मान्छेको मन

लघुकथा

कुरो मेरो विदेश बसाइको अनुभव हो । केही हप्ता जति पहिले मेरा दुई छिमेकीहरु पअला र मार्थाका बीच दह्रो भनाभन परेको सुनिन्थ्यो ।
***
आज भने पअला र स्टीभका बुढा बुढी एकाबिहानै चिटिक्क परेर निस्किदै थिए, घरबाट ।

पअला प्वाक्क बोलिनः डार्लिंङ्ग, अनि बूके चाहिँ कता किन्ने नि ?

(तीन दिन भएको रहेछ, यिनै जोडीका आँगन जोडिएकी छिमेकी मार्थाले संसार छाडेकी । अहो, दैबको लीला जता पनि उस्तै । छिमेकीसंग झगडा गरेको महिना नबित्दै एउटीको मानो चट् ! के नेपाल के विदेश । मार्थाले कम्तिमा पनि यसरी छिट्टै गइन्छ भन्ने चाल पाएकी भए कम से कम आफ्नो चर्काइ त अलि कम गर्थींन् होला नि, है ?)
***
तैपनि लोकाचार बुझेरै होला–– अन्तिम बिदाइ गर्न भने खुब हस्याङ्ग फस्याङ्गमा देखिन्थिन् पअला पनि, आज । फ्युनरल भन्दारछ’न् यतातिर यस्तो परिवेशलाई–– सबैजना सुटेडबुटेड भएर श्याम वर्णको पोशाकमा सज्जेर जान पर्ने ।
***
डेलिभरी भीइकल टुप्लुक्क आइपुग्यो ।
(स्टीभले फोनबाटै अर्डर ठोकेका रहेछन, फूलको गुच्छा ।)

यति सजिलै आइपुग्ने फूलको गुच्छा, मार्था जिउँदै छँदा दिनपा’को भए ! अझै, यिनै छिमेकीको हातबाट !
(हो, मैले यस्तै यस्तै सोचेँ ।)

***
यसरी, यति छोटो समयमा यत्रो परिवर्तन !
अनि, मान्छेको मन !

Facebook Comments
Comments (0)
Add Comment