म अलि रिसाहा छु । झडङ्ग रिस उठ्छ । नचिनेकै मान्छे किन नहोस् अमर्यादित, असान्दर्भिक, असहिष्णु, असंवैधानिक तरिकाले प्रस्तुत हुनेलाई कन्चटमा ताकेर मुक्का हान्नु मुन लाग्छ । यही रिसको कारण काठमाण्डु जाने कार्यक्रम नै क्यान्सिल गरें । मेरी झुम्री त भन्दै थिई – जाउ बुढा एकपटक काठमाण्डु । सबै जिउ चेक गराएर आउ । बरु भेडी गोठमा म एक्लै बसौंला भनेर । सालो केटो उस्तै छ, जुडो कराँटेको बेलेक बेलट गरेको छु भन्छ । मान्छे पनि डर लाग्दो छ । उ पनि मसंगै काठमाडौं जाने भाथ्यो । तर ग्यान बहादुर शाहीले गर्दा क्यान्सिल गरें ।
क्यान्सिल नगरौं पनि किन जुन मेरो तातो रिस छ प्लेन भित्र पसेपछि पोखियो भने को जवाफदेही हुने ? नेपालगञ्जबाट भुरुरु उडेर एकैछिनमा काठमाण्डु पुगिन्छ भन्थे । तर, कर्मले दिएन । पहिलो पटक प्लेन चढ्ने र काठमाण्डु हेर्ने रहर पनि चिलिमच्वाँट भयो । माकुरे र खोल्सी घरे कान्छाले पनि तिम्रो तातो रिस छ, प्लेनमा चढेपछि कसैले– किन ढिला आइस् भन्यो भने तिमी रिस थाम्न सक्तैनौं । तिम्रो सालो छ उस्तै त प्लेननै उचालेर फ्याँक्ला जस्तो । त्यसले ग्यानबहादुर मात्र होइन ५÷७ जना ज्यान बहादुरलाई पनि ठिक गर्छ । नजाउ काका काठमाण्डु बरु कार्यक्रम नै क्यान्सिल गर । नत्र लफडामा परौला भने । आफ्नो इष्ट मित्र उनारु नै हो । भेनेको माने ।
मेरी झुम्रीलाई भने मेरो चिन्ता छ । मलाई भने प्लेनको चिन्ता भयो । धेरै बेर सोचेर नै क्यान्सिल गरेको हो । किन कि म योगेश भट्टराई होइन । उपल्लो डोल्पाको भेडी गोठमा बसेर हुर्किएको म र ताप्लेजुङको साँघुमा हुर्किएको मन्त्रीमा आनकोतान फरक छ । मसँग संयमित हुने थोरै लक्षण पनि छैन । प्लेन भित्र पसेर बसी सकेपछि कुन कानूलने के भन्छ भन्ने कुरा वरिष्ठ उकिल बालकृष्णलाई त थाहा छैन भने मलाई के थाहा । उनकै छेउमा म बसें भने गति के होला ? हैट ! सम्झिदा पनि रिसले रातो पिरो हुन्छु गाँठे !
संविधान, कानून, नियम, परम्परा, आदरार्थी शब्द, संस्कृति उता ताप्लेजुङतिरका स्कूलमा पढाइ हुनन । हाम्रा यहाँ ज्ञानबहादुर, बालकृष्णलाई जस्तै पढाउने स्कूल छन् । म पनि त्यही स्कूलमा प्राक्टिकल विषय लिएर पढेको । “थ्यौरिकल” पढ्ने ताप्लेजुङे र प्राक्टिकल गर्ने यतातिरका भनेर बुझ्दा हुन्छ । कसैले म माथि अपशब्द प्रयोग ग¥यो भने म हातमा जाँड जमाएर बस्न सक्दिन । छपनीले छानेर ठोक्न जान्दछु । त्यही कारण मेरो काठमाण्डु जाने कार्यक्रम रद्द भयो ।
होइन ज्ञानबहादुर दिनै पिच्छे जस्तो प्लेनमा ओहोर दोहोर गरिरहन्छ । उनारुसंगै परियो भने प्लेन कोल्टे पर्ने मात्र होइन उनार्को र मेरो फाइट प¥यो भने मेरो सालो धुरा पसेर उठापटक गर्न थाल्छ । अनि प्लेन त उत्ताने । आफूतिर औंला ठड्याएर अर्काले बोल्यो भने त मेरो टुप्पीबाट धुँवा पुतपुताउँछ, अनि त्यस्तोमा म आवेशमा आएपछि बालकृष्ण, ज्ञानबहादुर मात्र होइन डलरेहर्को एक तर्कोसंग भिड्न तम्सिन्छु । ‘सरी’ अर्थात् क्षमा चाहन्छु भन्ने शब्द पनि मसंग छैन । इट्टाको जवाफ ढुङ्गाले भनेर हाम्रो धोर्जी सरले पढाएको अहिले पनि बिर्सेको छैन । उता संखुवासभाको मादीमा दाहाल सरले प्राक्टिकल पढाउँदै पढाएनछन् । नत्र योगश पनि मन्त्रीको विल्लासिल्ला फालेर अदुवा जस्तो परक्क बटारिन्थे ।
हाम्रो स्कुलमा जाँड धोकेर, भारु बोकेर, बनावटी खोकेर, व्यक्ति तोकेर, झगडा गर्ने, क्लास नै सञ्चालन गरेको थियो । नेपालगञ्जमा त्यही स्कूलमा पढेका मेरै क्लासमेटहर्ले प्राक्टिकल गरेछन् । यसको उद्देश्य भने बेग्लै छ । गणतन्त्र फाल्ने राजा ल्याउने । यो हुन नसक्ने कुरो हो भन्ने थाहा छ ।
तर, हाम्रो गुरु धोर्जीले जुनसुकै विधी प्रयोग गरेर भए पनि, जुनसुकै संघ–संस्थाले दिएको भए पनि भारु र डलर चिरिप–झ्याप बनाउन नछोड्नु भन्ने अर्ति दिनु भएको छ । यसलाई अहिले मेरो क्लासमेटहर्ले प्रयोग गर्दै छ । उता पूर्वको “थ्यौरिकल” शिक्षाले हाम्रो प्राक्टिकलसंग के सक्थ्यो ! बोली सुन्नु भएन मेरो क्लासमेटहर्को आमामामा………….! त्यस्तो शब्दहरु विशिष्ठ ठाउँमा मात्र, त्यो पनि सम्मान गर्नु पर्ने व्यक्ति माथि मात्र प्रयोग गर्ने विधी पनि हाम्लाई कण्ठस्त छ । जसले घोकाएको भए पनि ज्ञान बहादुर र बालकृष्णलाई राम्रो घोकाएको छ । यिनै कुराहरु मैले पनि काठमाण्डु जाने क्रममा प्रयोग गरे भने गति के होला भनेर नै मैले निर्णय फिर्ता लिएको हो । किन कि म संयम हुन सक्तिन । किन भने म योगश भट्टराई चैं हुँदै होइन ।