्ग बनायो । हाँगाबिंगा सबै भाँचभुच पार्यो । अग्ला अग्ला फूलहरु कच्याक कुचुक पार्यो । त्यस आँधीले बगैंचा तहस नहस पार्यो ।

बोट बिरुवाको यो हालत देखेर निलो फूल मध्येको एउटाले भन्यो, ’हेर त, आँधीले अभिमानी फूलको क्या दुर्दशा बनाई दियो ।’

अर्को फूलले भन्यो, ’हामी साना छौं र पृथ्वीको समिपमा छौं ’ परन्तु हामी दैवी क्रोधबाट सुरक्षित छौं ।’

तेस्रोले भन्यो, ’आँधीले हामीलाई हायल कायल गर्न सकेन । किन कि हाम्रो कद सानो छ ।’
यहीं बेला निला फÞूलकी रानीले आफ्नो बगलमा तहस नहस भएको उस अग्लो निलो फूललाई देखेर भनिन, ’हेर त साथीसंगी हो ! लालचले त्यस सानो निलो फूलको क्या हालत बनाई दियो ?! उ केवल एक घण्टाको निम्ति अभिमानी ठूलो फूल बन्न सक्यो । यस दृश्यलाई आफ्नो अहोभाग्यको निम्ति सदा स्मरणमा राखी राख्नु !’

यो सब सुनेर त्यो मृतप्राय ठूलो फूलमा होश आयो र आफ्नो बचेखुचेको शक्ति सम्हालेर शान्त भावले प्रतिक्रिया दिन थाल्यो, ‘तिमीहरु सबका सब आत्मसन्तुष्ट र निराहंकारी मुर्ख हौ । मलाई कदापि आँधीदेखि डर लागेन । हिजोसम्म त म पनि सन्तोषी थिएँ । आफ्नो जीवनदेखि सन्तुष्ट थिएँ । परन्तु त्यो आत्मसन्तोष नै मेरो अस्तित्व र जीवनको प्रगतिको सबभन्दा ठूलो तगारो थियो । त्यसले नै मलाई दुर्बल, अल्छी, मुक र कुपमंडुक बनाको थियो । डरका मारे म पनि पृथ्वीमा लेपासिएर तिमीहरु जस्तै जीवन गुजार्न सक्ने थिएँ । म पनि तिमीहरु जस्तै शीतको प्रतीक्षा गरेर मलाई पनि हिउँले कफनमा बन्द गरेको टुलुटुलु हेर्न र मृत्युको समक्ष आत्म समर्पण गर्न विवस हुन सक्ने थिएँ । तर मैले त्यसो गरिन । म अब प्रसन्न छु । किनभने मैले आफ्नो हीन दुनियाँबाट बाहिर निस्केर विश्वको रहस्यलाई बुझेको छु । यो यस्तो कार्य हो जसको तिमीहरुलाई छेउटुप्पै थाहा छैन ।’

’म आफ्नो मनमा आएको लालचको उपेक्षा गर्ने सक्ने थिएँ । परन्तु मैले रात्रिको नीरवातामा लौकिक र परालौकिक तत्वले आपसमा भलाकुसारी गरेको सुनें । ती त कुरा गर्दै थिए कि सत्ताभन्दा परको आकांक्षा नै हाम्रो अस्तित्वको प्रमुख लक्ष हो । त्यै बेला मेरो आत्माले विद्रोह गर्यो । मेरो हृदयमा आफ्नो सीमित सत्ताभन्दा माथिको स्थान प्राप्त गर्ने लालसा उत्पन्न भयो । मैले अनुभव गरँे कि ताराको गीत धर्ति सुन्न सकिँदैन । तब नै मैले आफ्नो हीनताको विरुद्ध धावा बोलें । मैले आफ्नो नभए पनि त्यो गीत सुन्न चाहें । हुँदा हुँदा केसम्म भयो भने मेरो विद्रोही भावना एक शक्तिमा परिणत भयो, मेरो लालसाले मेरो आकांक्षाको रुप लियो । प्रकृति त हाम्रा गम्भीर स्वप्नको प्रधान विषय हुन् र तिनले हाम्रा ईच्छा पूर्ति गरी दिन्छिन् । मेरो प्रार्थना तिनले सुनिन् र नै आफ्ना जादुका औंलाले मेरा जरा स्पर्श गरेर मलाई एक ठूलो फूलमा परिणत गराइ दिइन् ।’

यति भनेर त्यो ठूलो फूल एक छिन चुप रह्यो । अनि भने फेरि अभिमान र सफलता मिश्रित झिनो स्वरमा बोल्न थाल्यो, ’म, भलै थोरै समयको निम्ति किन नहोस्, एक भव्य शानदार फूलको रुपमा जिएको छु । थोरै समय नै सही, मेरो सत्ता सम्राट सरह कै रह्यो । मैले विश्वलाई गुलावको दृष्टिले हेरें । मैले नभ मण्डलको कानेखुसी गुलावको कानमा सुनेको छु । मैले प्रकाशका खातलाई गुलावका पत्तामा राखेर सुनेको छु । के कसैले यस्तो सम्मान प्राप्त गर्न सकेको छ ?!’

यति भनेर उसले आफ्नो शिर झुकायो । अन्तिम सास लिदै गर्दाको जस्तो घिटघिटो स्वरमा लरबराउँदै भन्यो, ’अब म चैनले मर्न सक्छु । किनभने मैले आफ्नो उद्देश्य पुरा गरेको छु । मैले आफ्नो ज्ञानलाई आफ्नो जनम जनमको संकीर्णताबाट बाहिर निस्केर विराट विश्वमा प्रस्तुत गरेको छु । जीवन अस्तित्वको यही हो रहस्य ।’ अति भनेर गुलाव काम्न थाल्यो । उसका पत्ता संकुचन हुन् थाले र उसले ओठमा स्वर्गीय मुस्कान हाल्दै जीवनको अन्तिम सास फेर्यो ।

Facebook Comments
Comments (0)
Add Comment