‘वास्तवमा पुरानो शासन (सामन्ति– अनुवादक) प्रणालीमा आधुनिक ढङ्गका थुप्रै संस्था थिए । समानता प्रति त्यस्तो वैरभावी नहुँदा नहुँदै पनि नयाँ परिवन्दमा ढाल्नको निम्ति भने ती संवेदनशील थिए । त्यसो भएर नै तिनले स्वेच्छाचारिताको निम्ति उर्वर भुमि उपलब्ध गराएका थिए । पुरानो शासन प्रणालीको भग्नावशेष भित्रै स्वेच्छाचारिताको हित साँध्न तिनको खोजी गरियो । विगतमा तिनले त्यस्ता आनीबानी, मनोभाव र विचार उत्सर्जन गरेका थिए जस्ले मानिस मानिस बीच विभाजन गरेर आफूप्रति वफादार हुन सजिलो बनाउँथ्यो, ती सबैको पुनर्थापना गरियो र कृयाशील बनाइयो । पुरानोबाट केन्द्रीयकरण सापट लिइयो र नयाँमा प्रत्यारोपण गरियो । जब यो काम फत्ते गरियो पूर्ववर्ति शासनको बेलामा भएका शक्ति नियन्त्रणका यावत बन्देजहरु पुनरजीवित होइन, चकनाचुर बनाइयो । तब भने अलिक अघि राजतन्त्र उखेलेको राष्ट्रको छातिमा यस्तो सत्ताको प्रादुर्भाव भयो जो हामीले भोगेका कुनै पनि राजतन्त्रले उपयोग गरेकोभन्दा अझ विराट, विस्तृत र निरंकुश थियो । जे जस्तो हर्कत भयो त्यो पत्याउनै गाह्रो हुने खालको जोडजबरजस्त र अभुतपूर्व सफल थियो । यो किन पनि यस्तो भयो भने मानिसहरु आफ्नो आँखाको अघिल्तिरको मात्रै देख्थे र अतितलाई चटक्कै बिर्सि दिन्थे । तानाशाह त ढल्यो तर त्यसका कुकर्मको एउटा ठूलो हिस्सा भने ज्युँको त्युँ रह्यो । उसको प्रशासनिक प्रणालीले शासन भने जस्ताको तस्तै राख्यो । तबदेखि नै जहाँ जहाँ निरंकुश शासन उखेल्ने कोशिस भए त्यहाँ त्यहाँ गुलामी शरीरमा स्वतन्त्रताकी देवीको शिर प्रत्यारोपण गर्ने काम मात्रै भयो ।’ – (अलेक्सिस द टकभिल, पुरानो शासन प्रणाली र क्रान्ति ।)
१७८९ को फ्रान्सेली क्रान्ति नवोदित पूँजीपति वर्गले सामन्तवाद र सामन्तवादी शासन प्रणालीको विरुद्धमा गरेको आजसम्मको सबैभन्दा जबरजस्त, निर्मम, संझौताहिन र निर्णायक क्रान्ति थियो । क्रान्ति आफैंमा एक दशक जारी रह्यो । यसले अभुतपूर्व र आमुल सामाजिक तथा राजनीतिक परिवर्तन ल्यायो । राजातन्त्रको समुल नष्ट र्गयो र मुलुकमा धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्रको स्थापन गर्यो । यस क्रान्तिले पहिलो पटक मानव इतिहासमा स्वतन्त्रता, समानता र भातृत्वको नारा वुलन्द गर्यो ।
फ्रान्समा सामन्तवादको अन्त्य र पुँजीवादको प्रारम्भको सिलसिलाबारेमा एङ्गेल्सले एउटा रोचक झाँकी प्रस्तुत गरेका छन्– ‘जब फ्रान्सको क्रान्तिमा उ बेलाका दार्शनिकहरुले भन्ने गरेजस्तो विवेकपूर्ण राज्य र सद्भावपूर्ण (harmonious) समाज फलिभूत भयो, त्यसबेला नयाँ संस्थाहरु पुरानो व्यवस्थाको तुलनामा जतिसुकै विवेकपूर्ण भएपनि पूर्णतः विवेकपूर्ण चाहिँ हुन सकेनन् । विवेकको राज्य पूर्णतः नष्ट भयो । रुसोको सामाजिक सम्झौतामा निर्मित भनिएको राज्य अन्ततः आतङ्कको राज्यमा परिणत भयो र आफ्नो राजनीतिक योग्यतामा विश्वास गर्न छोडी सकेको पूँजीपति वर्गले यस आतङ्कबाट बच्न भ्रष्टाचारमा सहारा खोज्यो र अन्ततोगत्वा नेपोलियनको एकतन्त्रीय शासनको सहारा लिन पुग्यो ।
पुँजीवादी आधारमा उद्योग धन्दाको विकासले श्रमजीवी जनताको दरिद्रता र दुर्गतिलाई समाजको अस्तित्वको कडी बनाईदियो । एकपछि अर्को वर्ष अपराधको संख्या बढ्दै गयो । पहिले सामन्ती व्यभिचारको नाङ्गोनाच देखिन्थ्यो भने अब त्यसको ठाउँमा पूँजीवादी व्यभिचार खुल्लमखुल्ला बढ्न थाल्यो । व्यापारमा जालझेल झन्झन बढ्न थाल्यो । वन्धुत्वको क्रान्तिकारी नारा प्रतिस्पर्धाको लडाईमा हुने छलकपट र घाँटी कोराकोरमा देखिन थाल्यो । सत्ता प्रयोगद्वारा गरिने दमनको ठाउँ भ्रष्टाचारले लियो । अब सामाजिक सत्ताको मूल हतियार तरबारको साटो पैसा बन्यो । सुहागरातको अधिकार सामन्ती मालिकहरुको हातबाट फुत्केर पूँजीवादी कारखाना मालिकहरुको हातमा पुग्यो र वेश्यावृत्ति अभुतपूर्व रुपमा बढ्यो ।
