अन्तिम रहर अन्तिम प्रेम

उ बेलाको कुरा हो, म अल्लारे नै थिएँ– जुँगाका रेखी भर्खरै आउन थालेका । मेरा एक जना चीरपरिचित मान्यवर थिए उतै तिरका । म नातिको उमेर भन्दा पनि सानो, उनी चार विस नाघेका, हाम्रो ठूलो मित्रता थियो । म “ठुटे नेता त थिएँ नै जो उनलाई राम्रो ज्ञान थियो । उनी ठूलै नेता, मन्त्री भई सकेका नेपाली मुलका । ठूलो जायजेथा थियो, यता पनि उता पनि, विद्वान पनि, जीवनको उत्तरार्धतिर नेपाल तिरै बस्थे । म सोध्थेँ, ’यता राम्रो कि उता ?’ उनी दिल खोलेर भन्थे, ’मैले जीवनमा मनग्गे गरेको छु, पुगिसरी छ, अधुरो केही छ त अब खाली आर्य घाटमा आफ्नो चिता जलाउने अन्तिम रहर छ ।’

मेरो र उनको जिजीविषामा आनको तान फरक थियो । मेरो चिन्ता जीवनको खुड्किलो चड्नुमा छ उनी अन्तिम खुड्किलोबाट ओर्लैदै छन् । मृत्युमा पनि माटोप्रतिको सम्मोहन त्यो हदसम्म मेरो भेजोमा घुस्दैनथ्यो । समसामयिक नेपाल बारे कुनै खबर पढ्नु परे मैलाई बोलाउथेँ, मानौं मै नै खबर कागज हुँ । घन्टौं बित्थे, फर्किने बेलामा मात्रै म झसंग हुन्थेँ– ’भौतिक शास्त्रका सूत्र र रसायन शास्त्रमा रसायनको बनावट घोक्ने समय गयो ।’’ किताबका पाना पल्टाउदा पनि म सोच्न पुग्थेँ, ’होइन, तिनलाई आर्यघाटमै चिता जलाउने केको अधुरो ईच्छा ?!’

८२/८३ वर्षका हुँदा हुन् उनी । महिनौ दिनसम्म बीर हस्पिटलमा बसेर उपचार गरे, म भेट्न पुगेँ । मलाई देख्नासाथै उनका आँखा रसिला भए र ती भन्दै थिए, ’मैले तिमीलाई भनेको होइन, आर्य घाट अब त्यति टाढा छैन ।’ एकैछिन त मेरा रोम रोमबाट रौँहरु थरथरी काम्न थाले ।

बीर हस्पिटलबाट फर्केको सात दिन पनि भएको थिएन, उनकी श्रीमती परमधाम गईन । उनको अन्तिम साथीसंगी उनै थिईन । अरु साथीसंगी कता छुटे छुटे । छोरा छोरीको आफ्नै लहन तहन । खबर कागज पनि उनै, प्रेम, सम्पति, राजनीति सबथोक । अब उनी सब लुटीईसकेका थिए । ओछ्यानमा लमतन्न सुतेको छ । न घाम झुल्केको देख्नु छ न त चन्द्रमा हाँसेकै, तारा गन्न पनि पाईदैन ।

अनायास बुढाको वाक्य फुट्यो, ’ए बुहारी यहाँ आऊ !’
’किन बुबा ?’
’आमा’लाई यहाँ पठाई देऊ !’
’पसल जानु भ’को छ, आए पछि पठाई दिन्छु ।’

धेरै समय बित्यो । उनलाई झ्वाँक चल्यो, ’बुहारीले ’आमा’लाई पठाई दिईन ।’ बुढाले घन्टी बजाए, ’ए बुहारी यहाँ आऊ !’
’किन बुबा ?’
’खोई ’आमा’ पठाको ?’
’अझै फर्किनु भ’को छैन, आउनासाथै पठाई दिन्छु ’’

उनले ’आमा’लाई पर्खि रहे ।

Facebook Comments
Comments (0)
Add Comment