लामो समयदेखि शहरमा बसे पनि माझघरे कान्छा जन्मेको र हुर्केको भने गाउँमै हो । उनी सानै हुँदा उनको परिवार शहरतिर बसाइँ सरेको रे । कडा परिश्रमको फलस्वरूप उनले आफ्नो शैक्षिक उन्नति पनि गर्न भ्याएछन् । लामो समयसम्म विद्यार्थीहरुलाई पढाएर धेरैको चिन्ता पनि भगाएछन् ।
****
तर, बिडम्बना ! अहिले आफ्नै बेथा सुन्ने मान्छे भने भएनन् । होउन् पनि कसरी ? उमेरमा उनले किताब कापी, काम र आफ्नै परिवारभन्दा नजिक कोही देखेनन् । त्यसैले होला– समाज, इष्टमित्र कसैलाई उनको खासै वास्ता छैन । वर्षैपिच्छे आउने नयाँ विद्यार्थीलाई त झन् उनको मतलब हुन पर्ने कारण पनि हुँदैन । त्यस्तै कैयौँ भीडमा फगत उनी अर्को घन्टे मास्टर । घरका बाआमाको अर्तीले वाक्क भएका आधुनिक युवा युवतीहरुलाई उनको दर्शनवादी कुराको खासै चासो हुँदोरहेनछ । हुर्केका छोरा छोरीको नजरमा पनि उनी पुलिस जस्तो । अरु त अरु उनको उपस्थिती उनकै श्रीमती पार्वतीलाई समेत झर्को भएको छ । मास्टर घर बसुन्जेल ढोका खुल्छ । यसो उनी लाखापाखा लागेपछि सँधै भोटेताल्चाले घर कुर्छ । कोही पाहुना आए भने पनि उनको घरको पिँढीमै बसेर फर्किने हो, पानीसम्म खाने ब्यवस्था पनि छैन । त्यसैले आजकल अलि निराश छन् ।
(यो कुरो जति सम्झ्यो मास्टर’साप् को मन उति विक्षिप्त हुन्छ । अनि यसो फुर्सद मिलाएर उनी मीत बालाई भेट्न गाउँतिर जान्छन् ।)
****
“ढोग गरेँ मीत बा ।”
“ओहो माझघरे कान्छा पो ! भाग्यमानी भएस्, बाबु । कहिले हिँडेको घरबाट ? अलि सजिलोसंग बस ।”
****
“आजै हो, बा । सबेरै एउटा पेट्रोल बोक्ने ट्याङ्करको ’क्याबिन’मा बसेर आएको । छिट्टै झार्दियो मलेखुमा । अनि फट्टाफट हिँडेरै उज्यालैमा आइपुगेँ ।”
“तिमी त सानैदेखि साह्रै असल मान्छे हो, कान्छा, मनकारी पनि । अनि के छ नयाँ खबर उता तिरको ? भुराभुरी पनि संगै ल्यायौ त ?”
****
“अहँ, आएनन् । के मान्थे आजकलका केटाकेटी ? म भएन भने झन् घरमा कराउने मान्छे कोही हुँदैन। मनलागेको गर्न पाइन्छ । त्यस्तो मौका छोडेर मेरो पछि किन लाग्थे ?”
“अनि बुहारीलाई त लिएर आ’भए यसो भेटघाट हुन्थ्यो नि, बाबु ।”
****
“आककक, चितूनमा जन्मेको मान्छे, के पाएर हिँड्नु नि यत्रो उकालो ओरालो ? झन् उनको कुरो त अर्कै छ, बा । माइततिरका सबै विदेशतिर छन् । अनि उनलाई पनि ‘कुनी कसले हो’ खर्च हालेर इजराएलतिर पठाइदिन लाग्या’छ रे ।”
सँधै झैँ यसपाली पनि माझघरे कान्छाको कुरो मीतबाले ध्यान दिएर सुन्छन् र भन्छन् :
“चिन्ता नगर, बाबु । सबै ठिक हुन्छ । तिम्रो यो उज्यालो मुहार देखेपछि मलाई जहिले पनि तिम्रो बाले शहर झरौँ भन्दा आफूलाई बसाइँ जान आँट नआएको सम्झना आउँछ ।”
****
“खोइ, बा, के ठिक, के बेठीक ? आफूले जानेसम्म सबैको भलो चिताएरै बस्या’हो । आबश्यक पर्दा सक्दो सहयोग पनि गरिराख्या’छु । यो शहरको जिन्दगी त असाध्यै स्वार्थी, जस् भने पटक्कै नपाइने । जिन्दगीमा देखाएर मायाँ गर्न नजानेर हो कि, के हो ?”
“हेर बाबु, चोर डरायो भनेर पुलिसले कहिल्यै चिन्ता गर्छ ? हो, तिमी जस्तो सज्जनले यसरी हरेश खान हुँदैन । हुन त हामी शहर बजार नदेखेको ढिँदो रोटीमा रमाउने मान्छे । तैपनि मेरो विचारमा मुख्य कुरो भनेको कसैलाई एक मुठा फूलको गुच्छा उपहार दिएर क्षणिक मख्ख पार्दिने कि जो–कोहीको करेसाबारीमा भएको बिरुवालाई मलजल गोडमेल गर्न प्रेरणा दिएर दीर्घकालीन रुपमा सक्षम बनाउने भन्ने हो । जुन तिमीलाई मैले सिकाउनै पर्दैन ।”
****
आहा, मेरो मनको कुरो गर्नु’भो, मीत’बा । उतिबेला हाम्रा बा’ले बसाइँ सरेर ठीक गर्नु भएनछ । बरु मीठो मसिनो जे होस् त्यसैमा रमाउँछु, अब म शहर जान्न ।
* भवतु सब्ब मङ्गलम्*