बदलिँदो परिवेश

लघुकथा

अक्सर शहरतिरै व्यस्त रहने सिरान्घरे साने आफ्नो संस्कार र संस्कृतीप्रति सचेत रहन्थ्यो । डेरामै बसे पनि हरेक वर्ष तिथी श्राद्ध राम्ररी चलाउँथ्यो, चेली बेटी बोलाउँथ्यो, भोजन गराउँथ्यो । दशैँ मनाउन पनि सँधै आफ्नो गाउँको घर जाने गथ्र्यो । हो, नेपालमा छँदा उसले आफ्नो परम्परा जोगाउन एउटा कुरो पनि नबिराउने क्रम कायम राख्यो । अरु त अरु — उसलाई हरेक कुराको ठिक ठिक तरिका पुग्नै पर्ने, जेसुकै काम थाल्दा घडी र पला समेत ठिक्क हुन पर्ने ।

साने चार वर्ष पहिले मलेशिया गएदेखि यसपाली पहिलो चोटी दुई महिनाको छुट्टी लिएर नेपाल आयो । आफ्नो भर्खर बनेको घर किन फोहर गर्नु भनेर पशुपतीतिर गएर आफ्ना स्वर्गीय पिताजीको महालय तिथी छोप्ने विचार गर्यो । मन्दिर नजिकै ग्राहकको खोजीमा भौँतारिइहिँडेका एकजना पुरोहितलाई समात्यो । तिनै पुरोहितले सुझाएअनुसार श्राद्ध विधिमा पनि परिवर्तन गर्ने सोच राख्यो – सम्पूर्ण पित्री कार्य आधा घन्टामै सिध्याउने सहमती गर्यो । केही रकम लिएर भोजन गराइदिने ठेकदार भेटेपछि त उसका पाहुनाहरु पनि फरक पर्ने नै भए । यसो त्यतै वरिपरी भेटिने ५/७ जना ’दुखी’ जो कहलिएका थिए, तिनैलाई भोजन गराइदिएकोमा साने सन्तुस्ट भयो । उसकी श्रीमती गौंथलीले भने फोटो खिच्न सघाइन् । फोटाहरु सोसल मिडियामा भाइरल हुन थाले । साने लाइक गन्दैमा अनि कमेन्ट पढ्दैमा मख्ख देखिन्थ्यो ।

केही दिन पछि गौंथली र सानी छोरी उर्मिलालाई साथमा लिएर साने धेरै वर्षपछिको दशैँ आफ्नी आमासंगै मनाउन आफ्नो गाउँको घरतिर गयो । साने, गौंथली लगायत सानी छोरी उर्मिला, सबैको हात हातमा मोबाइल, अनि हिंडडुल र बोलीचालीमा समेत केही शहरी स्टाइल थियो । धेरै वर्षको अन्तरालमा गाउँ आएकोले पनि होला– जब-जब गाउँका मान्छेहरु केहि कुरो बोल्न खोज्थे, सोध्न खोज्थे, सहयोग माँगु मागूँ गर्थे, यिनीहरु भने पहिला पहिलाभन्दा अलि कम घुलमिल हुन खोज्ने, मोबाइल चलाउने, फोटो खिच्ने र आआफैंमा केही बढी ब्यस्त देखिनमा तल्लिन हुन्थे । जसरी समय परिवर्तन भएको थियो, उनीहरुको रहनसहनमा समेत केही परिवर्तन आएको कुरो गाउँका सबैले सहजै बुझ्न सक्थे ।

जब खाना खाने बेला हुन्थ्यो, गौंथली हरेक दिन फोटो खिच्न आतुर देखिन्थिइन् ।

***

सँधै झैं आज पनि खाना खाने बेला हुन्छ, सानेलाई त्यही रहर लाग्छ, उ यसो गौथलीलाई हेर्छ, अनि उसैबेला बोल्छः

“ए आमा ! एकछिन पर्खननुस् त । खाना बरु खाँदै गरुम्ला । पहिले दुइ चारवटा फोटो खिच्नुप’रो । ल, अलि राम्रो लुगा फेरेर आउनुस् ।”

“हो भन्या, म पनि कतिखेर एउटा राम्रो फोटो खिचम्ला र फेसबुकमा पोस्ट्याम्ला भनेर कुरीइ’बसेकी !” गौंथलीले आफ्नो मनको कुरो थपी ।

***

(यति सुनेपछि आमाको धेरै दिनदेखि गुम्सिएको बोली फुट्छ):

“यस्सो पाँच/सात वर्ष शहर बस्दैमा किन यस्तो भा’को तिमोरू? आफ्नो घरको कुरो अरुलाई देखाएर के फाइदा? फोटो खिचेर, हल्ला गरेर मात्र हाम्रो इज्जत बढ्दैन, बाबु ! बुहारीले पनि अस्ति तिम्रो बाको तिथीमा पश्पतीतिर कुन्नि को–कोल्लाइ बोलाएर ‘भोज ख्वाएको’ भनेर मुबाइलमा हल्ला गरेको कुरा तेरी ठुल्कान्छी दिदीले थाहा पाएकि’रहिछ । अनि उल्लाई नबोला’को भनेर दुखेसो गर्दै’थिइ । आजकल त घरको कुरो पनि काँकाँ तिरबाट फुत्किन्छ, मैले त कुनै भेउ पाए मार्दिनू !

बरु, हेर त मैले कति मायाले भात तरकारी पकाएको छु ! अनि, तेरी ठुल्कान्छी दिदीलाई पनि बोलाएकी छु । आज परिवारका सबै जना संगै बसेर गफ गर्दैगर्दै तात्तातो खाना मिठोसंग खाउँ न ! अनि, भोलि मामा घर टिका लाउँन जाँदा राम्रो लुगा पनि लगाम्ला, फोटो पनि खिचाम्ला नि, हुन्न?”

***

भवतु सब्ब कल्याणम् ।

Facebook Comments
Comments (0)
Add Comment