अपेक्षित शास्वत शान्ति आक्रामक युद्धहरुको अनन्त श्रृङ्खलामा परिणत भयो । सद्भावनायुक्त समाजको अवस्था पनि यस्तै रह्यो । सम्पूर्ण जनताको समृद्धि प्राप्त गर्नुपर्नेमा धनी र गरिवहरुका बीचको प्रतिपक्षता उग्र बन्न पुग्यो । सामन्ती बन्धनबाट वस्तुतः प्राप्त भईसकेको सम्पतिको स्वतन्त्रता ससाना उद्योगपति र किसानहरुका लागि ठुल्ठुला पुँजीपति र जमिन्दारहरुसँगको प्रतिस्पर्धामा थिचिएकाको आफ्नो अल्प–सम्पति ठुल्ठुला स्वामीहरुलाई बेच्ने स्वतन्त्रता मात्रै ठहरियो । यसप्रकारले ससाना पूँजीपति र किसानको हकमा भने सम्पतिको स्वतन्त्रता भनेको सम्पतिबाट बन्चित हुने स्वतन्त्रता बन्नपुग्यो ।
पुँजीवादी आधारमा उद्योग धन्दाको विकासले श्रमजीवी जनताको दरिद्रता र दुर्गतिलाई समाजको अस्तित्वको कडी बनाईदियो । एकपछि अर्को वर्ष अपराधको संख्या बढ्दै गयो । पहिले सामन्ती व्यभिचारको नाङ्गोनाच देखिन्थ्यो भने अब त्यसको ठाउँमा पूँजीवादी व्यभिचार खुल्लमखुल्ला बढ्न थाल्यो । व्यापारमा जालझेल झन्झन बढ्न थाल्यो । वन्धुत्वको क्रान्तिकारी नारा प्रतिस्पर्धाको लडाईमा हुने छलकपट र घाँटी कोराकोरमा देखिन थाल्यो । सत्ता प्रयोगद्वारा गरिने दमनको ठाउँ भ्रष्टाचारले लियो । अब सामाजिक सत्ताको मूल हतियार तरबारको साटो पैसा बन्यो । सुहागरातको अधिकार सामन्ती मालिकहरुको हातबाट फुत्केर पूँजीवादी कारखाना मालिकहरुको हातमा पुग्यो र वेश्यावृत्ति अभुतपूर्व रुपमा बढ्यो ।
फ्रान्सेली क्रान्तिले आफ्ना मूल्यमा स्थिर हुन ठूलो उतारचढावका साथ झन्डै सय वर्ष समय लगायो । क्रान्तिले पहिलो दशक पार गर्दा नगर्दै (सन् १८०० मा) सैनिक तानाशाह नेपोलियनलाई भित्र्यायो । १८१५ मा पुरानै राजतन्त्रको पुनरस्थापना गर्यो । सन् १८३१ मा अर्को वंशको राजतन्त्र स्थापना गर्यो । सन् १८४८ को क्रान्तिले पुन राजतन्त्रको अन्त्य गर्यो र आम निर्वाचन मार्फत राष्ट्रपति निर्वाचित गर्यो । त्यही राष्ट्रपतिले चार वर्षपछि आफैंलाई सम्राट घोषणा गर्यो । सन् १८७० को फान्स प्रुसियन लडाईमा सम्राट लुई बोनापार्ट समातिए र निर्वासनमा पठाइए । तब भने त्यस शासन प्रणालीको पनि अन्त्य भयो । अर्को वर्ष नै त्यहाँ पेरिस कम्युनको नाममा पहिलो समाजवादी क्रान्तिको शुभारम्भ भयो । यो पनि अल्प जीविको रह्यो, जम्माजम्मी ७२ दिन मात्रै टिक्न सक्यो । यतिबेर सम्ममा फ्रान्सेली क्रान्तिले युरोपमा यत्रतत्र लपेटी सकेको थियो । यस क्रान्तिको लप्का सन् १९११ मा चीन र सन् १९१७ को फेव्रुअरीमा रुससम्म पुग्यो । भनिन्छ, फ्रान्सेली क्रान्ति सामन्तवाद विरुद्धको पूँजिपति वर्गको क्रान्ति थियो, त्यस क्रान्तिमा निम्छरो सर्वहारा वर्ग पूँजिपति वर्गको दुमछल्ला थियो । सन् १९१७ को रुसी अक्टुवर क्रान्ति पछि भने क्रान्तिले करवट बदल्यो र फ्रान्सेली क्रान्तिको प्रति धारा विकास गर्यो । यसप्रति धारामा भने उदियमान सर्वहारा वर्ग स्वयं पूँजीवादको विरुद्धमा विद्रोहमा उत्रियो । पछि गएर फ्रन्सेली क्रान्तिले स्वयं रुस र पूर्वी युरोपमा पुनः आफ्नो वर्चश्व स्थापित गर्न सफल भयो । चीन, भियतनाम, क्युवा र उत्तर कोरियामा पेरिस कम्युन र अक्टोवर क्रान्तिका आदर्श अझै टिकेका छन् । दुनियाँ पूँजीवादको चर्तिकलाबाट आजित भाएको छ । भनिदै छ– पूँजीवाद आफ्नो अवसादको लामो चक्रमा प्रवेश गरी सकेको छ ।